जेनजी आन्दोलन थेग्न नसकेपछि सरकारको दमनबाट १९ युवा मारिएको भोलिपल्ट भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान दिवसको अवसर पारेर आज असोज ३ गते पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिए।
नेपाली सेनाको ब्यारेकबाट ९ दिनपछि असोज २ गते बाहिरिएका ओलीले भोलिपल्ट फेसबुकमार्फत जेनजी आन्दोलन सम्बन्धमा पहिलो लिखित वक्तव्य दिएका हुन्।
धेरैलाई लागेको थियो– तत्कालीन सरकार नेतृत्वकर्ताका हिसाबले ओलीले केही न केही गल्ती महसुस गर्नेछन्, प्रायश्चित गर्नेछन्।
तर ३८९ शब्दको वक्तव्यमा उनले कहीँ कतै थोरै मात्र पनि आफूबाट केही कमजोरी भयो होला भन्ने महसुससम्म गरेका छैनन्। बरु आफूले एकदमै ठिक काम गरिरहेका बेला ‘षड्यन्त्र’ रचेर र ‘काल्पनिक भाष्य’ खडा गरेर जेनजी आन्दोलन गराइएको जिकिर गरेका छन्।
आफ्नो वक्तव्यमा उनी भन्छन्, ‘...यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भिडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ।’
यति मात्र होइन, निवर्तमान प्रधानमन्त्री ओलीले आन्दोलनकारीलाई गोली हान्ने प्रहरी नभई अरू नै भएको बडो रहस्यमय दाबीसमेत गरेका छन्।
उनले भनेका छन्, ‘त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ।’
हेर्नुहोस्, ओलीको पूरा वक्तव्य–
दिदीबहिनी तथा दाजुभाइहरू!
आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैँले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन। लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन।
यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ। नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो। तसर्थ नेपालको संविधान नेपाली जनताले आफैँले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो।
संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरू बनाइरहेका थियौँ। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौँ। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौँ। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौँ। अर्थतन्त्र तंग्रँदै थियो।
गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो- आह्वानकर्ताले भनेझैँ। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरूको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्दछ। त्यस घटनाप्रति म फेरि दु:ख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रद्धाञ्जली एवं घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दछु।
हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ- नेपालको नक्सा जलाइएको छ, देशको निसानी मेटाउन खोजिएको छ।
जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।
यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैँ बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैँ महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भिडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैँ बुझ्ने छ।
तर, यो कुरा समय छँदै बुझ्नुपर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ।
हाम्रा युवाहरूले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नुभएको छ। देशको सिमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थभन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरू पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन्झन् गाढा सम्झना गराउने छ।
हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ- सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय संकटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।
मेरो सबैमा अपिल छ-
संविधान जोगाऔँ, सार्वभौमसत्ताको रक्षा गरौँ।

स्मरण रहोस्, अहिले वक्तव्य सार्वजनिक गर्न निवर्तमान प्रधानमन्त्री ओलीले अपनाएको माध्यम फेसबुकलगायत सामाजिक सञ्जाल बन्द पनि जेनजी आन्दोलन चर्किनुको प्रमुख कारण थियो भन्दा अत्युक्ति नहोला।
त्यसो त तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नै यो कुरा स्वीकार गरेका छन्।
भदौ २६ गते जारी भिडिओ सन्देशमा थापाले भनेका छन्, ‘पहिला त म भाद्र २३ गते जुन १९ जना युथहरूको हत्या भयो। म त्यसको लागि म प्रत्यक्ष रूपमा इन्भल्भ छैन, तर पनि म माफी माग्छु। त्यो अपराध थियो। यो भनिरहँदै गर्दा मलाई चिच्याउन मन लाग्छ। किनकि जुन दिन सोसल मिडिया ब्यान्ड गर्ने निर्णय गरियो, म त्यो दिन दौडेर मेरो सभापतिकहाँ गएको थिएँ। र, त्यो दिन बिहान भनेको थिएँ-युथहरू हामीसँग एकदमै नराम्ररी रिसाएको छ, जेन्युन कारण छ, यति धेरै आगो बलेको छ, आगोमा घाउ थप्ने काम नगर्नुस्, गर्दै नगर्नुस्। बैठकमा बोलेँ भएन, बाहिर आएर लेखेँ, प्रेसमा दिएँ। हामी सबै मिलेर दबाब सिर्जना गर्यौँ भएन। सायद त्यो मात्रै रोक्न सकेको भए यस्तो ठूलो घटना घट्दैन थियो होला। अहिले सोच्दै गर्दा जसरी पनि रोक्न सक्नुपर्थ्यो भन्ने लाग्छ। त्यो नगर, नगर भनियो, आखिर भयो।’
तर तत्कालीन कार्यकारी प्रमुख ओलीले आफ्नो वक्तव्यमा यत्ति पनि महसुस गरेका छैनन्।
सञ्चार मन्त्रालयमा सूचीकृत हुन नआएको भन्दै ओली सरकारले भदौ १९ गते फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो। यसको ४ दिनपछि अर्थात् भदौ २३ गते भ्रष्टाचार र बेथितिविरुद्ध भन्दै जेनजी (२८ वर्षमुनिको पुस्ता) ले काठमाडौँसहित देशका प्रमुख सहरमा प्रदर्शन गरेको थियो। तर कसैले सोचेका थिएनन्- आन्दोलन त्यति ठूलो होला। यसमा निश्चित रूपमा सामाजिक सञ्जाल बन्द गर्दा युवामा उत्पन्न आक्रोश पनि मिसिएको थियो।
त्यसमाथि सरकारले हिंसात्मक दमनको नीति अपनाउँदै गोली हानेर १९ युवाको हत्या गर्यो। यसपछि आफ्नै पार्टी कांग्रेसका नेताहरूको दबाबमा रमेश लेखकले त्यही दिन गृहमन्त्री पदबाट राजीनामा दिए तर ओली टसको मस भएनन्।
आफ्ना कलिला साथी र सन्तान मारिएपछि मर्माहत भएकाहरूले भोलिपल्ट अर्थात् भदौ २४ गते जेनजी आन्दोलन अझ चर्काए। उनीहरू बिहानैदेखि तोडफोड र आगजनीमा उत्रिए। तर पनि सरकारले दमन गर्न छाडेन। आन्दोलनकारी मारिने र घाइते हुने क्रम जारी रह्यो।
आक्रोशित आन्दोलनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबार मात्र आगो लगाएनन्, नेताहरूका घरसमेत जलाए।
यस क्रममा उनीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई घरभित्रै पसेर कुटपिट गरे। यसपछि मात्र बल्ल राजीनामा दिँदै ओली ज्यान जोगाउन सेनाको हेलिकप्टर चढेर शिवपुरी पुगेका थिए।
भदौ २४ देखि सेनाको सुरक्षामा रहेका ओली ९ दिनपछि हिजो असोज २ (बिहीबार) मात्र भक्तपुरस्थित डेरा (घर त आन्दोलनकारीले जलाइदिए) मा फर्किएका हुन्।
जेनजी आन्दोलनका कारण ओलीको अहंकारसँगै सत्ता ढलेपछि मुलुकमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ भने नयाँ सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् (प्रतिनिधि सभा) विघटन गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिसकेका छन्।
जेनजी आन्दोलनमा परी हालसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते अझै अस्पतालमा छन्। सार्वजनिक तथा निजी सम्पत्तिको क्षति त भनिसाध्य छैन।
तर पनि ओलीको वक्तव्य हेर्दा लाग्छ- उनको अहंकार उस्तै छ।
Shares

प्रतिक्रिया