ad ad

राजनीति


म बाहिरको जति पनि प्रहार खेप्छु, भित्रबाट प्रहार नगर्नुस्: रवि लामिछाने

म बाहिरको जति पनि प्रहार खेप्छु, भित्रबाट प्रहार नगर्नुस्: रवि लामिछाने

नेपालखबर
असोज १, २०८१ मंगलबार १०:५९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाको आगमन पुराना पार्टीको लागि टाउको दुखाइको विषय भएको बताएका छन्। 

रास्वपाको आजदेखि काठमाडौँमा सुरु भएको केन्द्रीय परिषदको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेको भने, ‘हाम्रो आगमन नै अरुका लागि टाउको दुखाइको विषय बन्यो। हामीले बहुमत नल्याउँदासम्म उहाँहरुको टाउको दुखिरहन्छ।’

उनले रास्वपाको हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि भएको बताए।  ‘हाम्रो हस्तक्षेप नागरिकको अवस्था परिवर्तनका लागि हो। कसैलाई आक्षेप लगाउन होइन,’ सम्बोधनको क्रममा लामिछानेले भने, ‘तर, राजनीतिकको नाममा मौलाएका विकृति–विसंगतिको विरोध गर्दा कसैलाई आक्षेप लाग्छ भने हामीलाई के भन्नु!’ 

उनलले कतिपयले रास्वपा सकियो भनेर प्रचार गरिरहेको पनि बताए। ‘रास्वपा सकियो भनेर गरिएको प्रचार हामीविरुद्ध गरिएको कुप्रचार हो। सदनमा हेर्नुस्, छोटो समयको सरकारमा रहँदाको काम हेनुस्,’  उनले भने, ‘दुई ठूला दल हाम्रै कारणले सरकार बनाउन मिल्नुपर्ने बाध्यतामा पुगे भने हामी कसरी सकियौँ? हामी त झन् फैलँदै छौँ।’ 

उनले २०७९ को चुनाव आफ्नो लागि २०८४ मा चुनाव लड्नको लागि दिएको निम्ता कार्ड मात्रै भएको तर्क गरे। ‘निम्ता दिँदा त राष्ट्रिय पार्टी बन्यौँ भने चुनावै लड्दा त के होला?,’ उनको प्रश्न थियो। 

उनले संसदीय समितिले दिएको निश्कर्षमा कतिपयलाई चित्त नबुझेको बताए। ‘किनभने, उनीहरुले चाहेअनुसार संसदीय समितिले प्रतिवेदन दिएन। सहकारीको पैसा ल्याउन मेरो भूमिका थिएन। समितिले पनि देखिएन भन्यो त किन स्वीकार्न गाह्रो भयो?’ उनले भने। 

उनले सहकारीबाट अब सन्दर्भ गोरखा मिडियातिर कुरा मोडिने तर्क गरे। ‘गलत नगर्दा जता मोडियोस् के मतलब? केही साथीहरुले ‘प्रमाण छ–प्रमाण छ’ भन्दै थिए। त्यो होइन रहेछ। उनीहरुले त ‘प्रणाम छ–प्रणाम छ’ भनेका पो रै’छन्,’ लामिछानेले भने। 

कतिपयलाई रवि लामिछानेलाई लडाउन सके रास्वपा सकिन्छ भन्ने लागेको बताए। ‘रवि नभए पनि रास्वपा अब अभियानका रुपमा अगाडि बढ्छ,’ लामिछानेले भने, ‘घण्टी चुनाव चिन्ह मतपत्रमा कहिल्यै नमेटिने गरी बसिसक्यो, कसले हटाउन सक्छ? रास्वपालाई हराउने, लडाउने भनेको चुनावमा मात्रै हो, विरोधीले सक्दो तयारी गरुन्।’  

दुई दल मिलेर दुई तिहाईको सरकार बनाएको प्रसंग झिक्दै उनले जनताको पक्षमा काम गरेर आफूहरुको आवश्यकता र औचित्यलाई गलत सावित गर्न चुनौति दिए। 

आफू बाहिरको प्रहार जति पनि खेप्न तयार रहेको बताए। ‘म बाहिरको प्रहार जतिपनि खेप्छु, खेप्छौँ। भित्रबाट प्रहार नगर्नुस्। हामी लड्यौं भने आफ्नै खुट्टामा अल्झिएर लड्छौँ,’ उनले भने। 

आफूहरु सिंहदरबारको सेटिङ बुझेर भत्काउन सरकारमा गएको बताए। उनले भने, ‘सरकारमा गएर हामीले सक्दो गर्यौँ पनि। सरकारमा रहँदा चार महिनामा समाएका भुरा माछा गनेर बस्दिन। समात्नुपर्ने ठूला माछा धेरै छन्। ढिलो–चाँडो तिनलाई रास्वपाले नै ठेगान लगाउने छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .