ad ad

राजनीति


एकीकृत समाजवादीमा भाँडभैलो, झाँक्रीसहित ‘दर्जनौँ नेता’ एमालेमै फर्किन परामर्शमा

आउन सक्नेलाई लिने‍ ओलीको वचन, पद नजानेगरी एमालेमा जाने उपायको खोजीमा सांसद
एकीकृत समाजवादीमा भाँडभैलो, झाँक्रीसहित ‘दर्जनौँ नेता’ एमालेमै फर्किन परामर्शमा

सागर न्यौपाने
भदौ २०, २०८१ बिहिबार २१:१४, काठमाडौँ

भदौ १९ गते सामाजिक सञ्जाल एक्समा नेकपा एकीकृत समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन गरिन्।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थकले ओलीको फेसबुकमा ‘अनफलो’ अभियान चलाइरहेका बेला झाँक्रीले लेखिन्, ‘एमालेका संगठित सदस्यले चाहे ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ।’

विगत ३ वर्षयता एमाले अध्यक्ष ओलीप्रति आक्रामक अभिव्यक्ति दिने झाँक्री एकाएक समर्थनमा उत्रिँदा एकीकृत समाजवादीकै नेताहरू छक्क परे। झाँक्रीमा आएको यस्तो बदलावबारे अनेकन् अनुमान गरिए। 

भदौ दोस्रो साता एकीकृत समाजवादीमा पदाधिकारी छान्न भएको चुनावमा उनी पराजित भइन्। त्यसपछि नेतृत्वप्रति असन्तुष्ट उनी एमालेमै फर्किन खोजेको चर्चालाई पुष्टि गरेको छ। 

त्यसका लागि तयारी भइरहेको र एमालेबाट ‘ग्रिन सिग्नल’ पाएरै झाँक्री ओलीको पक्षमा खुलेर बोलेको स्रोतहरूको भनाइ छ। उनले एकीकृत समाजवादीका केही नेतासँग यसबारे कुरा गरिरहेकी छन्।

२०७७ पुस ५ र २०७८ वैशाख ८ मा दुईपटक संसद् विघटन गरेपछि ओलीप्रति निकै आक्रामक माधवकुमार नेपालसहितका नेताहरूले एमालेबाट विद्रोह गर्दै एकीकृत समाजवादी बनाएका थिए। एकीकृत समाजवादी गठनमा झाँक्रीले महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्। त्यसयता उनी ओलीको कटु आलोचकका रूपमा देखिन्थिन्।

ओलीसँग बालुवाटारमा भेट  
एकीकृत समाजवादीको भदौ ९–११ मा बसेको केन्द्रीय समितिको पूर्ण बैठकले १८ सदस्यीय पदाधिकारी चयन गरेको थियो। महिला उपाध्यक्षमा उम्मेदवारी दिएकी झाँक्री जयन्तीदेवी राईसँग फराकिलो मतान्तरले पराजित भइन्।

यद्यपि, भदौ १४ गते भएको पोलिटब्युरोको चुनावमा दोस्रो बढी मत ल्याएर उनी विजयी भइन्।

तर, झाँक्रीको असन्तुष्टि घटेन। टेलिभिजन अन्तर्वार्तामा समेत उनले असन्तुष्टि जनाइन्।

उनै झाँक्री भदौ १७ गते सांसद किसान श्रेष्ठलाई साथ लिएर प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगिन्।

ओलीले प्रष्टसँग भनिदिए, ‘आउन सक्नेलाई लिने।’ अर्थात्, समाजवादी छोडेर एमाले प्रवेश गर्नेलाई लिन ओली तयार रहेको सन्देश दिए।

‘पाँच सांसदहरू नै आउने कुरा छ, तर, यसका कानुनी विषयमा दुवै पक्षले मसिनो ढंगले छलफल गर्नुपर्ने भएकोले टुंगो लागिसकेको छैन,’ बालुवाटार स्रोतले नेपालखबरसँग भन्यो। 

एकीकृत समाजवादीभित्र पदाधिकारी छान्न निर्वाचन गर्दा चिर्कटो वितरण गरेर हराइएकोमा झाँक्री लगायतका केही नेता असन्तुष्ट छन्। बाग्लुङका केही नेता एमाले फर्किसकेका छन्।

अन्य जिल्लामा पनि नेताहरू असन्तुष्ट भइरहेका बेला झाँक्रीले ओलीसँग भेट गरेकी थिइन्।

फुट्न सक्छ एकीकृत समाजवादी? 
राजनीतिक दलसम्बन्धी ऐन अनुसार एकपटक विभाजन भएको पार्टी पाँच वर्षसम्म फुट्न मिल्दैन। एमालेबाट २०७८ भदौ ९ गते विभाजन भएको एकीकृत समाजवादी अझै ०८३ भदौसम्म विभाजन गर्न नमिल्नुपर्ने हो।

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेर राष्ट्रिय दल नभए पनि एकीकृत समाजवादीका १० जना सांसदलाई मनलाग्दी गर्ने छुट हुँदैन। दलको ह्विप लाग्छ। 

सांसदहरू एमालेमा जाँदा दलले कारबाही गरे स्वतः पद जान्छ। त्यही भएर सांसदहरू पनि एमालेमा मिसिने सम्भावना न्यून छ।

तर, निर्वाचन आयोग र सभामुखले यसबारे सहजीकरण गरिदिनसक्ने आश्वासन उनीहरूले पाएका छन्। एकीकृत समाजवादीको खुल्ला उपाध्यक्ष उठेर पराजित भएका केशवलाल श्रेष्ठले त्यसको संकेत गरे।

‘निर्वाचन परिणाम आएपछि साथीहरू विद्रोह गर्ने, संयुक्त राजीनामा दिने मात्र होइन, पार्टी नै फुटको डिलमा पुगेको सार्वजनिक भएको छ,’ श्रेष्ठले भने, ‘नेतृत्वको तहबाट चिर्कटो बाँडेर लक्ष्मण रेखा कोरियो, त्यसमा केही साथीहरू छुट्नुभयो। फुट्न चाहनेलाई कुनै ऐन कानुनले रोक्छ त? मान्छेको इच्छा भइसकेपछि बस्दैनन्। अनि त्यो कानुनले मिल्दैन भनेर हुन्छ? के रोक्छ र रोक्दैन! विचार नमिल्ने, अपमानबोध र भेदभाव भयो अन्याय भयो भन्ने जसले महसुस गर्छ, बस्दिनँ भन्छ, उसको अधिकार हो।’ 

१८ पदाधिकारी र १०१ पोलिटब्युरोमा चुनाव गर्दा नेतृत्वले सन्तुलित र विवेकपूर्ण व्यवहार नदेखाएको उनले बताए। पार्टी निर्माणकै क्रममा रहेको र जनताबाट अनुमोदित भएर राष्ट्रिय दल नबनेकोले चुनाव गर्न नहुने र ९३ सदस्यीय केन्द्रीय समितिको म्यान्डेट मिच्ने काम भएको गुनासो गरे। 

कम्युनिस्ट पार्टीको इतिहासमै पोलिटब्युरो चयनमा चुनाव भएको थाहा नपाएको उनले बताउँछन्। चुनावकै कारण पुराना, पाका, विद्रोहमा सामेल भएका र एकता प्रक्रियामा जोडिएका नेताहरूले अपमानबोध गर्ने अवस्था आएको उनी बताउँछन्।

एमालेसँग केही नेताहरू संवादमा रहेको आफूले सुनेको उनको भनाइ छ।

‘एकीकृत समाजवादीको नेतृत्व पंक्ति माओवादीसँग एकता गरेर जाने तयारीमा वार्तादल समेत बनाएर खुट्टा उचालेर बसेको सूचना बाहिर आयो,’ श्रेष्ठले थपे, ‘माओवादीसँग स्कुलिङ नै नमिल्ने भएकोले त्यहाँ जानुभन्दा पुरानै घर (एमाले) मै फर्कने अर्काेथरी साथीहरूको लहर सुरु भइसक्यो नि! एकीकृत समाजवादी छोड्ने क्रम व्यवहारमै देखिएको छ।’

कति जाँदैछन् एमाले? 
असन्तुष्ट नेता एमाले फर्कने तयारी गरिरहेको सूचना पाएको श्रेष्ठले स्वीकार गरे। झण्डै ४० भन्दा बढी नेताले धेरैपटक भेला पनि गरिसकेका छन्। करिब ६०/६५ जना एमाले फर्किन सक्ने उनको भनाइ छ।

‘शीर्ष नेता, पराजित भएका नेता एमाले जान ठिक्क परेको मैले सुनेको छु,’ उनले भने, ‘नेतृत्व तहबाट भेदभाव भएपछि मानिसले सहँदैन नि। आन्दोलन हुने, पार्टी फुट्ने कारण त्यही हो।’

वरिष्ठ उपाध्यक्ष पाण्डे भन्छन्– साथीहरूलाई रोक्छौँ
एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि महाधिवेशन र पदाधिकारी चयनपछि असन्तुष्ट बनेका नेतालाई मिलाउनुपर्ने अवस्था आएको बताए। 

‘हाम्रै पार्टीभित्र हारेका, जितेका साथीहरूका समस्या छन्। आफ्नो पार्टीका साथीहरूलाई ‘इनट्याक्ट’ राख्ने अहिलेको चुनौती हो,’ पाण्डेले भने।

एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले भने एमालेसँग केही नेताको छलफल भइरहे पनि प्रवेश गर्ने तबरको नभएको दाबी गरे।

‘निर्वाचनमा पराजित भएका साथीहरूको केही गुनासो हो। त्यसको सम्बोधन भइसकेको छ, केहीसँग सल्लाह हुँदैछ,’ पाण्डेले भने, ‘रामकुमारी झाँक्रीको भोट कम आयो। केपी ओलीको प्रशंसा गर्ने काम त भएका छन्। तर, पार्टीमा आँच आउने गरी, एमालेमै गइहाल्ने कार्यक्रम बनिसकेको जस्तो त लाग्दैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .