नेकपा एमालेका महासचिव शंखर पोखरेलले एमालेविरुद्ध घेराबन्दी भइरहेको भनेर दिएको अभिव्यक्तिलाई लिएर सोही पार्टीका नेता गोकुल बाँस्कोटाले कटाक्ष गरेका छन्। राजनीतिमा घेराबन्दी सामान्य रहेको तर जनविश्वास भने आर्जन गर्न सक्नुपर्ने बाँस्कोटाको टिप्पणी छ।
बिहीबार काठमाडौँ जिल्ला कमिटीको छैटौँ बैठकलाई सम्बोधन गर्दै पोखरेलले एमालेमाथि बालेन र रास्वपासहितले हमला गरिरहेको र त्यसको प्रतिकारमा उत्रिन नेता कार्यकर्तालाई निर्देशन दिएका थिए।
‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइबर हमला गरिरहेका छन्। मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन्। राजावादी, माओवादी,समाजवादी पपुलिस्ट र बाह्य शक्ति। एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पूरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन्,’ उनले भनेका थिए, ‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी, बिहे, पार्टी, पारिवारिक तस्बिर मात्र हालेको देख्छु। एमालेहरूले यसो गर्न सुहाउँदैन। आफ्ना राजनीतिक कुरा राख्ने र सामूहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ।’
आज शुक्रबार बाँस्कोटाले पोखरेलको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजनीतिमा घेराबन्दी हुनु सामान्य अभ्यास भएको जवाफ दिएका छन्। उनले नेपालमा चुनावअघि कुन दल कति बेला कोसँग किन मिल्छ भन्ने चाल कसैले नपाएको अवस्थाको स्मरण गराउँदै जनविश्वास पैदा गर्नु पर्नेमा जोड दिएका छन्।
‘राजनीतिमा घेराबन्दी हुनु, गर्नु सामान्य अभ्यास हो। र, नेपालमा त दालभात बराबर। किनकि, यहाँ चुनावअघि नै कुन दल कतिबेला कोसँग किन मिल्छ? कसैले चाल पाउँदैन र जवाफ पनि कसैलाई दिन पर्दैन। तसर्थ, घेरा तोड्ने सरल सूत्र जनविश्वास पैदा गर्नु हो,’ बाँस्कोटाले एक्समा लेखेका छन्।
बाँस्कोटा काभ्रे-२ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद हुन् भने पोखरेल दाङ-२ मा पराजित भएका थिए।
Shares

प्रतिक्रिया