राजनीति


झापा घटनालाई लिएर नारायणकाजीले मागे माफी

झापा घटनालाई लिएर नारायणकाजीले मागे माफी

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १३:१८, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ उद्घाटनका क्रममा आफूमाथि मनोवैज्ञानिक अवरोध गरिएको बताएका छन्।  

आज मंगलबार प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मे‍लनमा श्रेष्ठले बोल्न सुरुवात गर्दैगर्दा अवरोध गर्दा आफूलाई बिझाएको बताएका हुन्।  

'म हिजो बोल्न जाँदा मनोवैज्ञानिक रुपमा अवरोध जस्तो भयो। त्यसले मलाई बिझायो त्यो सत्य हो। त्यसपछि म बोलिनँ। त्यसलाई सामान्य घटनाकै रुपमा लिन अनुरोध गर्छु पार्टीभित्र अध्यक्षको नेतृत्वमा असाधारण एकता सुदृढ हुँदैछ,रुपान्तरणका लागि हामी लागिरहेका छौँ,' उनले भने, 'मैले त्यहाँ आपत्ति जनाएर बोल्न छोडेपछि शुभेच्छुकहरूले यस्तो नगरिदिएको भए हुन्थ्यो,कतिले त म्यासेज पनि पठाउनु भएको छ तपाईंले यस्तो गर्न सुहाउँदैन भनेर। त्यसमा आत्मआलोचना गर्दै म सार्वजनिक रुपमा क्षमायाचना गर्न चाहन्छु।'

जनतासँग माओवादी तराई-मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपार्ने पनि उनले स्पष्ट पारे।

नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको  ‘जनतासँग माओवादी तराई-मधेस जागरण अभियान’को उद्घाटनसभामा झापामा श्रेष्ठ रिसाएका थिए। 

श्रेष्ठले मञ्चमा बोल्नेक्रममा सञ्चालक नजिकै उभिएपछि उनी झोक्किएर बोल्दै नबोली बाहिरिएका हुन्।

नजिकै उभिएका सञ्चालकलाई भनेका थिए, ‘सक्नुस् भन्न आउनुभा हो? हो? हो भने जान्छु,’ सञ्चालकले ‘होइन’ भन्ने जवाफ फर्काएका थिए। 

तर, श्रेष्ठले अनि यहाँ किन आएको भनेर रिस पोखेका थिए। उनले रिसाउँदै थप भनेका थिए, 'चाप..समयको चाप एकदम धेरै छ। म थोरै कुरा भन्न चाहन्थेँ शायद। सञ्चालकलाई धेरै चाप भयो होला म बिदा हुन्छु। लालसलाम।’

यति भन्दै श्रेष्ठ बाहिरिएका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad