मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भयो। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि १४ जनाले मनोनयन दर्ता गराए।
जसमा वटा राजनीतिक दलका ९ उम्मेदवार छन् भने बाँकी ५ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्। यो सँगै हेटौंडा–१२ को वडाध्यक्ष पदका लागि १४ जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
त्यसोत, २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मुख्यगरी माओवादी केन्द्र, कांग्रेस र एमालेबीच त्रिपक्षीय चुनावी भीडन्त भएको यस वडामा आउँदो उपनिर्वाचनमा पनि उस्तै माहोल बन्ला भन्नेमा तीन ठूला दलहरु थिए। तर, यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो उम्मेदवार खडा गरेपछि यी ठूला दलहरुलाई चुनौती थपिने देखिएको हो।
अघिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार राजेश नगरकोटी, कांग्रेसका उम्मेदवार अर्जुन तिवारी र माओवादी केन्द्रका उम्मेदवार ललितबहादुर घलानबीचमा खरो प्रतिस्पर्धा भएको थियो। जसमा माओवादीका घलानले १३ सय ७१ मत प्राप्त गरेर विजयी हुँदा कांग्रेसका तिवारीले १३ सय ४० मत प्राप्त गर्दै ३१ मतान्तरले दोस्रो हुन पुगे। एमालेका नगरकोटीले १३ सय २५ मत प्राप्त गर्दै तेस्रो स्थानमा खुम्चिए।
यसरी झिनो मतान्तरले मात्रै पराजय भोग्नु परेका एमाले र कांग्रेसमा दुवै उम्मेदवार उपनिर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन्। तर उनीहरु दुवैलाई एउटा के कुराको ढुक्क छ भने पटक/पटक जितिरहने ललित घलान चुनावी मैदानमा छैनन्। उनी जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि माओवादीले युवा नेता रविन प्रधानलाई आफ्नो उम्मेदवार बनाएको छ। सधैं जितिरहने माओवादी मात्रै नभएर माओवादीका नेता घलानको साख जोगाउने चुनौती समेत प्रधानकै काँधमा आइपरेको छ।
तर यी तीनैजना उम्मेदवारको चुनौतीको रुपमा खडा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) २०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा यस वडामा रास्वपाले समानुपातिक तर्फ मात्रै झण्डै १४ सय मत प्राप्त गरेको थियो।
माओवादीकै कारण दुईपटकसम्म हार व्यहोरेका कांग्रेसका उम्मेदवार अर्जुन तिवारी यो पटक जसरी पनि जीत आफ्नो पोल्टामा पार्ने दाउमा छन्। माओवादीका तत्कालिन उम्मेदवार ललितबहादुर घलानसँग झिनो मतान्तरले दुई पटकसम्म पराजय भोगेका तिवारी आफ्नो तेस्रो पटकको चुनावी यात्रा सफल बनाउने दाउमा छन्।
विगतलाई हेर्दा त्रीपक्षीय भीडन्त हुँदै आएको यस वडामा रास्वपाको इन्ट्रीले तिवारीलाई यो पटक पनि अप्ठेरो सिर्जना गर्नसक्ने देखिन्छ। तर पनि आफ्नो जीत सुनिश्चित रहेको कांग्रेसका उम्मेदवार अर्जुन तिवारीले दाबी गर्छन्।
‘निर्वाचन हो, मनोनयन दर्ता त योग्यता पुगेका जसले पनि गर्न पाए,’ तिवारीले भने, ‘तर पनि यहाँका मतदाताहरुले कसलाई मत दिने, कसलाई नदिने भन्ने राम्ररी बुझ्दछन्। मलाई रास्वपाकै कारण हार व्यहोर्न पर्छ भन्ने लागेकै छैन। यो पटक हेटौंडा–१२ को वडाध्यक्ष पद कांग्रेसले नै पाउने हो। यसमा दुईमत छैन।’
२०७९ मंसिरमा सम्पन्न आम निर्वाचनमा यस वडामा रास्वपाले समानुपातिक तर्फ मात्रै झण्डै १४ सय मत प्राप्त गरेको थियो। देशमा सरकारको कामकाजले वितृष्णा भैरहेको अवस्थामा रास्वपालाई जनताले जिताउन चाहेको रास्वपाको उम्मेदवार आशावीर बल बताउँछन्।
‘हामी नयाँ पार्टी हौं, थाहा छ। तर पनि हामीलाई मतदाताले माया गर्नुहुन्छ भन्नेमा ढुक्क छौं,’ बलले भने, ‘चितवनमा रवी लामिछानेलाई पनि त्यति मत आउला भन्ने कसले पत्याएका थिए र? तीन ठुला दलहरुलाई चुनौती दिदैं भारी मत ल्याएर विजयी हुनुभयो त। त्यसकारण दल कति ठूलो, कति सानो भन्ने हुँदैन। यो सबै मतदातामा भर पर्ने कुरा हो। पूराना राजनीतिक दलदेखि दिक्क भएका जनताले यो पटक रास्वपालाई पक्कै पनि जिताउनेछन्।’
त्यसोत, वडाध्यक्ष पद आफ्नो पार्टीको पोल्टामा पार्ने दाउमा उभिएको अर्को दल छ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)। हेटौंडा १३, १४ र १२ मा राप्रपामा नेता तथा मकवानपुर प्रतिनिधि सभा–१ का सांसद दीपकबहादुर सिंहको राम्रो प्रभाव छ। आफ्ना पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवार प्रेमबहादुर भ्लोनको पक्षमा माहोल बनाउन सांसद सिंह आफै निर्वाचन अधिकृतको कार्यालयमा पुगे।
बाजागाजा सहित मनोनय दर्ता स्थलमा पुगेका सांसद सिंहले यो पटक हेटौंडा–१२ को वडाध्यक्ष राप्रपाको पोल्टामा पर्ने दाबी गरेर फर्किए। यस वडामा ८ हजार ५३ मतदाता छन्, जसमा महिला ४ हजार १७४, पुरुष ३ हजार ८७८ र अन्य १ मतदाता रहेका छन्।
Shares

प्रतिक्रिया