राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले संघीय निजामती विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कंलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन्।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले विधेयकको सबैभन्दा गम्भीर र महत्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरुलाई नै ठग्ने काम भएको बताए।
त्यस्तै झाले यसको छानबिन बनाइएको छानबिन समितिको नेतृत्व नेपाली कांग्रेसलाई दिन नहुने बताए। ‘भिजिट भिसामार्फत भइराखेको संगठित अपराधसम्बन्धी हाम्रो आन्दोलन जारी नै छ, त्यो आन्दोलन जारी रहेकै बेला संसदीय अभ्यासमा एउटा कंलङ्कित कथा बुनियो,’ उनले भने, ‘त्यो जुन कुलिङ पिरियडको बारेमा समिति सभापतिज्यूले प्रस्ताव गर्नुभएको भन्दा निकै फरक। र जुन मुद्दा सबैभन्दा गम्भीर र महत्वपूर्ण थियो त्यही मुलमा छेडखानी भएर यहाँ फरक आयो। त्यसमा हुन्छ हुदैन भन्दैमा हामी ठगियौं।’
झाले थपे, ‘यसमा संसदीय छानबिन समिति बन्दैछ भन्ने कुरा थाहा पायौं, त्यसमा हाम्रो सहमति पनि रहनेछ। जुन दलसँग सम्बन्धित नेतामा औँला उठेको थियो, त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा एक वर्ष अगाडि चल्योको थियो यो सदनमा। तर, आज त्यो बिर्सदै हुनुहुन्छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विगत लामो समयदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै संसद अवरोध गर्दै आएका छन्।
Shares

प्रतिक्रिया