राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीका लागि चुनाव नहुने देखिएको छ। नवनिर्वाचित केन्द्रीय सदस्यको सूची हेरेर सर्वसम्मत पदाधिकारी चयन गर्ने सभापति रवि लामिछानेको तयारी रहेको पाइएको छ।
हजारभन्दा बढी प्रतिनिधिहरू केन्द्रीय सदस्यका लागि भएको मतदानमा सहभागी नभएर घर फर्किसकेका छन्। पदाधिकारी चुनावसम्म पुग्दा अधिकांस मतदाता घर फर्किएपछि चुनाव नगरी सर्वसम्मत पदाधिकारी चयन गर्ने प्रयास भएको एक नेताले जानकारी दिए।
‘पदाधिकारी चयनमा चुनाव हुँदैन होला,’ उनले नेपालखबरसँग भने, ‘केन्द्रीय सदस्यमा आउने अनुहार हेरेर सर्वसम्मत छानिन सक्छ।’
पदाधिकारीमा चुनाव नहुने सूचना पाएरै हुनुपर्छ, सबै जसो आकांक्षीले मत माग्न दौडधुप गरेका छैनन्। उपसभापतिमा डा. स्वर्णिम वाग्ले, महिला उपसभापतिमा समीक्षा बास्कोटा, लिमा अधिकारी, इन्दिरा राना मगर र प्रतिभा रावललगायतले दाबी गरेका छन्।
त्यस्तै महामन्त्रीमा कबिन्द्र बुर्लाकोटी, मनीष झा, विपिन आचार्य, दीपक बोहोरा र सोबिता गौतम आकांक्षी छन्। तर सर्वसम्मत पदाधिकारी चयन हुनसक्ने देखिएपछि उनीहरूले पनि मरिहत्ते गरेर मत मागेका छैनन्।
रास्वपाको विधानअनुसार, प्रहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यको निर्वाचन भइसकेको छ। लामिछाने मंगलबार नै सभापति निर्वाचित भइसकेका छन्।

विभिन्न समूह र पार्टीबाट एकता र समायोजनमा आएका नेताको व्यवस्थापन गरेर लामिछानेले पदाधिकारी चयन गर्ने रास्वपा नेताहरू बताउँछन्। प्रधानमन्त्री वालेन्द्र शाहको समूहबाट केन्द्रीय सदस्य र पदाधिकारीका लागि दाबेदार देखिएका नेतालाई सभापति लामिछानेले मनोनित गर्ने भएका छन्।
प्रधानमन्त्री शाह फेरि वरिष्ठ नेता हुनेछन्। यस्तै, भूपदेव शाह, सुनिल लम्साल र गृहमन्त्री सुदन गुरुङलगायत नेताहरू केन्द्रीय सदस्यको चुनाव नै लडेका छैनन्। ऊनीहरूलाई सभापति लामिछानेले केन्द्रीय सदस्य र पदाधिकारी मनोनयन गर्ने भएका छन्।
पदाधिकारी चुनावमा आफू निकट नेताहरूबीच नै प्रतिस्पर्धा हुने भएपछि लामिछानेले सर्वसम्मतको तयारी थालेको अर्का नेताले बताए।
रास्वपाको विधानानुसार, एक महिलासहित दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्रीको निर्वाचनबाट चयन गर्ने व्यवस्था छ। केन्द्रीय सदस्यमा मत दिएकै प्रतिनिधिले दोस्रो चरणको निर्वाचनमा पदाधिकारीमा पनि मत दिने व्यवस्था छ।
रास्वपाका चार हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी थिए। तर, केन्द्रीय सदस्यको निर्वाचनमा तीन हजार एक सयले मात्रै मतदान गरेका छन्। अन्य प्रतिनिधि घर फर्किसकेका छन्।
त्यस्तै, पहिलो चरणको चुनावपछि अधिकांश प्रतिनिधि घर फर्किसकेको नेताहरू बताउँछन्। अब पदाधिकारी चयन सर्वसम्मत गर्ने ‘मुड’मा सभापति लामिछाने पुगेका हुन्। अहिले केन्द्रीय सदस्यको लागि गए राति १२ बजेदेखि आज मध्याह्न साढे १२ बजेसम्म मतदान भएको थियो।
मंगलबार गर्नुपर्ने केन्द्रीय सदस्यको चुनाव विभिन्न कारण देखाउँदै बुधबारलाई सारिएको थियो। तर, बुधबार दिनभर चुनाव नगरेपछि प्रतिनिधि असन्तुष्ट बन्दै घर फर्किन थालेपछि मध्यराति मतदान सुरु गरिएको थियो।

रास्वपाका नेता दीपक बोहोराले पनि पदाधिकारी चयनको विषयमा आफुहरू सभापतिसँग परामर्शमा रहेको बताए। उनी महामन्त्रीका दाबेदार हुन्।
‘मेरो उम्मेदवारी केमा रहने विषयमा सभापतिसँग परामर्श गर्छ,’ उनले नेपालखबरसँग भने, ‘पदाधिकारी टीम कस्तो ल्याउने भनेर सभापतिजीले एउटा मुड बनाइरहनु भएको होला।’
रोचक त निर्वाचन आयोगले प्रकाशन गरेको चुनावी तालिकामा पदाधिकारीको चुनावको विषय उल्लेख गरेको छैन। अघिल्ला सूचना निकाल्दा केन्द्रीय सदस्यको चुनाव सकिएको दुई घण्टामा नतिजा आउने त्यसको दुई घण्टापछि दोस्रो चरण अर्थात पदाधिकारी चयनको निर्वाचनको कार्यतालिकाबारे उल्लेख हुन्थ्यो।
बुधबार राति १० बजे जारी सूचनामा पदाधिकारीको चुनावको विषय उल्लेख नगरेकाले पनि रास्वपाले सर्वसम्मत छान्न खोजेको नेताहरू बताउँछन्। रास्वपा नेता सुशान्त बैदिकले पनि निर्वाचनभन्दा पनि सर्वसम्मतको प्रयत्न भइरहेको बताए। ‘पहिला केन्द्रीय समितिको नतिजा आओस्, त्यहाँ चुनिएका आधारमा पदाधिकारी चयन सहमतिबाटै हुन पनि सक्छ,’ केन्द्रीय सदस्यका उम्मेदवार समेत रहेका वैदिकले भने।
पदाधिकारीका आकांक्षीले पनि प्रतिनिधिलाई घर फर्किन भनेको विषयले पनि चुनाव हुने देखिँदैन। रास्वपाका अर्का नेताले त केन्द्रीय सदस्यको चुनावको लागि तयार विद्युतीय भोटिङ मेसिनमा राखिएको नामावलीले नै मिलाएर लग्ने रणनीति देखिएको बताए। ‘नामावलीको सेट हेर्दा मिलाएर पदाधिकारी छान्ने रणनीति देखिन्छ,’ उनले भने।
नामावली तलमाथि गरेको, चर्चामा रहेको नाम नराखेको भन्दै आशिका तामाङ, ज्वाला संग्रौलालगायत नेताले असन्तुष्टि जनाएका छन्। केन्द्रीय सदस्यका उम्मेदवार गणेश कार्की पनि नामावलीमा मनलाग्दी गरिएको बताए। ‘मेरै प्रतिस्पर्धीलाई मैले मत दिनुपर्ने अनिवार्य गरिएको रहेछ, यस्तो नि चुनाव हुन्छ,’ कार्कीले भने।
यद्यपि, रास्वपा प्रवक्ता मनीष झाले भने दोस्रो चरणको मतदान हुने प्रतिक्रिया दिए। आजै दिउँसो ४ बजे पदाधिकारीका लागि मतदान गर्ने तयारी गरिएको उनको भनाइ छ।
प्रवक्ता झाले भने झैं दोस्रो चरणको मतदान भएमा आज रातभर लाग्नेछ। रास्वपा पदाधिकारीमा निर्वाचन हुने ६ पदका लागि ५० जनाभन्दा बढी आकांक्षी देखिएका छन्।
Shares

प्रतिक्रिया