राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
आइतबार वनस्थलीस्थित घण्टीघरमा पत्रकार सम्मेलन गरी रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्नुपर्ने दबाबसहितको दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो।
हिरासतभित्रै राखेर अनुसन्धान गर्ने कानुनी व्यवस्था हटाउनुपर्ने, विगत दुई दशक यताका उच्च ओहोदाका भ्रष्टाचारीहरूको न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा न्यायिक जाँचबुझ गर्नुपर्नेलगायत माग राखी दोस्रो चरणको आन्दोलन गर्न लागेको रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।
उनले भने, ‘रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन जोडदार माग गर्दै भविष्यमा कानुनी प्रावधानको दुरुपयोग गरी यस्तो प्रकारको बदनियतपूर्ण प्रतिशोध कुनै नागरिकविरुद्ध नहोस्, विद्यमान फौजदारी कानुन तथा संरचनागत प्रणाली सुधार र परिमार्जन गर्न हामी ध्यानाकर्षण गराउँछौँ।’
सहकारी, लघुवित्त र मिटरब्याजसम्बन्धी समस्या समाधान, जोखिममा परेका सहकारी संस्थाहरूबाट बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रिया अविलम्ब सुरु गर्न रास्वपाले भनेको छ। विगतमा समिति, कार्यदलहरूले दिएका सुझाव तथा सिफारिसहरूको पूर्ण कार्यान्वयन गरी सहकारी क्षेत्रको उचित नियमन गर्न नेपाल राष्ट्र बैंकसँग प्रत्यक्ष समन्वयमा काम गर्ने गरी अधिकार सम्पन्न स्वायत्त सहकारी प्राधिकरणको स्थापना गर्न समेत उसले माग गरेको छ।
निक्षेप सुरक्षण कोषलाई प्रभावकारी बनाउने र पीडित पक्षसँग भएका सम्झौताहरूको कार्यान्वयन गर्दै उनीहरूलाई न्याय दिनका लागि माग गरेको झाले बताए।
पत्रकार सम्मेलनमा पार्टीका नेताहरूले स्थानीय तह उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई मनोनयन दर्ता गराउने काममा पनि सत्तारुढ दलहरूले नदिएको आरोपसमेत लगाएका छन्।
गत कात्तिक २ गते पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा छन्। उनीविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान भइरहेको छ।
पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान अधिकारीहरूले उनको बयान लिइसकेका छन्।
काठमाडौँको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि उनलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिइसकेको छ। यस्तै चितवनको सहारा चितवन र वीरगन्जको सानो पाइला सहकारीको ठगी प्रकरणमा पनि रविमाथि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।
Shares

प्रतिक्रिया