राजनीति


हामी चकचक गर्दैनौँ, एमालेले हेप्न थाल्यो भने सरकारबाट बाहिरिन्छौँ : गगन थापा

हामी चकचक गर्दैनौँ, एमालेले हेप्न थाल्यो भने सरकारबाट बाहिरिन्छौँ : गगन थापा

नेपालखबर
फागुन १२, २०८१ सोमबार २०:५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले आफ्नो पार्टीले सत्ताका लागि कहिल्यै बेइमानी नगरेको दाबी गरेका छन्।नेपाली काङ्ग्रेस प्युठान जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै थापाले एमालेसँग २०८४ को निर्वाचनसम्म एक हुने समझदारी भएको बताउँदै थापाले विधिको शासनमा सम्झौता गर्नुपरे  सरकारमा नबस्ने प्रतिक्रिया दिएका हुन्।  

'कांग्रेसले कहिँ कतै पनि सत्ताका लागि बेइमानी गर्दैन। हामी अहिले पनि गएका हौइनौँ। हामी इमान्दार भएर आफ्नो भूमिका निभाउन चाहन्छौँ।  २०८४ सालको चुनावसम्म हाम्रोतर्फबाट समझदारी कायम रहन्छ। हामी कुनै चकचक गर्दैनौँ। यताबाट उफ्रेर उता जाँदैनौँ,' थापाले भने, 'एमालेसँग मिलेर सरकार चलाइरहँदा हाम्रा केही शर्तहरू छन्। हामी कानुनको शासनमा, विधिको शासनमा सम्झौता गर्नुपर्‍यो भने सरकार छाड्छौँ विधिको शासनमा सम्झौता गर्दैनौँ।'

जनताको बोल्न पाउने अधिकार, हिँडडुल गर्न पाउने अधिकारमा सम्झौता गर्नुपर्‍यो भने सरकार छाड्ने थापाको भनाइ छ। 'प्रजातान्त्रिक अधिकार यो भनेको बोल्न पाउने, हिँड्न अधिकारका छ जुन बीपी कोइरालाले बनाउनु भयो यसमा सम्झौता गर्नुपर्‍यो भने हामी सरकार छाड्छौँ' उनले भने।

अहिले नेकपा एमाले र कांग्रेसबीच बराबरीको सम्बन्ध भएको थापाले बताए।  

उनले कांग्रेसले एमालेलाई नहेप्ने र हेपाइ पनि नसहने बताए। उनले भने, 'नेकपा एमालेसँग बराबरको सम्बन्ध छ। न हामी हेप्छौँ, न हेपिन्छौँ । माथि या तल। केन्द्रमा या जिल्लादेखि तल्लो तहसम्म। हामीलाई कहीँ कतै दुर्व्यवहार भयो भनेर सहेर बस्दैनौँ।

उनले झुक्किएर पनि प्रदेश खारेज गर्नुपर्छ भनेर नभन्न प्युठानका नेताकार्यकर्तालाई आग्रह गरे। काठमाडौँमा बस्नेहरूले अधिकार आफैँ राखेर प्रदेशलाई कमजोर बनाएकोले प्रदेशले काम गर्न नसकेको र यसको समाधानका लागि आफू लडिरहेको उनको भनाइ छ।  

'तपाईंहरूले झुक्किएर पनि प्रदेश खारेज गर्नुपर्छ नभन्नुहोला। अहिले यो बहस काठमाडौँमा छ। यो किन भइरहेको छ भने केन्द्रले केही पनि दिइरहेको छैन। पाँच लाखको बाटो बनाउने काम पनि केन्द्रले समातेर राखेको छ' उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad