समाज


अधिकारकर्मी मोहना अन्सारीलाई दण्डपाणि-नन्दकुमारी पुरस्कार

अधिकारकर्मी मोहना अन्सारीलाई दण्डपाणि-नन्दकुमारी पुरस्कार

नेपालखबर
फागुन १२, २०८१ सोमबार २०:११, काठमाडौँ

दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र, काठमाडौँले २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानव अधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गर्ने भएको छ।

कोष संस्थापकमध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष ईश्वरचन्द्र बानियाँको अध्यक्षतामा फागुन ११ गते बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो।

महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिअनुसार, यही फागुन १७ गते शनिबार प्रज्ञा प्रतिष्ठानको हलमा संस्थाको साधारण सभाका अवसरमा पुरस्कार मोहना अन्सारीलाई अर्पण गरिनेछ। अन्सारी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वप्रवक्ता पनि हुन्। उनले समाजको कमजोर, सीमान्तकृत र बहिष्कृत वर्गको न्यायका लागि पैरवीकर्ताको परिचय बनाएकी छन्। 

विसं २०६२ सालमा स्थापित स्मृतिकेन्द्रले आफ्नो स्थापना कालदेखि राष्ट्रिय जीवनका विविध क्षेत्रमा योगदान पुऱ्याउने राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ।

यसअघिका वर्षहरूमा इतिहासज्ञ ज्ञानमणि नेपाल, साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य, इतिहासकार दिनेशराज पन्त, साहित्यकार मोदनाथ प्रश्रित, शिक्षासेवी सुरेशराज शर्मा, सुरेन्द्र केसीलगायत डेढ दर्जनभन्दा बढीलाई सम्मान गरेको छ।

पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।

गोरखामा विसं १९६३ मा जन्मनुभएका विद्वान् शिक्षासेवी, इतिहासविज्ञ तथा समाजसेवी स्वर्गीय दण्डपाणि अर्ज्याल इतिहास, ज्योतिषशास्त्र र संस्कृतिका अध्येता थिए। नन्दकुमारी उनकी धर्मपत्नी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad