चुनाव अघि गरेका वाचा पूरा नगरेको भन्दै जेनजी अगुवा रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रश्न गरेकी छन्।
बुधबार सामाजिक सञ्जालमार्फत बमले प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछानेलाई सम्बोधन गर्दै जेनजीसँग गरिएको वाचा पूरा नगरेकोमा रोष प्रकट गरेकी छन्। ‘जेनजी परिषद् गठनको कार्य कहाँ पुग्यो? जेनजी शहीदहरूको स्मारक निर्माणको कार्य कहाँ पुग्यो?,’ उनले प्रश्न गरेकी छन्।
जेनजी आन्दोलनकै बलमा बनेको सरकारले उनीहरूसँग सम्बन्धित वाचा पूरा नगरेकोमा उनले असन्तुष्टि जनाएकी छन्। ‘तपाईंहरू सायद बिर्सिसक्नुभएको होला, जेनजी आन्दोलन यो सरकारको जरा हो,’ बमले भनेकी छन्, ‘सम्झनुहोस् त, चुनावताका यिनै शहीदहरूको बलिदान र यहि आन्दोलनको नाम लिँदै, तपाईंहरूले भोट माग्नुभएको थियो।’
जेनजी अगुवा बमले चुनावअघि जेनजी आन्दोलनकारीसँग गरेका वाचा पूरा गर्न ध्यानाकर्षण गराएकी छन्। उनको प्रश्न छ, ‘अब वाचा पूरा नगर्ने हो?’
Shares

प्रतिक्रिया