समाज


काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि रवि र छविविरुद्ध पक्राउ अनुमति

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पनि रवि र छविविरुद्ध पक्राउ अनुमति

नेपालखबर
मंसिर २, २०८१ आइतबार १८:४२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गर्नुपरेकाले अनुमतिका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरले अनुमति माग गरेको थियो। आइतबार अदालत न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएका हुन्।

स्वर्णलक्ष्मी पनि जीबी राई समूहको सहकारी हो। त्यही समूहद्वारा सञ्चालित पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविलाई गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको छ। बन्जाडेलाई त्यसअघि नै पक्राउ गरिसकिएको थियो। कास्की प्रहरीले उनीहरूविरुद्ध त्यहाँको जिल्ला अदालतमा मुद्दा लैजाने तयारी गरिरहेको छ। 

यहीबीचमा रवि र छवि दुवै जनालाई बुटवलको सप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि रुपन्देही लगिएको थियो। त्यहाँ बयान सकेर दुवैलाई पोखरा फर्काइसकिएको छ।

यसैबीच, स्वर्णलक्ष्मी सहकारी प्रकरणमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ घर भएका कमल लामा र काठमाडौँ महानगरपालिका–३१ की सुनिता नेवा छिन्।

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जीबी राईसहित २२ आरोपीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ अनुमति जारी भइसकेको थियो।

 जिल्ला प्रहरी परिसरका अनुसार, यस प्रकरणमा ६ सय ४५ जना पीडित बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन्। स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको उनीहरूको दाबी छ। सो सहकारीमा २७ हजार निक्षेपकर्ताले २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको प्रहरी अनुसन्धानले देखाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad