राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेश सभा बैठक नै छोडेर पूर्व राजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउन पुगेका छन्।
सोमबार (आज) निर्मल निवासमा आयोजित पूर्वराजा शाहको जन्मोत्सवमा सहभागी हुन राप्रपाका सबै सांसदहरूले प्रदेश सभा बैठक छोडेर काठमाडौँ पुगेका हुन्।
प्रदेश सभामा जारी आगामी आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विधेयकमाथिको छलफल नै छोडेर उनीहरू निर्मल निवास पुगेका हुन्।
प्रदेश सभा सभामुख भुवन कुमार पाठकलाई आज बस्ने सदन सार्न आफूहरूले अनुरोध गरेको तर सत्तारुढ दलका कारण सदन सुचारु भएको राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले बताए।
‘हाम्रो लागि पूर्व राजाको जन्मदिन नै पहिलो प्राथमिकता भयो,’ नेता थापाले नेपालखबरसँग भने, ‘सभामुखलाई अनुरोध गरेका हौँ। उहाँले मान्नुभएन। त्यसो भएपछि हिजो साँझ नै हामीहरू काठामाडौँ फर्कियौँ।’
मुख्यमन्त्री बहादुर सिंह लामा वैदेशिक भ्रमणमा जाने हुँदा आजै बजेट पास गर्नुपर्ने दबाबमा सत्तारुढ दलहरू रहेका कारण आफ्नो दलको अनुरोध नमानेको हुनसक्ने उनले बताए।
राप्रपाका आफूसहित १२ जनै सांसदहरू निर्मल निवास पुगेको दलका नेता थापाले बताए। ११० सदस्यीय बागमती प्रदेश सभामा राप्रपाका १३ (सभामुख सहित) सांसद छन्।
Shares

प्रतिक्रिया