राजनीति


एमाले महाधिवेशनमा विद्या–ईश्वर समूहले प्यानलै उठाउने

‘ईश्वर पोखरेलको उम्मेदवारी भनेको विद्या भण्डारीको उम्मेदवारी हो, विद्याकै अगुवाइमा ओलीसँग प्रतिस्पर्धा हुन्छ’
एमाले महाधिवेशनमा विद्या–ईश्वर समूहले प्यानलै उठाउने

सागर न्यौपाने
मंसिर २, २०८२ मंगलबार ७:५७, काठमाडौँ

नेकपा एमालेको एघारौँ महाधिवेशनमा हुने नेतृत्व चयनमा केपी शर्मा ओलीलाई टक्कर दिन विद्या भण्डारी–ईश्वर पोखरेल पक्षले प्यानलै उठाउने तयारी गरेको छ। यो समूहले पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउँदै छ।

अध्यक्षको उम्मेदवार पोखरेल भए पनि यो प्रतिस्पर्धा ओली र पूर्वराष्ट्रपति भण्डारीबीच हुने एमालेका नेताहरुले बताएका छन्। नवीकरण भइसकेको आफ्नो सदस्यता रोकिदिएपछि भण्डारी ओलीसँग असन्तुष्ट छिन्। 

ओली भने तेस्रो पटक अध्यक्ष बन्न महाधिवेशनमा अरुलाई बोल्नै नदिने योजनामा छन्। उनले महाधिवेशनमा सोझै नेतृत्व चयन हुने बताएका छन्। तर, ओलीलाई रोक्न भण्डारीले आफू पछाडि बसेर वरिष्ठ उपाध्यक्ष पोखरेललाई अगाडि सारेकी हुन्। 

‘ईश्वर पोखरेलको उम्मेदवारी भनेको विद्या भण्डारीको उम्मेदवारी हो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘यो प्रतिस्पर्धा उहाँकै अगुवाइ र पहलमा हुन्छ।’

मदन भण्डारीले अघि सारेको विचार र कार्यक्रमलाई ओलीले छोड्दै गएको भन्दै भण्डारी एमालेमा सदस्यता नवीकरण गरेर राजनीतिमा फर्किन खोजेकी थिइन्। तर, ओलीले गत साउनमा दोस्रो वर्ष नवीकरण भइसकेको भण्डारीको सदस्यता रोक्ने निर्णय गराए। यही कारण भण्डारी बिच्किइन्।

‘अब एमालेमा हुन लागेको यो प्रतिस्पर्धा केपी र विद्याको हो,’ ती पदाधिकारीले थपे, ‘मदनमाथि केपीले जे अपमान गर्न खोज्नुभयो, त्यसमाथि विद्याले प्रतिरोध गर्नुभएको हो, यो त्यसै रोकिँदैन। मदनका फोटा हटाएर ओलीले आफ्नो फोटो राख्न थाल्नुभयो, एमाले मदनको विचारमा होइन, ओलीको विचारमा चलाउन खोज्दा भएको समस्या हो।’

काठमाडौँको भृकुटीमण्डपमा मंसिर २७–२९ सम्म तय भएको महाधिवेशनबाट अप्रत्याशित नतिजा ल्याउने आशमा भण्डारी–पोखरेल पक्ष छ।

तर, एमालेमा जति भण्डारीको बर्चस्व देखिन्छ, त्यति पोखरेलको छैन। धेरै नेताले पोखरेललाई मन पराउँदैनन्। केही नेताले पोखरेललाई अगाडि सार्दा आफूहरूलाई खुल्न गाह्रो हुने बताएका छन्। तर, केही गर्दा पनि भण्डारीको सदस्यता नखुलेपछि पोखरेललाई अगाडि बढाएको उनले प्रष्टीकरण दिएको अर्का सचिवालय सदस्य बताउँछन्।

‘हामी उहाँकै निर्देशनमा लागेका हौँ,’ उनले भने, ‘अब विद्या–ईश्वर समूह भनेर प्रतिनिधिसम्म पुग्छौँ।’ 

ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा लड्ने निश्चित भए पनि महाधिवेशनलाई उनले कसरी अगाडि बढाउँछन् भन्ने स्पष्ट छैन। कतिपय नेताहरु ओलीले उम्मेदवारी मनोनयन गर्नै नदिने योजना बनाएको हुनसक्ने आशंका गर्छन्। 

केही दिनअघि मात्र ओलीले आफू बोलेर महाधिवेशन समापन गर्ने बताएका थिए।

ओलीको सो अभिव्यक्तिपछि विद्या–ईश्वर पक्ष तातेको ती नेताले बताए। ओलीलाई कुनै हालतमा सर्वसम्मत अध्यक्ष बन्न नदिने उनीहरूको भनाइ छ।

‘ओलीलाई फेरि अध्यक्षमा नलड्न भन्दा मान्नुभएन भने यताबाट सशक्त र बलियो टिम बन्छ,’ अर्का पदाधिकारीले भने, ‘राजनीतिक नेतृत्व भण्डारीले गर्नुहुन्छ, महाधिवेशनमा अरु उठ्नुहुन्छ।’

अहिले सचिवालयमा रहेका नेताहरूसँग यसबारे निरन्तर छलफल भइरहेको उनले बताए। सचिव योगेश भट्टराई ११ औँ महाधिवेशनमा आफ्नो हक दाबी भनेर ओली उठेमा त्यो ठूलो भूल हुने बताउँछन्।

‘पार्टीको नेतृत्व हस्तान्तरण सहितको रुपान्तरण र पार्टीको एकतासँगसँगै जानुपर्छ। हिजो के एजेन्डा दिन पाउनु भएन र अब उहाँलाई अध्यक्ष बनाउने? देशै बनाउने बागडोर उहाँलाई सुम्पिएको हो। अब फेरि उहाँ पार्टी अध्यक्ष बनेर त्यो भन्दा बढ्ता के गर्नुहुन्छ?’ एक अन्तर्वार्तामा भट्टराईले भनेका छन्, ‘पार्टी अध्यक्षले सहज हस्तान्तरण गर्नुस्, जसलाई पनि नेता मानिन्छ। पार्टी अध्यक्षले हस्तान्तरण गर्नुहुन्न, प्रतिस्पर्धा गर्नुहुन्छ, उहाँसँग प्रतिस्पर्धा गर्न जो उभिन्छ, उसलाई म सहयोग गर्छु। ईश्वर पोखरेल हो भने म उहाँलाई सहयोग गर्छु। पार्टी सदस्यता खुला गरिदिनुस् पूर्वराष्ट्रपतिको, उहाँ प्रतिस्पर्धा गर्नुहुन्छ, उहाँलाई सहयोग गर्छु। अध्यक्षले स्वाभाविक रुपमा विद्या भण्डारी अध्यक्ष हुने वातावरण बनाइदिनुस्, हामी सबै उहाँलाई नेता मान्छौँ।’

ओलीमा अतिवादी दृष्टिकोण रहेको र त्यसले मुलुक चल्न नसकेको भट्टराईको भनाइ थियो। 

‘उहाँबाट चलेन र त २३ र २४ गतेको घटना भयो, जब अतिवादले मुलुक चल्दैन, अतिवादले पार्टी पनि चल्दैन, आजको दिनमा एमालेका पार्टी सदस्यहरूले एउटा उदार पार्टी नेतृत्व खोजिरहेको छ,’ भट्टराईले भने, ‘जसले ६ लाख ६७ हजार पार्टी सदस्यलाई आफ्नो भाइबैनी, दाजुभाइ, कार्यकर्ता, कमरेड र साथीजस्तो ठानोस्। हामी त्यस्तो पार्टी नेतृत्व हुनुपर्छ भनिरहेका छौँ।’ 

विद्या–ईश्वर समूहले महाधिवेशनमा आफ्नो प्यानलै उठाउने भएको छ।   

‘उम्मेदवार केही दिनमा घोषणा हुन्छ, टिम बनाउने विषयमा छलफल भइरहेको छ,’ ती पदाधिकारीले थपे।

नेताहरूका अनुसार महाधिवेशन प्रतिनिधिलाई सोही अनुसार विवेक प्रयोग गर्न आग्रह गरेर सन्देश पठाइनेछ।

उपाध्यक्ष युवराज ज्ञवालीले देशभरबाट चुनिएर आएका २१ सय बढी प्रतिनिधिबाट नेतृत्व चयन गरिने भएकोले सामान्य नहुने बताए।

‘नेतृत्व प्रतिस्पर्धाबाट टुंगिन्छ,’ उनले भने, ‘तर, यसलाई सामान्य रुपमा लिएमा झन् ठूलो अर्काे संकट देखा पर्छ।’

महाधिवेशनमा नीति र विधिमाथि समेत छलफल हुनुपर्ने र भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि भोग्नुपरेको अवस्थाको समीक्षा गर्नुपर्ने ज्ञवालीको भनाइ छ।

एमालेमा अहिले सचिवालयमा १८ जना छन्। जसमध्ये युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट पोखरेलको पक्षमा उभिइसकेका छन्। 

उपाध्यक्षहरू विष्णु पौडेल, रामबहादुर थापा, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र छविलाल विश्वकर्माले कता उभिने निर्णय गरिसकेका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad