प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेकी छिन्।
शनिबार दिउँसो बालुवाटारमा ४ देखि ५ बजेसम्म चलेको छलफलका क्रममा आगामी निर्वचनबारे हालसम्म सरकार र राजनीतिक दलकातर्फबाट भएका तयारी र आउँदा दिनमा गर्नुपर्ने कामका विषयमा खुलेर कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बताए।
प्रधानमन्त्री कार्कीले चुनावमा राजनीतिक दलको स्पष्ट प्रतिबद्धता आउनुपर्ने बताएकी थिइन्। त्यस क्रममा महामन्त्रीद्वयले नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध रहेको बताएका थिए।
‘औपचारिक निर्णय गर्न बाँकी भए तापनि नेपाली कांग्रेस निर्वाचनमा जान प्रतिबद्ध छ,’ उनीहरूको भनाइ उल्लेख गर्दै प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘अब चाँडै निर्णय पनि गर्छौँ।’
उनीहरुले नेकपा एमालेलाई पनि मनाउन प्रयास गर्ने बताएका थिए। ‘नेकपा एमाले पनि राष्ट्रलाई निकास दिनका लागि निर्वाचनबाट भाग्न सक्दैन भन्ने नै लाग्छ। एमालेलाई मनाउन सरकारले पनि थप प्रयास गरोस्। हामी पनि प्रयास गर्छौँ,’ थापा र शर्माले भनेका थिए।
त्यस्तै आफ्नो पार्टीले जेनजी युवालगायत अन्य दलहरुसँग पनि तुरुन्तै गहन संवाद गर्ने उनीहरुले बताएका थिए।
प्रधानमन्त्री कार्कीले एमाले नेतालाई पनि छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ। आज एमालेको बैठक भएका कारण अर्को दिन भेट्ने एमाले नेतृत्वले बालुवाटारलाई जानकारी गराएको बताइएको छ।
प्रधानमन्त्री कार्कीले यसअघि पनि विभिन्न चरणमा फरकफरक दलका नेताहरुसँग छलफल गरेकी थिइन्।
प्रधानमन्त्रीकै आह्वानमा सरकार, राजनीतिक दल र जेनजी युवाबीच त्रिपक्षीय संवाद पनि भएको थियो।
Shares

प्रतिक्रिया