नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’को उद्घाटन सभामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ रिसाएका छन्।
श्रेष्ठले मञ्चमा बोल्नेक्रममा सञ्चालक नजिकै उभिएपछि उनी झोक्किएर बोल्दै नबोली बाहिरिएका हुन्।
नजिकै उभिएका सञ्चालकतर्फ हेर्दै श्रेष्ठले भने, ‘सक्नुस् भन्न आउनुभा हो? हो? हो भने जान्छु।’
सञ्चालकले ‘होइन’ भने।
तर, श्रेष्ठले थपे, ‘अनि के त यहाँ टुक्क आएर बसेको?’
उनी यति भनेपछि सञ्चालक अलि पर जान्छन्।
फेरि श्रेष्ठ पछाडि फर्केर सोध्छन्, ‘म बिदा हुँ?’
कोही व्यक्ति हाँसेको सुनिन्छ।
उनी बोल्न थाल्छन्, ‘चाप..समयको चाप एकदम धेरै छ। म थोरै कुरा भन्न चाहन्थेँ शायद। सञ्चालक। कार्यक्रमलाई धेरै चाप भयो होला म बिदा हुन्छु। लालसलाम।’
यति भन्दै श्रेष्ठ बाहिरिन्छन्।
बोल्ने पालो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आउँछ।
प्रचण्ड भन्छन्, ‘वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा यहाँ अलिकति असहज जस्तो हुन गयो। उद्घाोषक कमरेड...। मेरो त ध्यान जनतातिर थियो। म तपाइँहरूतिर हेरिराखेको थिएँ। वरिष्ठ उपाध्यक्ष कमरेडले बोल्दै गर्दा तपाइँहरूले बडो ध्यान दिएको मैले महसुस गरेको थिएँ। अग्निजी (माओवादी केन्द्रका झापा जिल्ला अध्यक्ष राज आचार्य अग्नि/सञ्चालक) यहाँ आउनुभएछ । त्यसले उहाँलाई अलिकति के हो भन्ने पर्न गयो। यसमा अलिकति आत्मसमीक्षा गरेर मेरो गल्ती भए म क्षमा चाहन्छु भनिसकेको हुनाले यसको हामी मूल्यांकन, समीक्षा त गरौँला। तर, फेरि यो ठूलो कुरा होइन। हामी समीक्षा गर्छौं र कहिँ त्रुटी रहेछ भने रियलाइज चाहिँ गर्छौं।’
माओवादी केन्द्रले सोमबारदेखि झापाको कचनकवल गाउँपालिकास्थित बनियानीबाट सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ सुरु गरेको हो। यो अभियान पश्चिम कञ्चनपुर पुगेर समापन गर्ने माओवादीले जनाएको छ।
Shares

प्रतिक्रिया