नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आठौँ महाधिवेशनदेखि नै केपी शर्मा ओलीनिकट छन्। आठौँ महाधिवेशनमा ओलीकै प्यानलबाट सचिव जितेका उनले नवौँमा उपमहासचिव र दसौँमा उपाध्यक्ष पनि जिते।
पौडेलले सधैँ संकटका बेला ओलीलाई साथ दिँदै आएका छन्। तर, ओलीका विश्वासपात्र महासचिव शंकर पोखरेलसँग पौडेलको कडा प्रतिस्पर्धा हुने गरेको छ।
प्रदेश होस वा जिल्लाको अधिवेशनमा पौडेलले पोखरेलविरुद्ध छुट्टै समूह तयार पारिहाल्थे। त्यही कारण पौडेलले आफ्नो छुट्टै पहिचान बनाएर संगठनमा पकड राख्दै आएका छन्।
२७–२९ मंसिरमा काठमाडौँमा हुने एमालेको एघारौँ महाधिवेशनमा अध्यक्ष पदमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टक्कर दिँदैछन्। यो महाधिवेशनमा पौडेलले कसलाई साथ देलान् भन्ने चासोको विषय बनेको छ।
दुई पटक अध्यक्ष भइसकेकोले सुविधाजनक अवस्थामा रहेका ओलीलाई एउटै समूहमा लामो समय काम गरेका पोखरेलले चुनौती दिने कुरा चानचुने नभएको एमाले नेताहरू बताउँछन्।
त्यसमाथि, आफ्नो नवीकरण भइसकेको सदस्यता रोक्ने ओली निर्णयपछि क्रुद्ध बनेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई साथ दिँदैछन्। मंसिर ४ गते बसेको सचिवालय बैठकमा ओलीकै सामुन्ने पोखरेलले अध्यक्ष उठ्न लागेको जानकारी गराइसकेका छन्।
केही दिनमै महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गरेर सन्देश जारी गर्दैछन्। विद्या–ईश्वर समूह खडा गरेर महाधिवेशन प्रतिनिधिसम्म पुग्ने उनीहरूको तयारी छ।
सचिवालय सदस्यमध्ये बहुमत आफ्नो पक्षमा रहेको दाबी गर्ने यो समूहले तेस्रो पटक अध्यक्ष बन्ने ओलीको योजना सफल हुन नदिने दाबी गर्दै आएको छ।
उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई र गोकर्ण विष्ट यही समूहमा छन्।
सचिवालयका अन्य केही सदस्य पनि आफ्नो पक्षमा खुल्नसक्नेमा यो समूह आशावादी छ। त्यसैमध्येमा पर्छन् उपाध्यक्ष विष्णु पौडेल।
देशभर सांगठनिक सञ्जाल भएकाले पौडेल निर्णायक हुनसक्ने यो समूहको बुझाइ छ।
‘हिजो के थियो भने प्रदेश, जिल्लाका अधिवेशनमा विष्णु पौडेल पक्ष बन्थ्यो। संस्थापन इतर भनेर उहाँले आफ्नो पहिचान बनाउनुभएको थियो,’ पौडेलनिकट एक पोलिटब्युरो सदस्यले नेपालखबरसँग भने, ‘थुप्रै जिल्लामा कि केपी ओली गुट कि विष्णु पौडेल गुट जस्तो थियो। संस्थापनबाट पीडित भएका मान्छे विष्णु पौडेलकहाँ पुग्ने गर्थे। उहाँको पक्षमा देशैभरका कार्यकर्ताको सञ्जाल निर्माण भयो। परिस्थितिले नै उहाँलाई नेता बनाइराखेको थियो।’
सोही कारण महाधिवेशनका लागि देशभरबाट चुनिएर आउने २१ सय बढी प्रतिनिधि कुनै न कुनै रुपमा पौडेलसँग जोडिनसक्ने यही समूहका नेताहरू बताउँछन्।
‘विष्णु पौडेलको हल्ला गर्ने स्वभाव छैन, उहाँ काम गरिरहनुहुन्छ, नेताहरूलाई बिच्काउने बानी पनि छैन,’ पोखरेल समूहमा खुलेका एक सचिवालय सदस्यले नेपालखबरसँग भने, ‘अन्तिममा हामीलाई नै साथ दिनुहुन्छ।’
तर, दसौँ महाधिवेशनमा भीम रावलले चुनौती दिँदा पौडेलले ओलीलाई साथ दिएका थिए। सोही कारण उपाध्यक्ष निर्वाचित भएकाले यसपटक पनि उनले ओलीलाई नछोड्ने उपाध्यक्ष गुरु बराल बताउँछन्।
अध्यक्ष ओलीलाई पौडेलले निरन्तर साथ दिएको उनको भनाइ छ।
‘उहाँ निरन्तर अध्यक्ष कमरेडसँगै हुनुहुन्छ, यसपटक पनि यतैबाट महाधिवेशन लड्नुहुन्छ,’ बरालले भने।
उनका अनुसार पौडेल उपाध्यक्षमै दोहोरिने छन्। तर, पौडेलले भने यसबारे अहिलेसम्म मुख खोलिसकेका छैनन्।
१५ पदाधिकारीका उम्मेदवार छान्दै विद्या–ईश्वर समूह
ओलीविरुद्ध महाधिवेशनमा प्यानलै उठाउने निचोडमा पुगेको विद्या–ईश्वर समूहले १५ पदाधिकारीको विषयमा पनि छलफल थालेको छ। यद्यपि, केन्द्रीय समितिसम्म उठाउने कि नउठाउने भन्ने निर्णय भइनसकेको एक नेताले बताए।
‘सबै समानान्तर बनाउने कि केहीकेही मात्र बनाउने, हामी फाइनलमा पुगेका छैनौँ,’ ती नेताले भने, ‘अध्यक्ष ओलीले के कसरी स्टेप चाल्नुहुन्छ, त्यो हेरेर हामी प्यानल घोषणा गर्छौँ, हामीभित्र कुनै समस्या छैन।’
पौडेल लगायतका केही नेता खुलिनसकेकोले विद्या–ईश्वर समूह कम्तीमा मंसिर १५ गतेसम्म पर्खिने योजनामा छ।
‘हामीतिर खुलेकै पनि कतिले अन्तिमसम्म साथ दिनुहुन्छ, प्रस्ट छैन,’ अर्का नेताले भने, ‘कोही बीचबीचमा हुनुहुन्छ, केही साथी दुईतिर लागिपर्नुभएको छ।’
अध्यक्ष ओलीले १५ जना पदाधिकारी कसलाई बनाउँछन् र बाँकी नेतालाई कसरी व्यवस्थापन गर्छन् भन्ने अहिलेसम्म प्रस्ट छैन।
ओलीलाई गुरु बराल, रामबहादुर थापा, शंकर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्मा अर्यालले ढुक्कैसँग साथ दिएका छन्।
त्यसमाथि विष्णु पौडेल पनि यतै हुँदा यी सबै नेताको व्यवस्थापन गर्नुपर्छ। महाधिवेशन लागिसकेकोले नेताहरूले प्रतिनिधि चयनमा विशेष ध्यान दिएका छन्।
पौडेलले अहिलेसम्म आफ्नो दाबी कुन पदमा हो नभनेको र पहिला जस्तै प्रतिनिधि चयनमा विशेष चासो नराखेको उनीनिकट अर्का नेता बताउँछन्।
देशभरका नेताहरूले पौडेलले लिने लाइनबारे चासो लिए पनि उनले केही नभनेको ती नेताले बताए।
‘उहाँले देशभरिबाट आफ्ना मान्छे ल्याउने प्रयास नै गर्नुभएको छैन। अरु नेता जसरी लाग्या छन्, यसपटक विष्णु पौडेल लाग्नुभएको देखिँदैन,’ ती नेताले भने, ‘महाधिवेशनमा पकड जमाउन उहाँ प्रतिनिधिसम्म पुग्नुपर्थ्यो। त्यसो गर्नुभएन। जिल्लाजिल्लामा परिचालन गरेको पनि देखिएन। राम्रो माहोल बनेको बेलामा उहाँ न्युट्रल जस्तो भइदिनुभयो। हिजो विष्णु पौडेल भनेर लागेका कार्यकर्ता आज तितरवितर नै छन्। उपाध्यक्षमै म सेट भइहाल्छु भन्ने उहाँमा देखिन्छ।’
एमालेको यसपटकको महाधिवेशनमा तीव्र प्रतिस्पर्धा हुने भएकाले पौडेलले चाहे उनी निर्णायक बन्न सक्ने ती नेता दाबी गर्छन्।
‘यो पटक सर्वसम्मत हुँदैन। प्रतिस्पर्धा हुन्छ। पदाधिकारीमा त हुने नै भयो, केन्द्रीय सदस्यमै पनि ठूलो प्रतिस्पर्धा हुनेवाला छ,’ उनले भने।
जेनजी आन्दोलनपछि सरकारबाट विस्थापित भएपछि पौडेल अध्यक्ष ओलीसँग सन्तुष्ट चाहिँ छैनन्। बाहिर असन्तुष्टि नपोखे पनि भित्र उनी ओलीका कारण धेरै कुरा बिग्रिएको भन्दै अब ओलीकै नेतृत्वमा चुनावमा जान कठिन हुने निष्कर्षमा पुगेका छन्।
‘तर पार्टी ओलीकै कब्जामा रहेकाले अहिले नै ओलीलाई अध्यक्षमा हराउन सकिन्छ भन्ने आत्मविश्वास पौडेलमा छैन, त्यसैले ओलीकै टिममा एड्जस्ट हुने तयारीमा छन्’, पौडेल निकट एक नेता भन्छन्।
Shares

प्रतिक्रिया