छापा खबर


कोरोना संक्रमण फैलिन नदिन सरकारले देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक खटाउने

कोरोना संक्रमण फैलिन नदिन सरकारले देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक खटाउने

नेपालखबर
चैत २, २०७६ आइतबार ३:२१,

सरकारले देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने भएको छ। देशभरका ६ हजार ६ सय ८४ वडामा उक्त संख्यामा स्वयंसेवक परिचालन गर्न लागिएको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका सचिवलगायत उच्च अधिकारीबीच शनिबार बसेको बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको खबर आजको समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले लेखेका छन्।

कोरोना भाइरसको संक्रमणबाट बच्न, सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपाय र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गर्न लागिएको हो।

हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्न राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ।

समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा.गुणराज लोहनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र स्वाथ्य मन्त्रालयका रेशमराज पोखरेल सदस्य छन्।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेवीको समेत सहयोगमा स्वयंसेवक परिचालन गर्न लागिएको हो। अधिकांश ठूला स्थानीय तहमा स्वास्थ्य स्वयंसेविका र समिति छन्।

समितिले देशैभरका अस्पताल, नर्सिङहोम, मेडिकल कलेजका विद्यार्थी, सीटीईभीटीअन्तर्गत नर्सिङ क्याम्पसका सञ्चालकसँग छलफल शुरू गर्ने भएको छ।

सरकारले कोरोनाको जोखिम सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति बनाएको छ। सोही समितिको निर्देशन र निर्णय पालना गर्न स्वयंसेवक परिचालन समिति गठन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad