राजनीति


जेठ १५ गते जनप्रदर्शनको तयारीमा एमाले, तोकियो शीर्ष नेताको जिम्मेवारी

जेठ १५ गते जनप्रदर्शनको तयारीमा एमाले, तोकियो शीर्ष नेताको जिम्मेवारी

नेपालखबर
जेठ १२, २०८२ सोमबार १३:०, काठमाडौँ

जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नेकपा एमालेले काठमाडौँमा जनप्रदर्शन कार्यक्रम गर्दैछ। उक्त कार्यक्रमका लागि एमालेले नेताहरूको जिम्मेवारी बाँडफाँड गरेको छ। सोमबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले नेताहरूको जिम्मेवारी तोकेको हो। 

महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरूले फैलाएका भ्रम चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो। 

जनसंगठनका अध्यक्ष, इन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको भेलामा महासचिव पोखरेलले नेताहरुको जिम्मेवारी बाँडफाँडको जानकारी गराए। उनका अनुसार काठमाडौँको जनपरिचालनको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। 

जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई दिइएको र उनलाई अन्य जनसंगठनका इन्चार्जले सहयोग गर्ने निर्णय भएको पोखरेलको भनाइ छ। 

त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट, बागमती प्रदेशको जिम्मा उपमहासचिव प्रदिप ज्ञवालीलाई, लुम्बिनी र गण्डकी प्रदेश समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ। त्यस्तै कोसी प्रदेशको समन्वयको जिम्मा उपाध्यक्ष रामबहादुर थापालाई, मधेस प्रदेश समन्वयको जिम्मा उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरू क्रमश: अष्टलक्ष्मी शाक्य, गुरु बराललाई जिम्मेवारी तोकिएको छ। उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ। 

स्वयंसेवक परिचालनका लागि उपमहासचिव विष्णु रिमाललाई जिम्मा दिइएको छ। उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई दिइएको छ। सबै विभाग संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ।

 महासचिव पोखरेलले सबै प्रदेश, जिल्ला र पालिकाहरूमा पनि गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन आन्तरिक सर्कुलरसमेत जारी गरेका छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad