राजनीति


११ विद्यार्थी संगठनले भने- छिटो नतिजा प्रकाशन गर्ने नाममा विद्यार्थीको जीवनमाथि खेलबाड नगर

११ विद्यार्थी संगठनले भने- छिटो नतिजा प्रकाशन गर्ने नाममा विद्यार्थीको जीवनमाथि खेलबाड नगर

नेपालखबर
असार ११, २०८३ बिहिबार १५:३७, काठमाडौँ

विभिन्न ११ विद्यार्थी संगठनहरूले छिटो नतिजा सार्वजनिक गर्ने नाममा विद्यार्थीको मेहनत र जीवनमाथि खेलवाड गरिएको भन्दै आपत्ति प्रकट गरेका छन्।

बिहीबार संयुक्त प्रेस वक्तव्य प्रकाशित गरी विद्यार्थी संगठनहरूले कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटिप्रति सम्बन्धित निकायलाई सचेत गराएका छन्।

‘हालै कक्षा १२ को परीक्षाफलमा देखिएका त्रुटिहरू तथा केही समयअघि एसईईको नतिजामा व्याप्त कमजोरीहरू सार्वजनिक भएका छन्। परीक्षाफल समयमै प्रकाशन गर्ने शिक्षा मन्त्रालयको प्रयासलाई हामी सकारात्मक रूपमा लिन्छौँ’ विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘तर, छिटो नतिजा प्रकाशन गर्ने नाममा गरिएका लापरबाही र गम्भीर त्रुटीले विद्यार्थीको मेहनत र जीवनमाथि खेलबाड गर्ने विषयलाई कुनै पनि अर्थमा सहि मान्न सकिँदैन।’

मूल्याङ्कन प्रक्रियामा पारदर्शिताको अभाव, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको कारण असन्तुष्ट विद्यार्थीहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरेका उनीहरूको भनाई छ। उक्त आन्दोलन न्यायोचित र आवश्यक रहेको ठहर गर्दै, संयुक्त विद्यार्थी संगठनको तर्फबाट प्रभावित विद्यार्थीको आवाजप्रति समर्थनका साथै ऐक्यबद्धता व्यक्त गरिएको छ। 

विद्यार्थी संगठनहरूले यस घटनाप्रति गम्भीर ध्यान दिई त्रुटिको समाधान, पुनर्मूल्याङ्कनको वैज्ञानिक व्यवस्था र भविष्यमा यस्तो पुनरावृत्ति नहुने गरी सुधारका कदम चाल्न समेत शिक्षा मन्त्रालयसँग माग गरेका छन्।

शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा परीक्षा बोर्डले ४५ दिनमै परीक्षाफल प्रकाशित गरेको थियो। तर, राष्ट्रिय परीक्षा बोर्डले हतारमा परीक्षाफल प्रकाशित गर्दा गडबड भएको भन्दै कक्षा १२ का विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।

बिहीबार उनीहरूले काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शनसमेत गरेका छन्। हतारमा परीक्षाफल प्रकाशित गर्दा धेरै विद्यार्थीको नतिजा बिग्रिएको उनीहरूको भनाइ छ। धेरै विद्यार्थीले पुनर्योग गर्नुपर्ने र मौका परीक्षा दिनुपर्ने अवस्था आएको उनीहरूले बताएका छन्। 

त्यस्तै, पुनर्योग र मौका परीक्षाका लागि पनि शुल्क धेरै राखेको विद्यार्थीको गुनासो छ। एउटा विषयको पुनर्योग गर्न एक हजार रुपैयाँ शुल्क तोकिएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad