ad ad

राजनीति


आइतबार साढे ५ बजे ओली–मोदी भेटका लागि नेपालको प्रस्ताव

भारतले दिएको छैन जवाफ
आइतबार साढे ५ बजे ओली–मोदी भेटका लागि नेपालको प्रस्ताव

नेपालखबर
भदौ ३१, २०८१ सोमबार १८:२८, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुगेकै साँझ भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटघाटका लागि नेपालले समय प्रस्ताव गरेको छ। 

संयुक्त राष्ट्र संघको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली ४ असोजमा न्युयोर्क प्रस्थान गर्दैछन्। उनी ६ असोजमा न्युयोर्क पुग्नेछन्। 

मोदी पनि त्यसैदिन अमेरिकाको विल्मिङ्टनबाट न्युयोर्क पुग्ने कार्यक्रम छ। 

राष्ट्रसंघको आयोजनामा त्यसै (आइतबार) दिनबाट ‘समिट अफ द फ्युचर’ सुरु हुँदै छ। सो समिटका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि न्युयोर्क पुग्ने योजना छ। 

मोदी एक रातमात्र न्युयोर्कमा रहने कार्यक्रम छ। 

अमेरिकाको विल्मिङ्टनमा हुने क्वाड राष्ट्र (अमेरिका, अस्ट्रेलिया, जापान र भारत) को बैठकमा सहभागी भएर मोदी न्युयोर्क जान लागेका हुन्। 

मोदी र ओली पुगेकै दिनका लागि दुई प्रधानमन्त्रीबीच भेटघाटको समय नेपालले प्रस्ताव गरेको हो। 

‘६ असोज (२२ सेप्टेम्बर) साँझ साढे पाँच बजे (स्थानीय समय) का लागि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री भेटघाटको प्रस्ताव गरिएको छ,’ स्रोतले भन्यो, ‘मोदी त्यही साँझमात्र न्युयोर्कमा रहने भएकाले त्यो समय प्रस्ताव गरिएको हो।’ 

नेपालले समय प्रस्ताव गरे पनि भारतीय पक्षले भने मोदी–ओलीबीच भेटवार्ताको समय मिलाउन सकिने–नसकिनेबारे कुनै जवाफ दिएको छैन। 

नेपालमा सरकार परिवर्तन लगत्तै नयाँदिल्लीले भारत भ्रमणको निम्तो दिने प्रचलन भए पनि ओली प्रधानमन्त्री निर्वाचित भएको दुई महिना पुग्दासमेत ओलीले भ्रमणको निम्तो नपाएपछि न्युयोर्कमा समेत ओली–मोदीबीच भेट हुनेमा आशंका बढेको छ।  

प्रधानमन्त्री ओलीले भने भारतीय समकक्षी मोदीलाई दुईपटक नेपाल भ्रमणको निम्तो दिइसकेका छन्। 

अघिल्लो महिना नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीमार्फत् ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तो पठाएका थिए। 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नयाँदिल्ली भ्रमणका क्रममा पनि मोदीलाई नेपाल भ्रमणको लिखित निम्तो दिइएको थियो। 

दुईदुईपटक भ्रमणको निम्तो पाए पनि न मोदीले चाँडै नेपाल भ्रमण गर्ने जनाउ दिएका छन्, न त ओलीलाई नै भारत भ्रमणको निम्तो दिएका छन्। 

भारतले भ्रमणको निम्तो नदिए पनि भदौ तेस्रो साता ब्याङ्कक (थाइल्यान्ड) मा हुने तय भएको बिम्स्टेक राष्ट्रहरूको सम्मेलनमा मोदीसँग भेट हुने ओलीको अपेक्षा थियो। 

तर, थाइल्यान्डमा सरकार परिवर्तनका कारण बिमस्टेक सम्मेलन स्थगित भयो, जसका कारण ओली–मोदीबीचको सम्भावित भेट टर्न पुग्यो। 

नेपालले प्रस्ताव गरे बमोजिम मोदी–ओलीबीच आइतबार (६ असोज) मा न्युयोर्कमा भेटवार्ताको अपेक्षा त छ। तर, अहिलेसम्म जवाफ नआएकाले यसपटक पनि भेटवार्ता नहुने हो कि भन्ने आशंका पनि त्यत्तिकै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .