ad ad

राजनीति


माधव नेपालको स्पष्टीकरण– ‘कन्भिन्स’ गराउन नसकेर थाकेँ, कसैलाई हराउन चिट बाँडेको छैन

माधव नेपालको स्पष्टीकरण– ‘कन्भिन्स’ गराउन नसकेर थाकेँ, कसैलाई हराउन चिट बाँडेको छैन

नेपालखबर
भदौ २४, २०८१ सोमबार १७:१०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको पदाधिकारी निर्वाचनमा आफू कसैको पक्षमा नलागेको स्पष्ट पारेका छन्।

अध्यक्ष नेपालले केही दिनअघि भएको पार्टीको पदाधिकारी निर्वाचनमा कोही व्यक्ति विशेषलाई जिताउन वा हराउन आफूले चिट नबाँडेको स्पष्ट पारेका हुन्।

आफू पार्टी अध्यक्षको रुपमा सबैको साझा व्यक्ति भएको भन्दै निर्वाचनमा कुनै हस्तक्षेप नगरेको अध्यक्ष नेपालको प्रष्टोक्ति छ।

यद्यपी निर्वाचनमा दस प्रकारका चिट बाँडिएको भन्दै चिटमा नाम परेकाहरू हार्ने र नाम नपरेकाहरू जित्ने निर्वाचन परिणाम आएकाले चिटले काम नगरेको स्पष्ट भएको उनको भनाइ छ। 

न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा अध्यक्ष नेपालले पदाधिकारीमा सहमति जुटाउन नसकेपछि पदाधिकारीको व्यवस्था नै हटाउने प्रस्ताव आफूले राखेको भएपनि सो सम्भव नभएको बताए। 

यस्तो छ अध्यक्ष नेपालको स्पटोक्तिः
त्यस्तो कसैले पनि आरोप लगाएका छैनन्। किनकि थाहा छ कि अध्यक्ष सबैप्रति साझा हुनुहुन्छ। चिटको काममा मैले रोक नै लगाएको हो। मलाई थाहा पनि भएन। थाहा भएको होइन कसैले अध्यक्षलाई दोष लगाउलान्। कसैले महासचिवलाई दोष लगाउलान्। कसैले अर्को नेतालाई दोष लगाउलान्। आ–आफू जित्न आ–आफ्नो ढंगले चलेका होलान्,’ अध्यक्ष नेपालले भने, ‘म यस्ता कुराको विपक्षमा छु। मेरो लागि सबै बराबर हुन्। साझा हुन्। प्रतिस्पर्धामा गइसकेपछि प्रतिस्पर्धाबाट जित्ने हो। मन जित्न सक्नुपर्‍यो। मन जित्न नसक्ने हो भने त दोष लगाएर हुँदैन। के मान्छेले भोटिङ लोभ, लालचले गरेको हो त? डर, त्रासले गरेको हो त? डर त्रासले होइन होला। भोटिङको सबै पक्ष हेर्नुहुन्छ भने चिटमा नाम भएका मान्छे हारेका छन्। नाम नै नभएका मान्छे जितेका छन्। चिटले त जिताएको रहेनछ। चिटमा नाम भएका मान्छे हारेका छन् फेरि। कसरी हार्‍यो त? चिटमा नाम नै नभएकाले कसरी जिते त? चिट एउटा छैन फेरि दस प्रकृतिका चिट बाँडेको छ। त्यो सबै चिट मैले पाइसकेको पनि छैन। मैले मागिरहेको छु। कुन–कुन चिटमा क–कसको नाम छ, हेर्छु। त्यो नाम भएका मान्छेले बाँडेका हुन् कि? शंका गर्नुपर्ने भएन? नाम भएकाहरूले मात्रै होला नि बाँडेका त। कतिपय जित्नुपर्ने साथीहरू नजित्दाखेरी उहाँहरूलाई पनि दुःख लागेको होला। अब म नजित्नुपर्नेहरूले जिते भन्न पनि सक्दिनँ। जितेर आउनुभएको मान्छे चाहीँ ठिक भएन। नजितेकाहरूले जित्नुपथ्र्यो भनेर मैले भन्नु पनि भएन। अनुभवी साथीहरू जसले जित्न सक्नुभएन उहाँहरूप्रति पनि मेरो सहानुभुति छ। जितेर आउनुहुनेहरूलाई अगाडी बढ्न शुभकामना छ। केन्द्रीय कमिटीका सदस्यले भोट दिए। उहाँहरूको मन जित्न सक्नुभएन। दोष अरुलाई दिएर हुन्छ? मैले भनेको पनि थिएँ, पदाधिकारीमा हामीले सहमती गर्न सक्ने भएनौँ  पदाधिकारीको व्यवस्था नै हटाइदिउँ भनेकै हो। हुँदैन हुँदैन भने। चुनाव चुनाव भने। अनि के गरौँ त? म कसको पक्षमा लागुँ त? तपाई चुपचाप बसिदिनुस् भनेको हुन् मलाई। म केही बोलिनँ। किनकी मलाई थाहा छ, पर्खालको पनि कान हुन्छ। एउटालाई खुसुक्क भन्यो भने मलाई त भन्नुभएको छ भन्दै हिँड्छ। त्यसो हुनाले म यस्ता कुरामा किन लाग्न चाहिन भने जब म दुई जना मान्छेलाई कन्भिन्स गर्न सकिरहेको छैन एउटै पदका आकांक्षी दुई जना। अनि म कतिलाई कन्भिन्स् गर्न सक्छु त? म थाकेँ। दुईटै भन्छन्, तपाई चुप लागिदिनुस्। हामीलाई छोडिदिनुस्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .