नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता बीपी कोइरालाको दर्शन, सोच र चिन्तनलाई पूर्णरुपले अनुसरण गरी पार्टीलाई अझ बढी सुदृढ बनाउनुपर्ने बताएका छन्।
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १११औँ जन्मजयन्तीका अवसरमा आज नेपाली लेखक सङ्घ काठमाडौं शाखाले बीपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजना गरेको साहित्यिक महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले बीपीले प्रजातन्त्रका लागि गरेको सङ्घर्षबाट पार्टीका नेता, कार्यकर्ता एवं शुभेच्छुकले प्रेरणा लिनुपर्ने बताए।
बीपीले प्रजातन्त्र स्थापना एवं पुनःस्थापना, नेपालको दिगो विकास र नेपाली साहित्यमा पुर्याएको योगदानलाई देशव्यापीरुपमा प्रचारप्रसार गरी कांग्रेसलाई थप सशक्त बनाउने अभियानमा लाग्न सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
बीपी कोइरालाको राष्ट्रिय एकता तथा मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै उनले कांग्रेसले सधैँ सबै दलबीच मेलमिलापका लागि समन्वय गर्दै आएको बताए।
बीपी कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको थियो। जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशमशेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो। बीपी बाल्यावस्थादेखि नै नेपालमा प्रजातन्त्र स्थापनाका लागि सक्रिय रहेका थिए।
विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे। प्रधानमन्त्रित्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए।
विसं २०२५ मा स्वास्थ्यपरीक्षणका लागि जेल मुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए। भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी उनी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्के। उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ।
मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि नै बहुदल वा सुधारिएको पञ्चायत भन्ने विकल्पमा जनमत सङ्ग्रहको वातावरण बन्यो। धाँधली गरेर बहुदललाई हराएको भनी देशव्यापी गुनासो भए पनि बीपीले निर्वाचन परिणामलाई स्वीकार गरे।
क्यान्सर रोगबाट बीपीको २०३९ साउन ६ गते निधन भएको थियो। बीपीको निधनपछि कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले साउन ६ गते स्मृति दिवस र भदौ २४ गते जन्मजयन्ती मनाउँदै आएका छन्। यसैगरी बीपीले राष्टिय एकता तथा मेलमिलापको नीति लिई २०३३ पुस १६ गते भारत निर्वासन त्यागी नेपाल फर्केको सम्झनामा मेलमिलाप दिवससमेत मनाउने गरिन्छ। रासस
Shares

प्रतिक्रिया