श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगारका विषयमा ‘पोलिसी ट्रयाप’ (नीतिगत पासो) मा फसेको बताएका छन्। बुधबार संसद्मा सांसदहरूको जबाफ दिँदै उनले फ्री भिसा-फ्री टिकेट र घरेलु श्रमिकको विषयमा ‘पोलिसी ट्रयाप’ मा परेको बताएका हुन्।
‘संसदीय समितिको निर्देशनअनुसार सातवटा क्राइटेरिया (मापदण्ड) राखेर यो क्षेत्रमा श्रम स्वीकृति दिइएको छैन। यथार्थ के हो भने, श्रम स्वीकृति नदिइए पनि इरेगुलर बाटो हुँदै घरेलु कामका लागि मानिसहरू विदेश गइरहेका छन्,’ उनले भने, ‘कुवेतमै मात्र करिब ६० हजार घरेलु श्रमिक श्रम स्वीकृतिबिना कार्यरत रहेको अवस्था छ।’
वैदेशिक रोजगार बोर्डमार्फत प्रदान गरिने सेवासुविधाका लागि श्रम स्वीकृति अनिवार्य हुने भएकाले ती श्रमिकहरूलाई कुनै अप्ठ्यारो पर्दा सहयोग गर्न कठिन भएको उनको भनाइ छ। मानवीयताका नाताले सकेसम्म समाधान गरिरहेको उनले सदनमा जानकारी गराए। यस विषयमा सम्बन्धित संसदीय समितिको पनि ध्यानाकर्षण उनले गराए।
‘फ्री भिसा, फ्री टिकेट अर्को पोलिसी ट्रयाप हो जुनलाई रिफर्म गर्न हामीले उच्चस्तरीय टास्कफोर्स गठन गरेका छौँ,’ उनले भने, ‘यो नीति रिभाइज गर्दा हामीले यसलाई प्राक्टिकल बनाउनेछौँ। साथै इम्प्लोयर पेयज् मोडेल र इथिकल रिक्रुटमेन्टलाई निरन्तर प्रमोट गर्नेछौँ।’
Shares

प्रतिक्रिया