प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कोरोना भइरस (कोभिड १९) विरुद्ध लडन पूर्ण तयारी गरेको बताएका छन्।
शुक्रबारदेखी सञ्चालनमा आएको (कोभिड–१९) विशेष अस्पतालको निरीक्षण गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार कोरोना विरुद्ध लड्न प्रदेशका सबै क्षेत्रसँग सहकार्य गरेर अगाडि बढेको बताए।
विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भइरसको संक्रमणबाट प्रदेशबासीलाई बचाउने अभियानमा प्रदेश सरकार रहेको भन्दै मुख्यमन्त्री राईले सरकारले गर्नुपर्ने तयारीका सबै काम गरिरहेको बताए। प्रदेश सरकारले विज्ञ चिकित्सकहरुको टोली गठन गरेर विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, विशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि चाहिने फरक फरक खालका स्वास्थ्य सुरक्षाका समाग्रीको र त्यसको आपुर्तीका लागि अध्ययन गरिरहेको बताए। यस्तै क्वारेन्टाइनमा रहेकाहरुको सुरक्षा र खाने बस्ने व्यवस्था सरकारले मिलाएको उनले जानकारी दिए।
उनले अहिलेसम्म प्रदेशमा कसैलाई यसको संक्रमण नदेखिए पनि प्रदेश नं १ उच्च जोखिममा रहेको बताउँदै यसबाट बच्न उच्च सावधानी र सर्तकता अपनाउन सबै नागरिकलाई अपिल पनि गरे।
प्रदेश सरकारले नेशनल ट्रेडिङको पुरानो भवनलाई कोशी अस्पताल अन्र्तगत रहने कोरोना विशेष अस्पतालका रुपमा विकास गरेको हो। १० बेडको भेन्टीलेटर सहित ५० वेडको अस्पतालमा विरामीको चाप बढेमा ७० जनासम्म राख्न सकिने कोशी अस्पतालकी प्रमुखु डा संगिता मिश्रले बताइन्।
प्रदेश सरकार मन्त्री परिषदको चैत ९ गतेको बैठकले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया