प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नाे जन्मघर र तत्कालीन नेकपा-एमालेका महासचिव मदन भण्डारीको जन्मथलो जोड्न सडक निर्माण शुरु भएको छ।
प्रधानमन्त्री ओलीले आफ्नो ६९औं जन्मदिनको अवसरमा तेह्रथुमको सुकेपोखरीमा आयोजना गरेको विशेष कार्यक्रममा सडकको शिलान्यास गरेका हुन्। आफ्नाे जन्मदिन मनाउन ओली आइतबार जन्मगाउँ पुगेका हुन्।
‘पहिलो चरणमा नौ किलोमिटर सडक निर्माण गरिएको छ। यो सडक ठेक्का लाग्ने अन्तिम चरणमा रहेको छ’ डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख दानकुमार शाक्यले नेपालखबरसँग भने, ‘यो सडकले दुई वटा ऐतिहासिक स्थानलाई जोड्ने छ।’
सुकेपोखरी पुष्पलाल मध्यपहाडी लोकमार्गमा पर्छ। प्रधानमन्त्री ओलीको जन्मथलो सल्ले नजिकै छ। सो सडक नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको जन्मथलो ताप्लेजुङकाे ढुंगेसाँघुलाई जोड्ने छ।
तत्कालीन नेकपा एमालेले अख्तियार गरेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनता (जबज) को भण्डारीले प्रतिपादन गरेका थिए। ओली आफूलाई भण्डारी र जबजको प्रमुख उत्तराधिकारी र व्याख्याताकाे रुपमा प्रस्तुत गर्न चाहन्छन्।
नेकपाका केन्द्रीय सदस्य तथा सांसद विजय सुब्बाले भण्डारीको विचारलाई बोक्दै आएका प्रधानमन्त्री ओलीले विभिन्न रुपमा भण्डारीसँग आफूलाई जाेड्न चाहने बताउँछन्। तेह्रथुमका सांसद सुब्बाका अनुसार साे सडकखण्डले पुष्पलाल मध्यपहाडी लोकमार्गलाई ढुंगेसाँघुसँग जोड्ने हुँदा साे क्षेत्रकाे उक्त सडक महत्वपूर्ण रहेकाे बताए। उनले सडक निर्माण राजनीतिक अर्थसँग जोडेर हेर्न नहुने बताए।
ताप्लेजुङका ढुंगेसाँघुसहित आठ वटा गाउँ विकास समिति २०३४ सालमा तेह्रथुमबाट ताप्लेजुङ जिल्लामा सारिएको हो। अहिले मौवाखोल गाउँपालिका अन्तर्गत पर्छ। जसमा फाकुम्बा, ढुंगेसाँघु र साँघु गाउँ विकास समिति रहेका छन्।
‘तेह्रथुमको सदरमुकाम आउन टाढा भयो भनी यो क्षेत्र ताप्लेजुङमा लगिएको हो। त्यसपछि तेह्रथुमको क्षेत्रफल अलि सानो भयो,’ सुब्बाले भने।
अहिले नेकपाले प्राप्त गरेको सफलता भण्डारीको वैचारिक धरातलमा उभिएको नेताहरुले दाबी गर्ने गर्दछन्। भण्डारीको विरासतको उत्तराधिकारीको होड छ।
डिभिजन प्रमुख शाक्यका अनुसार पहिलो चरणमा नौ किलोमिटर सडक निर्माण हुने छ।
जसका लागि याक्थुम निर्माण कम्पनीले साढे ३१ करोड रुपैयाँको प्रस्ताव गरेको शाक्यले बताए। ‘ठेक्काको उजुरी दिने समय दुई दिन बाँकी रहेको छ। कसैको उजुरी नपरे ३ दिनपछि निर्माण कम्पनीलाई सम्झौताका लागि पत्राचार गर्ने छौं,’ शाक्यले भने।
पहिलो चरणमा सुकेपोखरीदेखि आधारभूत भानु युवा स्कुलसम्म ९ किलोमिटर सडकको मात्रै डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भएको छ। यी दुवै आठराई गाउँपालिका अन्तर्गतको ४ नम्बर वडा भित्रै पर्दछन्।
सुकेपोखरीदेखि ढुंगेसाँघुसम्मको सडकको पुरै लम्बाइ भने करिब ६५ किलोमिटरको हुनेछ।
‘यो पुरै सडकको डीपीआर तयार भैसकेको छैन’ शाक्यले भने। सो सडक निर्माणका लागि बहुवर्षीय ठेक्काका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पुगेको छ।

प्रतिक्रिया