शाम्बाला! जतिपटक 'शाम्बाला'ले पाइला चालिरहेको छ त्यति नै पटक एउटा तरङ्गसहितको पदध्वनि पनि सिनेबजारमा सिर्जना भइरहेको छ। त्यसो त, 'निर्देशक मीनबहादुर भामको चलचित्र है' भन्ने ज्ञानले पनि कानहरू आफैमा चनाखो भएका हुनसक्छन्। खैर, दर्शकको कान चनाखो हुनु त मात्र एउटा कुरा, ७४ औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पहिलोपटक प्रदर्शन भएको यस सिनेमा आफै समेत वजनदार हुनुका कारण यो तरङ्गको शृङ्खला सायद चल्दो छ।
किनभने निर्देशक भामको चलचित्र भएकैले यसले बर्लिनालेमा गोल्डेन बियरका लागि प्रतिस्पर्धा गरेको होइन। ३ दशकदेखि दक्षिण एसियाका कुनै पनि देशका कुनै पनि फिल्म पुग्न नसकिरहेको ठाउँमा पुग्न फिल्मले निर्देशकका रूपमा भामलाई पाउनु मात्र पर्याप्त पक्कै भएको होइन। भामले जस्तो पनि चलचित्र बनाउँदा अथवा यसरी भनौँ, उनैको अघिल्लो चलचित्र 'कालोपोथी' जति नै मात्र अब्बल बनाउँदा त्यो हुने थिएन जो आज शाम्बालासँग भयो वा भइरहेको छ।
त्यसैले, शाम्बालाले सिर्जना गरेको तरङ्गको कारण निर्देशक भाम नभएर निर्देशक भामले आफैसँग सामना गरेको चुनौती हो। हिजोभन्दा आज आफूमा निखार ल्याउन गरेको वर्षौं लामो साधना हो। मीनबहादुर भाम- एउटा यस्तो निर्देशक जसले ९ वर्षको अन्तरालमा दुईवटा फिचर फिल्म बनाए तर, त्यसबीच पनि उनी कतै छेकिएनन्। दर्शकको स्मृतिबाट ओझेलिएनन्। र जब फर्किए अझै टड्कारो र स्पष्ट भएर फर्किए। दर्शकलाई पक्कै अपेक्षा छ- उनी कहिल्यै पश्चिम नहिँडून्। उनको यात्रा उत्तरोत्तर अघि बढिरहोस्।
यतिबेला क्यूएफएक्स लगायत देशभरका हलहरूमा उनै मीन बहादुर भाम निर्देशित चलचित्र 'शाम्बाला' प्रदर्शनरत छ। आउनुस्, कथाका पात्रहरूसँगै शाम्बालाको यात्रामा हामी पनि निस्किऔँ।
कथा
जन्ती पर्खिरहेका पेमा र उसका आमाबाबूको संवादसँगै फिल्म सुरु हुन्छ। पेमाको बाबू पेमालाई लोग्नेहरूलाई खुसी पार्न सुझाइरहेछ भने उसकी आमा उसलाई लोग्नेको घरमा गएर नोकर नबन्न होसियार गराइरहेकी छ।
अथवा बाबूले समर्पण सिकाइरहँदा, आमाले स्वाधीनता सिकाइरहेकी छ। पेमा आखिर दुईबीच कुनको पक्षमा होली त? तपाईंभित्र पेमाप्रति यो जिज्ञासा नजानिँदो गरी फिल्मको पहिलो २ मिनेटभित्रै उम्रिसक्छ। गाडीको निधारमा लेखिएको नाम देखिसक्दा कहाँ जाने गाडी हो यात्रुले थाहा पाएजस्तै।
गन्तव्य त थाहा भयो। अब बाटो कस्तो होला? छेउको सिटमा कस्तो मान्छे पर्ला? गाडीले गन्तव्यसम्मै पुर्याउन सक्ला त? फिल्मले यसैगरी दर्शकलाई पेमाको पछाडि खुलदुल खुलदुल गराउँदै हिँडाइरहन्छ। आखिर, पेमा कस्ती स्वास्नीमान्छे हो? ऊ गुलामी गर्न रुचाउली? या फेरि राज गर्न मन पराउली?
फिल्मको कथा बहुपति प्रथामा आधारित छ। तर, त्योभन्दा बढी तीनजना लोग्नेकी स्वास्नी हुनुका बाबजुद एउटी एकल स्वास्नीमान्छेको कथा हो, शाम्बाला। कर्णालीका हिमालवासीहरूको रहनसहन र जीवनयापनको कथा पनि हो यो फिल्म। खैर, कथाका यस्ता अनेक परिभाषाबीच शाम्बालाको कथालाई धर्तीमा स्वर्ग भेटाउन गरिएको एउटा यात्राको कथा हो भन्दा सबैभन्दा नजिक र सान्दर्भिक हुनसक्ला।
निर्देशन
एउटा बिन्दुमा आइपुगेर स्क्रिनमा झ्याप्प पर्दा लाग्छ। दर्शकलाई लाग्छ फिल्म आधाबाटो पुगेछ! तर, केही सेकेन्डमै थाहा लाग्छ, निर्देशक भामले शाम्बालाको यात्रा त थालेकै रहेनछन्। यतिन्जेल त उनी शाम्बाला जाने रोड्म्याप पो कोर्दै रहेछन्! यस काइदाले दर्शकहरूलाई दुई कित्तामा बाँडिदिनेछ। एउटा कित्ता 'अब सुरु भयो!' भनी हौसिनेछ भने अर्को कित्ता 'बल्ल पो सुरु भएको?' भनी आत्तिनेछ।
भामको निर्देशकीय पक्षलाई केलाएर हेर्ने हो भने उनको काममा ह्युमर भेटिन्छ तर, निश्चित मात्रामा र प्राकृतिक स्वरूपमा। सँगै अर्थपूर्ण ढङ्गमा। उदाहरणका लागि, एउटा बिन्दुमा गुम्बा फर्कँदै गरेको कर्मासँग पेमा भन्छे- मेरो घोडा लैजाऊ। कर्मा पन्छिन्छ- भिक्षुहरू घोडा चढ्दैनन्। स्कुले फुच्चे दावा प्याच्च बोलिदिन्छ- जान्नु पनि पर्यो नि घोडा कुदाउन! दावाको यो सामान्य डायलगले दर्शकलाई थोरै सही तर, प्राकृतिक रूपमै हसाउँछ। र त्यो घोडा चढ्नु यहाँनेर सोझो अर्थमा त आएको छ नै तर, दर्शकले यसलाई बङ्ग्याएर बुझ्दा पनि नबिग्रने ठाउँ निर्देशकले यथेष्ट छोडेका छन्।
नवविवाहित जोडीले चुम्बन गर्दागर्दै थाल चाटिरहेको र क्रमश: भर्खर पाकेको तातोतातो मासु मीठो मान्दै खाएको दृश्य अनि तिनलाई पछ्याउँदै आउने संवाद र श्वासको आरोह अवरोह! यी नियोजित दृश्यहरूको कलात्मकता समेत प्राकृतिक लाग्छ। किनभने, यी दृश्यले (दर्शकमा रोमाञ्च पैदा गर्ने कुरा त छँदैछ) खासगरी टासी र कर्माबीचको स्वाभाविक भिन्नताबारे दर्शकलाई थाहा दिन्छ। दावाको उमेर, समझ र स्वभावको अवस्थाबारे जानकारी दिन्छ। सँगै पेमासँग यी तीनै पात्रको सम्बन्ध कस्तो हुनेछ त्यो समेत थाहा दिन्छ। र यो थाहा दिनु आवश्यक किन छ भने अगाडि उसको गर्भमाथि प्रश्नको चोर औंला सोझिनेवाला छ।
टासीको खोजीमा हिँडेका पेमा र कर्मा बस्तीका मान्छेहरूसँग सोध्छन्- यस्तो घोडा देखेका छौ? उनीहरू भन्छन्- त्यस्तो घोडा त कति हुन्छन् कति! यो नाम गरेको मान्छेले त्यस्तो घोडा कुदाएको नि? पेमा फेरि सोध्छे। जवाफ फेरि पनि उस्तै आउँछ। यो संवादले दुवैपटक दर्शक हँसाउँछ। तेस्रोपटक कर्मा सोध्छ- पुछार बाटेको घोडा देखेका छौ? अघिल्लाभन्दा कडा जवाफ फर्काएको भए यतिबेला दर्शकहरू अझै जोडले हाँस्न सक्थे कि? तर, भामलाई दर्शक हँसाउन नै संवाद लम्ब्याउनु छैन। बस्तीका मान्छेहरू तेस्रोपटक चुपचाप बसिदिन्छन्। स्वाभाविक रूपमै झिँझिदिन्छन्, मौन भइदिन्छन्। कतिसम्म भने ती को थिए पनि दृश्यमा देखिँदैन। घर देखिन्छ र घरभित्रबाट आवाज आउँछ। बस्! घरभित्र कोही पक्कै छन् भन्ने थाहा दिन र विश्वास दिलाउन बरु घरबाहिर भेडाहरूलाई दैनिकीमा चलायमान देखाइएको छ।
एउटा बिन्दुमा नाम्खा हराउँछ। पेमा उसको नाम चिच्याउँदै खोजिहिँड्छे। पेमाले नाम्खालाई खोज्दैगर्दा फ्रेमभित्र पेमा स्वयं पनि अटाउँदिन। बरु चारैतिर व्यापक फैलिएको हिमालको सन्नाटा देखिन्छ। सुनसान र अफ्ठ्यारो भिरालो हिमाली बाटो! त्यस्तो विस्तीर्ण हिमालको चकमन्नमा कहाँ कहाँ मात्र खोजोस् पेमाले नाम्खालाई? बिनासंवाद पनि यसरी दर्शकसँग दृश्य मात्रलाई समेत कुरा गराउन सकेका छन् भामले।
पेमाले तीर हान्दै गरेको दृश्यमा खालि उसको शारीरिक हाउभाउ, अनुहारको भंगिमा देखिन्छ र त्यसपछि एउटा आवाज सुनिन्छ। त्यति नै देखेको र सुनेको भरमा दर्शकले बुझ्नेछन् पेमाको तीर निसानामा लाग्यो, लागेन।
यस्तै, समाजले पेमालाई दिएको मानसिक यातनालाई संवाद र घटनामार्फत् नभएर उनले सपनाको माध्यमबाट देखाएका छन्। सक्दो कम बोलेर दृश्यको माध्यमबाट कथा भन्ने प्रयास निर्देशक भामले गरेको देखिन्छ।
वृत्तचित्र?
त्यसो त सिनेमा प्राकृतिक लाग्नुको पछाडि भामको अर्को एउटा शैली देखिन्छ। अल्लि अघितिरै हुनुपर्छ ल्हासाबाट आएको चिठी हात परेपछि टासी खेतमा काम गरिरहेका गाउँलेहरूलाई भेला हुन खबर गर्छ। तर, सबैजना भेला हुन्जेल पर्खेर मात्र ऊ चिठी खोल्दैन। गाउँलेहरू भेला हुँदै गर्दा नै ऊ चिठी खोलेर पढ्न थालिसक्छ।
यस्तै स्वाभाविकता अर्को एउटा दृश्यबाट पनि उदाहरण लिन सकिन्छ। ल्हासा हिँडेको टासीलाई बिदाइ गर्न उभिएको दावा भारी मन लिएर नाडीले अनुहार छोपेर निकैबेर घोसेमुन्टो लगाइरहन्छ। त्यसपछि, हठात् स्थितिबोध भएझैं कसैको लोग्ने भइसकेको नाबालक ऊ लाज पचाउन आफूलाई अलग्गै लगेर उभ्याइदिन्छ। बालसुलभतावश ढुङ्गा टिपेर अनाहकमा बेनिसान कतै हान्न खोज्छ। तर, हानिहाल्दैन। सायद, अब ऊ त्यति पनि केटाकेटी होइन कि?
बिदाइ सकिएसँगै पल्लो डाँडाबाट राम सर उसलाई बोलाउँछन्। ऊ आज्ञाकारी छात्रझैं हठात् कुद्छ पनि। तर, ऊ कता कुद्दैछ? पढ्न? पढाइ सम्झनासाथ ऊ फेरि एकपटक दोमन भएर रोकिन्छ। जाऊँ कि नजाऊँ? केहीबेर घोत्लिएपछि बल्ल ऊ फेरि स्कुलतिर लाग्छ। यस किसिमले पात्रहरूलाई खोस्रेर, खोतलेर उसको मनोविज्ञानका मिहीन पत्रहरू केलाएर दृश्यहरूको परिकल्पना गरिँदा त्यसमा स्वाभाविकपना आएको छ, हलुङ्गोपना आएको छ। कति दृश्यमा त दर्शकलाई थाहै पनि हुँदैन कुन पात्र कतिबेला आयो, के गर्यो र गयो! खालि तिनले छोड्ने प्रभाव मात्रै हृदयमा छापिन्छ, सुटुक्क!
यो किसिमको स्वाभाविकपना नेपाली मात्र होइन विश्व सिनेमाकै दृश्यहरूमा भेटिनु पनि दुर्लभ हो। जसकारण स्वाभाविकता पनि हुनु र घरदेशकै (देखेसुनेकै) पात्रका कथा भनिनुले कतै यो आख्यान नभएर वृत्तचित्र त होइन? भन्ने भान पनि गराउन सक्छ। रोचक कुरा के पनि हो भने, यस्तो भान हुनु पनि आफैमा एउटा स्वाभाविक कुरा हो। किनभने, वृत्तचित्र पनि कथा नै हुन् जसका घटना तथा पात्रहरू यथार्थ हुन्छन्। र कथा त्यसरी भनिएको वृत्तान्त हो जसले कल्पनालाई समेत यथार्थ महसुस गराउने क्षमता राख्छ।
चित्रकला?
सार्वजनिक भएसँगै फिल्मका फ्रेमहरूलाई चित्रकलासँग दाँजेर हेरिँदैछ। आउनुस्, हामी पनि यसका दृश्यहरूले सम्झाउने/सम्झाउन सक्ने केही चित्रकलाका कुरा गरौँ।
जब दावा पेमालाई राम सरसँग जोडेर वचन लगाई रिसाउँदै छुट्टिन्छ, पेमा मानौँ हायलकायल हुन्छे। पहिलो कुरा त हल्ला आफ्नो घरभित्र घुस्नुसँग उसलाई डर लाग्छ। त्यसपछि ऊ यो सम्झिएर हैरान हुन्छे कि यो कुरा दावाको कानमा परेको छ। त्यस्तो उमेरको एउटा बालक जसलाई बच्चै त हो नि भनी आलटाल गरेर न त भुल्याउन नै सकिन्छ। न त ठूलो भइसक्यो मानी खुलेर यथार्थ बुझाउन नै सकिन्छ। यस्तो स्थितिमा पेमालाई पक्कै चिच्याउन मन लाग्दो हो! त्यो पुलमा हतास उभिएर रिसाई हिँडेको दावालाई हेर्दै ऊ मनैमन त कसो चिच्याइन होला र? तपाईं सिनेदर्शकसँगै चित्रकलाप्रेमी पनि हो भने यो दृश्यमा नर्वेजियन चित्रकार एड्वार्ड मन्चको पेन्टिङ 'द स्क्रिम'लाई पक्कै पनि सम्झिनुहुनेछ।
यस्तै, कथालाई आध्यात्मिक स्वाद दिन सपनाका दृश्यहरूमा कोमलपना ल्याउन खोजिएको पाइन्छ। किंवदन्ती र मिथकहरूसँग जोड्न सपनाकै केही दृश्यमा नजानिँदो गरी खियाको रङ (रेडिस ब्राउन) घोलिएको पाइन्छ। जसले कथाको वर्तमानलाई र इतिहासको प्राचीनतासँग जोडिएको महसुस गराउँछ। सपनाका अधिकांश दृश्यहरूले स्विस चित्रकार हेनरी फुसेलीका कामहरू सम्झाउँछन्।
त्यस्तै, पेमा र कर्माले यात्रामा पहिलोपटक एकअर्काको अस्तित्व स्वीकारेको एउटा क्षण छ। जहाँ कर्मा ढुङ्गाको सानोतिनो एउटा पहाडको टुप्पोमा बसेर टुङ्ना बजाइरहेको छ र तल भुइँमा उभिएर पेमा उसलाई गीत गाएर साथ दिइरहेकी छ। ढुङ्गाको त्यही पहाडको अर्को छेउको टुप्पोमा साँढेको खोपडी देखिन्छ। र त्यही नै दृश्यमा उनीहरूको खोजी यात्राले पनि पहिलो उपलब्धि फेला पार्छ- टासी नजिकै हुनुपर्छ भन्ने सङ्केत! र यही सिक्वेन्समा एउटा दृश्य छ जहाँ आकाशमा गिद्धहरू उडिरहेका छन्। जुन उडान अर्थपूर्ण पनि छ। खैर, यस सिक्वेन्सका दृश्यहरूले तपाईंलाई भ्यासिली भिरिसागिसको पेन्टिङ 'दि एपोथिसस अफ वार' सम्झाइदिनसक्छ। आखिर यस यात्रामा पनि पेमा र कर्मा आफैभित्र एउटा युद्ध नै त लडिरहेका छन्। आशा र डरको अन्तर्द्वन्द्वमा हेलिँदै पेमा हिँडिरहिछ भने गुम्बा कि घर शीर्षकको अर्को अन्तर्द्वन्द्व कर्मा पनि त लड्दैछ।
यी बाहेक ल्यान्डस्केपलाई हेर्ने हो भने सिनेमाका अधिकांश दृश्य इम्प्रेसनिस्ट पेन्टिङजस्ता देखिन्छन्। उज्याला तर, नम्र। कति अँध्यारा लाग्ने दृश्यमा पनि गाढापना छ तर, सँगसँगै न्यानोपना पनि छ। जसरी इम्प्रेसनिस्ट चित्रकारहरू प्रकाश र वातावरणमा विशेष ध्यान दिन्छन्, शाम्बालाका दृश्यहरूमा पनि प्रकाशमा पहेंलो बत्तीको प्रयोग ठाउँठाउँमा गरिएको छ। वातावरणको विस्तृत वर्णनमा पनि उत्तिकै ध्यान दिइएको छ। बाफ, धुँवा, धुलो त कतै हिउँको प्रयोग गरेर पनि पात्रको हृदयभित्रको माहोल दर्शकसामु चित्रण गरिएको छ। भन्न सकिन्छ, फिल्मका प्रायः फ्रेमहरू क्लाउड मोनेका पेन्टिङहरू जस्तै देखिन्छन्। फिल्मको अन्तिममा देखिने कमलको फूलले पनि उनकै 'वाटर लिलिज' सिरिजका चित्रकलाहरू सम्झाउँछन्।
बिम्ब
सिनेमा हेर्दा कथावाचन, पात्र लेखनदेखि लिएर सिनेम्याटोग्राफी र ध्वनि पनि उत्तिकै सुन्दर महसुस हुन्छ। तर यहाँनेर बिम्बात्मक पाटोको कुरा गरिहालौँ।
मोनेकै 'पपिज फिल्ड' सिरिजका चित्रकलाहरू सम्झाउँछ फिल्मको अर्को एउटा दृश्यले जहाँ पेमा पेहेँला फूल टिप्दै हुन्छे। टासीलाई बिदाइ गरेसँगै नाबालक लोग्ने दावासँग घरमा एक्लै परेकी पेमा पहिलोपटक बगैँचामा भेटिन्छे मनेटकी पेन्टिङ पात्र क्यामिल (जो उनकी पत्नी पनि थिइन्)सम्झाउने गरी। उक्त पेन्टिङ चिनेका दर्शकले पेमालाई क्यामिलसँग तुलना गर्नेछन् भने दावालाई क्यामिलको छोरोसँग, जो 'पपिज फिल्ड' पेन्टिङमा आफ्नी आमासँगै उभिएका छन्। यसरी हेर्दा बिम्बात्मक रूपमा निर्देशक भामले 'पेमा र दावाबीचको सम्बन्ध आमा र छोराबीचझैं हो है' भन्न खोजेको महसुस हुन्छ।
रङ र बिम्बलाई नै जोडेर हेर्दै गर्दा अर्को एउटा कुरा पेमा र राम सरबीच पनि भेटिन्छ। पेमा र राम सरले उस्तै (गाढा हरियो र निलो) रङको लुगा लगाउनुले नजानिँदो गरी 'उनीहरूबीच साँच्चै नै कतै केही त छैन?' भन्ने रहस्य पैदा भइदिन्छ।
त्यसो त सुरुमा उज्यालो निलो ज्याकेट लगाएको राम सरले बिस्तारै त्यसमाथिबाट घुर्मैलो निलो ज्याकेट लगाउनु र बिस्तारै त्यस रङलाई पनि छोडेर पेमाले लगाएकै जस्तो गाढा हरियो रङको ज्याकेट लगाउनु! तर, फिल्म हेरुन्जेल दर्शकलाई कुनै पनि बेला पेमाको रङसँग मिलाउनकै लागि राम सरलाई पहिरनको रङ बदल्न लगाएको जस्तो महसुस नै हुँदैन। किनभने, निलो र हरियोबीचको तीनवटा सेडको वरिपरि मात्र रहेर ट्रायडिक कलर स्किमको प्रयोग गर्दा त्यो बदलाव आँखामा बिझाउँदैन। यसले जे भइरहेछ अति स्वाभाविक भइरहेछ भन्ने महसुस गराउँछ। 'राम सर र पेमाबीच साँच्चै नै केही छ कि?' भन्ने सोच्दा पनि दर्शकलाई त्यसप्रति त्यति ठूलो आपत्तिबोध भइदिँदैन।
बिम्बकै कुरा गर्दै गर्दा रङलाई छोडेर क्यामराको खिचाइतर्फ पनि जाऊँ। भर्खर विवाह गरेर पेमालाई घर भित्र्याएको टासीले जुत्ता झुण्ड्याएको पहिलो दृश्य भित्रबाट लिइएको थियो भने पेमाप्रति अविश्वास जन्मिसकेपछि टासीले जुत्ता झुण्ड्याएको उस्तै दृश्य बाहिरबाट लिइएको छ। यी दुई खिचाइले पेमा घर भित्रिएको र घरबाट बाहिरिएको सङ्केत त गरेका छन् नै साथमा पेमाको हृदयभित्रबाट टासी बाहिरिएको कुरा पनि बिम्बित गरेका छन्।
दर्शन
पेमाको हिमाल यात्राजस्तै जसलाई खोजिहिँडे पनि अन्त्यमा आफैलाई भेटाउनु नै गन्तव्यमा पुग्नु भएजस्तै शाम्बालाको बारेमा सांसारिक कुरा जति गरे पनि अन्त्यमा अध्यात्मसँग ठोकिए मात्रै फिल्मको सार भेटिन्छ।
सुरुवातमै एउटा प्रश्न जन्मिएको थियो नि! पेमा आखिर समर्पण रुचाउने स्वास्नीमान्छे हो या स्वाधीनता मनपराउने? त्यसको जवाफ खोज्ने प्रयास गरौँ है त।
आफ्नो विवाहको माहौल सजाउन सेता लुङ्दर टाँगिरहेकी पेमाले पहिलोपटक बोलेको वाक्य नै यही हो- यो काम म आफैले गर्न चाहन्छु! अर्थात् ऊ त पहिलो दिनदेखि नै कसैको अधीनमा छँदै थिइन। आफूले चाहेको कुरा गर्न उसलाई कसैको अनुमति वा स्वीकृतिको पर्खाइ आवश्यक थिएन। ऊ पहिलो दिनदेखि नै स्वाधीन थिई।
यस्ती पेमा, टासी ल्हासा गएपछि बादल हेर्दा पनि टासीकै घोडा देख्छे। टासीकै सम्झना र कल्पनामा तल्लीन रहन्छे। अर्थात् ऊ समर्पित पनि थिई।
हो, ऊ स्वाधीन र समर्पित एकसाथ थिई। ऊ सुरुदेखि नै सन्तुलित थिई। सायद कर्मालाई रिम्पोचेले भनेजस्तै- असली भिक्षु उही हो जसले संसार र गुम्बाबीच सन्तुलन मिलाउन सक्छ। सांसारिक जिम्मेवारीबाट पलायन नभएरै आध्यात्मिक रहन सक्नु नै साँचो भिक्षु हो। सायद पेमा पनि पहिल्यैदेखि त्यस्तै भिक्षु थिई- बाँधिएर पनि स्वतन्त्र। र यही कुरा उसले बुझ्न बाँकी थियो जुन उसलाई टासी खोज्ने बहानामा हिमाल यात्राले बुझाइदियो।
अफ्ठ्यारोभन्दा अफ्ठ्यारो स्थितिमा पनि साथ पाइसकेको कर्मालाई उसले बन्धनबाट मुक्त गरिदिई। परिस्थिति र समाजले आफ्नो काँधमा थोपरिदिएको बोझ उठाइदिन आएको राम सरको निर्दोषिताको फाइदा पनि उसले उठाउन चाहिन। जसरी आफ्नो विवाहको दिन लुङ्दर आफै टाङ्ग्दै थिई त्यसैगरी यात्राभरि आएका हरेक समस्यासँग पेमा आफै जुधिरही।
अब टासीको कुरा गरौँ। 'ॐ मणि पद्मे हूँ' जप्ने पात्र फिल्ममा कोही छ भने त्यो टासी हो। ऊ आफूलाई संसारिक जीवनमै रहेर पनि पवित्र र चोखो ठान्छ। भन्छ- फलानीसँग संगत नगर्नू, त्यसको धेरैसँग लसपस छ।
होला, ऊ पेमालाई बाहेक कुनै स्वास्नीमान्छेलाई नहेर्दो हो, नछुँदो हो। पेमालाई सुख दिनु नै उसको जीवनको एक मात्र उद्देश्य पनि हुनसक्ला। तर, उसको बफादारीले पनि उसलाई प्रेममा समर्पित बनाउन सकेन। ऊ आफ्नी स्वास्नीको बारेमा आफ्नो पनि होइन अर्को गाउँको कुनै ऐरेगैरेले भनेको कुरा सुनेकै भरमा आँखा चिम्लिएर विश्वास गरिदिन्छ। आफ्नो प्रेमप्रति उसलाई यति आशंका उब्जिदिन्छ कि ऊ पेमासँग यतिसम्म भन्न भ्याउँछ- यो मेरै बच्चा भए पनि फ्यालिदेऊ! मन्त्र जप्दैमा कोही बुद्ध किन पो हुनेहेछ र होइन?
अनि कर्मा? के ऊ रिम्पोचेले भनेजस्तै सफल भिक्षु हुन सक्यो त? ऊ रिम्पोचेले होइन खाली आफैले भनेजस्तो भिक्षु हुन पनि सकेन। दुई दिन पेमाको संसर्गमा रहिसकेपछि उसलाई रिम्पोछे र गुम्बा छोडेर पेमासँगै घरजम गरेर बस्न मन भयो। फेरि अर्को क्षण उसलाई गुम्बाको यादले पश्चातापको महसुस भयो। घोडा चढ्न सिकेर घरजम गर्ने निर्णय गरिसकेको कर्मा पेमाले गुम्बा फर्की भन्दा मानौँ उडेर फर्किन्छ, हावाको गतिमा। गर्भवती स्वास्नीलाई हिमालको चिसो र चकमन्नमा छोड्ने कस्तो भिक्षु हो कर्मा? जब कि रिम्पोचे स्वयंले उनलाई विवाहको दिन नै भनेका थिए- 'टासीले नसकेको खण्डमा पेमाको सुरक्षा गर्ने जिम्मेवारी तिम्रो हो।'
त्यसो त पेमाले सपनामा आफू शाम्बाला भएको कुरा सुनाउँदा रिम्पोचेले कर्माकै अघि भनेका पनि थिए- 'शाम्बाला, मैले पुनर्जन्म लिन चाहेको ठाउँ हो।'
सायद, कर्माले गुम्बा फर्किनुको साटो गर्भवती पेमाको सेवा गरेको भए पनि रिम्पोचेकै सेवा पो गरेको हुनेथियो कि?
जे होस्, समाजले जति हिलो छ्याप्न खोजे पनि, आफूलाई चिनेकी पेमा (कमलको फूल) आखिर आफ्नो नामजस्तै सजिएर फुल्न समर्थ भई। टासीले पनि आफैले जपिरहने मन्त्र 'ओम् मने पेमे हुम्' अर्थात् 'ॐ मणि पद्मे हूँ' को अर्थ बुझेको भए? तब, ऊ पनि समस्यादेखि भाग्ने वा लुक्ने थिएन कि? त्यस्तो चङ्गाझैं हलुङ्गो मन लिएर ठाँटिएर घरबाट निस्किएको ऊ विक्षिप्त हुलिया र रुग्न मन लिएर फर्कने थिएन कि?
Shares
प्रतिक्रिया