भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी पीडितहरुको रकम राज्यकोषबाट एक पैसा पनि खर्च नगरिएको दाबी गरेकी छन्।
राज्यकोषबाट सहकारी पीडितहरूको रकम वितरण भइरहेको चर्चा भइरहेका बेला मन्त्री रावलको यस्तो स्पष्टीकरण आएको हो। बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले राज्यकोषबाट समस्याग्रस्त सहकारी पीडितहरूलाई रकम उपलब्ध गराएको भन्ने भ्रमबाट मुक्त हुन सांसदहरूलाई आग्रह पनि गरिन्।
मन्त्री रावलले उक्त रकम समस्याग्रस्त सहकारी संस्थाका व्यवस्थापन, संचालक, लेखा समितिलगायतबाट असुली गरिएको पनि दाबी गरिन्।
‘समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताहरुको बचत फिर्ताका लागि हालसम्म नेपाल सरकारको राज्यकोषबाट एक पैसा पनि खर्च गरिएको छैन’ उनले भनिन्, ‘पछिल्लो ३ महिनामा मात्रै विभिन्न ८ वटा समस्याग्रस्त सहकारी रुजु भएको १० हजार र सो भन्दा मुनिका एक हजार ४५२ वचतकर्ताहरुको ५९ लाख ४६०० बचत फिर्ता गरिएको छ। साथै ३ महिना भित्र ३ करोड ५४ लाख ४९ हजार ऋण असुली भईसकेको छ। उक्त रकम सम्बन्धित संस्थाका संचालक, व्यवस्थापक, लेखा समिति, ऋण उपसमितिका पदाधिकारीहरुबाट व्यवस्थापन गरिएको हो।’
मन्त्री रावलले सरकारले संघीयताको भावना अनुसार तीन वटै तहका सरकारको सहकार्यलाई बलियो बनाउने गरी बजेटको व्यवस्था गरेको पनि बताइन्।
Shares

प्रतिक्रिया