नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६४१ नम्बरमा रहेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम सदस्यता सूचीबाट हटाइएको स्वीकार गरेका छन्।
पत्रकार जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले त्यो नम्बर भण्डारी राष्ट्रपति हुनुअगाडिकै नम्बर रहेकाले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयपछि हटाइएको बताएका हुन्।
‘...किनकि उहाँ पार्टीको पुरानो नेता कार्यकर्ता भएको नाताले तपाईंले भनेजस्तै उहाँको नम्बर हुन सक्दछ, तर म कन्फर्म छैन’, एमाले महासचिव पोखरेलले भनेका छन्, ‘यद्यपि उहाँ पार्टीको नेतृत्वमा रहँदाखेरिको नम्बर हो त्यो। त्यो नम्बरबाट उहाँले राजीनामा दिएर राष्ट्रपतिमा जानुभाथ्यो र त्यल्लाई नवीकरण गर्न खोज्नुभाथ्यो तर नवीकरण नगर्ने पार्टीले निर्णय गर्यो।’
त्यसपछि सदस्यता सूचीबाट भण्डारीको नाम हटाइएको उनले बताएका छन्।
यस क्रममा एमाले महासचिव पोखरेलले राष्ट्रपति पदमा गएदेखि नै भण्डारी पार्टीको सदस्य नरहेको तर्क पनि गरेका छन्।
उनले भनेका छन्, ‘उहाँ राष्ट्रपति भएदेखि नै एमालेको सदस्य होइन।’
अहिले के हो?
-अहिले पनि त्यही हो।
उहाँ एमालेको सदस्य होइन?
-हुनुहुन्न।
उहाँको सदस्यता नवीकरण नेकपा एमालेले खारेज गरेको छ?
-नवीकरण नगर्ने निर्णय गरेको छ।
उहाँको ६४१ नम्बरमा जुन नाम थियो, त्यो अस्तिबाट हट्यो?
-त्यो त स्वाभाविक रूपमा, किनकि उहाँ पार्टीको पुरानो नेता कार्यकर्ता भएको नाताले तपाईंले भनेजस्तै उहाँको नम्बर हुन सक्दछ, तर म कन्फर्म छैन। यद्यपि उहाँ पार्टीको नेतृत्वमा रहँदाखेरिको नम्बर हो। त्यो नम्बरबाट उहाँले राजीनामा दिएर राष्ट्रपतिमा जानुभाथ्यो र त्यल्लाई नवीकरण गर्न खोज्नुभाथ्यो। तर नवीकरण नगर्ने पार्टीले निर्णय गर्यो।
यसअघि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको नाम रातारात वेबसाइटबाट हटाइएको बताएका थिए।
यसैबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) विशेष पत्रकार सम्मेलन गर्दै छिन्।
गत मंगलबार एमाले केन्द्रीय कमिटीले आफ्नो सदस्यता अमान्य घोषणा गर्दै पार्टी राजनीतिमा निषेध गरेपछि भण्डारीले आज पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेकी हुन्।
Shares

प्रतिक्रिया