चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थीको दुई पक्षबीच कुटाकुट भएको छ।
पूर्व माओवादी निकट अखिल (क्रान्तिकारी) पक्षका विद्यार्थीहरुको कुटाइबाट पूर्व एमाले निकट विद्यार्थी नेता एवम् अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठक घाइते भएका छन्। रडले लागेर उनको टाउको फुटेको छ।
उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ। उनीसँगै अर्का विद्यार्थी नेता सचित सुवेदी सामान्य घाइते छन्।
दुई पक्षीय विद्यार्थीहरुबीच बिहान झडप भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार अहिले अवस्था सामान्य भएको छ।
नेकपाको विद्यार्थी संगठन अनेरास्ववियू केन्द्रमा एकता भए पनि कृषि तथा वनविज्ञान विश्वविद्यालयमा भने एकता अझै भइसकेको छैन। नेकपाको जिल्ला नेतृत्वले विवाद मिलाउने प्रयास गरे पनि सहमति हुन नसक्दा घटनाले उग्ररुप लिएकाे हाे।
यता, रामपुरको झडपपछि आक्रोशित विद्यार्थीले भरतपुरस्थित नेकपाको जिल्ला कार्यालयसमेत तोडफोड गरेका छन्।
Shares

प्रतिक्रिया