नेपाली भूमि अतिक्रमण भएको भन्दै कञ्चनपुरका नेपालीले भारतले बनाएको सीमा-स्तम्भ ताेडफाेड गरेका छन्।
जिल्लाको बेलडाँडी गाउँपालिका-३ बैवाहमा भारतले निर्माण गरेको ७८३/४ नम्बरको नेपाल-भारत सीमा-स्तम्भ स्थानीयले शनिबार भत्काएका हुन्।
केही दिनअगाडि नेपाल-भारत संयुक्त सर्भे टोलीले निर्माण गरेको सीमा-स्तम्भ स्थानीय नेपालीले हतौडा र ढुंगाले हानेर फुटाएका हुन्।

भारतले नेपाली भूमि हडप्न आफूहरूको लालपुर्जावाला जमिनमा सीमा-स्तम्भ खडा गरेकाले तोडफोड गरिएको स्थानीय वीरसिंह कुवँरले बताए।
लालपुर्जा भएको जमिनमा भारतले एकपक्षीय रूपमा सीमा-स्तम्भ बनाएर नेपाली भूमि अतिक्रमण गर्न खोजेको भन्दै स्थानीय नेपालीले विरोध गरेपछि सर्भे रोकिएको छ।
६ दशकदेखि बसोबासरत स्थानीय नेपालीको जमिन भारतमा परेपछि सीमा विवाद चुलिएको छ।
उक्त क्षेत्रमा संयुक्त टोलीले काम गर्न छाडेर कैलालीको खक्रौला नाकातर्फ गएको छ।
शनिबार नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहरा, पूर्वसंविधानसभा सदस्यद्वय दिवानसिंह विष्ट, बहादुरसिंह थापालगायत संलग्न टोलीले सीमा-स्तम्भ अनुगमन गरेको छ।
सोही क्रममा सीमामा गएका स्थानीय नेपालीले भारतले सीमा मिच्न लागेको भन्दै स्तम्भ फुटाएका हुन्।
नेपाली कांग्रेस कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहराले सरकारको बेवास्ताले नेपाली भूमि भारतले अतिक्रमण गर्न लागेको गुनासो गरे। वार्ता र छलफलबाट अतिक्रमण समस्या सुल्झाउने पर्ने उनको सुझाव छ।
सरकारले सीमा सुरक्षा गर्न नसकेको भन्दै स्थानीय कांग्रेस नेता र सर्वसाधारणले नेपाल सरकारको विरोध गरेका छन्।

प्रतिक्रिया