तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा सरकारले गोली चलाउन आदेश दिएको थिएन तथा युवाहरू मारिएको प्रहरीको गोलीबाट होइन भनेर गरेको दाबीलाई नेकपा एमालेका नेताहरूले जोडतोडका साथ उठाइरहेका छन्।
आफ्ना अध्यक्षसमेत रहेका ओलीले भनेको त्यो कुरा अत्यन्त गम्भीर विषय भएकाले वर्तमान सरकारले यसको तत्काल छानबिन गर्नुपर्ने एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।
रिजालले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘तत्कालीन प्रधानमन्त्रीले नै ‘गोली चलाउने सरकारको आदेश थिएन, युवाहरू मारिएको गोली प्रहरीले चलाएको होइन’ भन्नु अत्यन्त गम्भीर विषय हो। वर्तमान सरकारले हत्या, आगजनी र लुटपाटको छानबिन गर्न मन्त्रिपरिषद्को पहिलो बैठकबाटै निर्णय गर्नुपर्नेमा किन हो, अलमल गरेको छ। सत्यतथ्य छानबिन होस्, दोषीमाथि हदैसम्मको सजाय होस्। युवाको रगत, सार्वजनिक तथा निजी सम्पत्तिको अपूर्व नाश र देशको प्रतिष्ठाको लिलामीलाई सत्ता प्राप्तिको भर्याङ नबनाइयोस्।’

यसैगरी एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि भदौ २३ गते सरकारले प्रहरीलाई गोली चलाउन आदेश नदिएको तत्कालीन प्रधानमन्त्री ओलीकै दाबी दोहोर्याएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भदौ २३ गते प्रहरीलाई तीन आदेश थियो : हतियार जोगाउनू, बर्दी जोगाउनू र ज्यान जोगाउनू/गोली नचलाउनू।’

जेनजी आन्दोलन थेग्न नसकेपछि सरकारको दमनबाट १९ युवा मारिएको भोलिपल्ट भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर असोज ३ गते पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका थिए।
नेपाली सेनाको ब्यारेकबाट ९ दिनपछि असोज २ गते बाहिरिएका ओलीले शुक्रबार फेसबुकमार्फत जेनजी आन्दोलन सम्बन्धमा दिएको पहिलो लिखित वक्तव्यमा भनेका छन्, ‘त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’
Shares

प्रतिक्रिया