ad ad

समाज


भगौडा सैनिकले धनमायाको हत्या गरेको खुलासा, चुँडिएको पोते पछ्याउँदै प्रहरी पुग्यो घटनास्थल

भगौडा सैनिकले धनमायाको हत्या गरेको खुलासा, चुँडिएको पोते पछ्याउँदै प्रहरी पुग्यो घटनास्थल

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १८:१४, काठमाडौँ

सिन्धुपाल्चोकको बलेफी १ मेलडाँडाकी धनमाया श्रेष्ठको हत्या भगौडा सैनिकले गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले हत्या आरोपमा पूर्वसैनिक जवान गोपाल भन्ने रनबहादुर गाहालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

३७ वर्षका रनबहादुर पछिल्लो समय तल्लो बलेफी हाइड्रोपावरमा मजदुरको रुपमा कार्यरत थिए। गुल्मी कालीगण्डकी गाउँपालिका ४ घर भएका रनबहादुर २०६५ सालतिर रुपन्देही सैनामैना ९ बिहानीटोल बसाई सरेका थिए।

उनैले ५७ वर्षकी धनमाया श्रेष्ठको हत्या गरेको निस्कर्षमा प्रहरी पुगेको हो।

भदौ २५ गते राति धनमायाको हत्या भएको खुलेको छ।

घटना भइसकेको भोलिपल्ट परिवारले भने धनमाया हराएको भन्दै इलाका प्रहरी कार्यालय गोल्छे यलम्बु जलविरेमा मौखिक रुपमा सूचना दिएका थिए। त्यसको भोलिपल्ट धनमायाकी छोरी पार्वती श्रेष्ठले खोजतलासका लागि निबेदन दिएकी थिइन्।

सूचना प्राप्त हुनासाथ हराएकी भनिएकी धनमायाको खोजि सुरु गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए। प्रहरीले चुडिएको पोतेको सहारामा घटना पत्ता लगाएको थियो।

घरदेखि उत्तरतर्फ रहेको गोरेटो बाटोदेखि ब्रम्हायणी खोलाको डिलसम्म चुँडिएको अवस्थामा धागो सहितको पोतेका दानाहरु ठाँउ–ठाँउमा फेला परेका थिए। सोही आधारमा घटनाको बेलुका धनमायासँगै बसेका रनबहादुरलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो।

उता सबै प्रहरी ईकाइ र अन्य जिल्ला प्रहरी कार्यालयहरुमा पनि हराएकी भनिएकी धनमायाको हुलियासहित खोजतलासका लागि परिपत्र गरिएको थियो।

घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुर पनि लगिएको थियो। ब्रम्हायणी र सुनकोशी नदीमा र्‍याफटिङ संघ, एपीएफसँग सहकार्य गरि गोताखोर समेतको टोलीबाट पनि खोजतलास भएको थियो।

२६ गते दिउँसो ४ बजेको समयमा सिन्धुलीको सुनकोसी गाउँपालिका २ सादीपाखास्थित नदीमा एक जना महिलाको शव फेला परेको थियो।

शवजाँच मुचुल्का गरे पनि सनाखत हुन सकेको थिएन।

शवगृहमा राखिएको शवको २९ गते साँझ साढे ६ बजे प्रहरीचौकी कुशेश्वर दुम्जा सिन्धुलीबाट जानकारी सिन्धुपाल्चोक प्रहरीलाई जानकारी गराएको थियो।

भदौ ३० गते मृतकको आफन्त तथा घरपरिवारले शवको सनाखत गरेसँगै धनमायाको मृत्यु भइसकेको खुलेको थियो।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। रनबहादुरमाथि मुलुकी अपराधी संहिता २०७४ को ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाइएको पनि एसपी खड्काले जानकारी दिए।

रनबहादुरले प्रारम्भिक रुपमा सोधपुछका क्रममा घटना कसरी भयो भन्ने पनि बताएका छन्। उनले प्रहरीलाई बताए अनुसार २५ गते बेलुका मृतक धनमाया श्रेष्ठकै घरमा उनका छोरा कमलदास श्रेष्ठ र रनबहादुरले मदिरा सेवन गरेका थिए।

मदिरा खाँदै गर्दा रनबहादुर थप मदिरा लिन बाहिर गएका थिए। त्यतिबेला कमलदास भने त्यहाँबाट आफ्नै घर फर्किसकेका थिए।

रनबहादुर र धनमायाले थप मदिरा सेवन गरे। त्यसक्रममा बिबाद भयो। बिबादकै क्रममा धनमायाले लगाएको पोतेमा तान्दा चुँडिएको र आफूले लखेट्दै ब्रम्हायणी खोलाको डिलसम्म पुर्‍याएको रनबहादुरले बताएका छन्।

खोलाको डिलमा पुगेपछि ब्रम्हायणी खोलामा घचेडी दिएको उनले प्रहरीलाई बताएका छन्। ३७ वर्षका रनबहादुरले आफू पूर्व सैनिक भएको पनि बताएका छन्। २०६१ सालमा नेपाली सेनामा भर्ना भएका उनले साढे २ वर्ष काम गरेर भागेको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .