कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सांसद पद नै खोसिएका डा. ढाकाकुमार श्रेष्ठले भेट्न चाहे पनि रविले अस्वीकार गरेको खुलेको छ।
रास्वपाका एक नेताका अनुसार विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागेको अडिओ सार्वजनिक भएपछि सांसद पद गुमाएका डा. ढाकाकुमार श्रेष्ठले पनि हिरासतमा रहेका रविसँग भेट्न खोजेका थिए।
तर, रविले उनीसँग भेट्न अस्वीकार गरे।
‘उहाँ (ढाका) एकदिन हाम्रो आन्दोलनमा पनि देखिनुभएको थियो, उहाँले अध्यक्षज्यूलाई भेट्न चाहेको सन्देश पठाउनुभएको रहेछ तर रवि दाइले भेट दिनुभएन,’ रास्वपाका ती नेताले भने।
ढाका उनै व्यक्ति हुन्, जो रास्वपाको तर्फबाट समानुपातिक सांसद भएका थिए। कास्कीबाट सांसद बनेका उनलाई अडिओ काण्ड सार्वजनिक भएसँगै रास्पपाले सांसदबाट हटाएको थियो।
ढाकाले रविको ‘कोर टिम’ ले मन्त्री बनाउने भन्दै आफूसँग दुई करोड मागेको बताए पनि व्यक्तिको भने हालसम्म खुलासा गरेका छैनन्।
रवि पक्राउ पर्नुअघि ढाकाकुमार पनि लागुऔषध कारोबारको मुद्दामा कास्की प्रहरी हिरासतमै थिए। उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतको आदेश अनुसार धरौटी बुझाएर छुटेका ढाकाकुमार आफूलाई कारबाही गर्ने रास्वपा सभापति लामिछानेलाई नै भेट्न खोजेका थिए।
Shares

प्रतिक्रिया