राजनीति


बालुवाटारमा माधव नेपालसँग सहमति, सत्ता गठबन्धनलाई सघाउन तयार

बालुवाटारमा माधव नेपालसँग सहमति, सत्ता गठबन्धनलाई सघाउन तयार

फाइल तस्बिर


नेपालखबर
फागुन २९, २०८० मंगलबार ११:१७, काठमाडौँ

सत्ता साझेदार नेकपा एकीकृत समाजवादी राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धनका उम्मेदवार र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन तयार भएको छ। 

आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल राष्ट्रिय सभा अध्यक्षको चुनाव र विश्वासको मतमा सत्ता गठबन्धनलाई सघाउन सहमत भएका हुन्। 

अध्यक्ष नेपालले उठाएका माग समेटेर पाँचै दलले हस्ताक्षर गर्ने सहमतिपछि उनी सत्ता गठबन्धनका पक्षमा मत दिन तयार भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

यही फागुन २१ गते गठित नेकपा मा‌ओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच बनेको नयाँ गठबन्धनको सरकारमा सहभागी हुँदा नेकपा एकीकृत समाजवादीले पाँचवटा सर्त अघि सारेको थियो। 

यस्ता छन् एकीकृत समाजवादीका पाँच सर्त
१) देशको आर्थिक संकटको समाधान गर्दै उत्पादन वृद्धि गर्ने

२) राष्ट्रहितको रक्षा र सम्वर्द्धन गर्नुपर्ने
३) भ्रष्टाचारको अन्त्य तथा सुशासनको स्थापना गर्नुपर्न
४) महंगी नियन्त्रण र जनताका समस्या समाधान गर्नुपर्ने
५) सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नुपर्ने

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अहिले भइरहेको छ। सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार माओवादी केन्द्रका नारायण दाहाल छन्। उनी प्रधानमन्त्री प्रचण्डका १३ दिने भाइ हुन्।  

प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते संसद्‌मा विश्वासको मत लिँदै छन्।

प्रधानमन्त्री प्रचण्डले यही फागुन २१ गते कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको नयाँ गठबन्धन बनाएका हुन्। जसमा एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा र एकीकृत समाजवादी छन्। यी पाँच दलसँग सुविधाजनक बहुमत छ। 

सत्ताबाट बाहिरिएपछि कांग्रेसले प्रचण्ड सरकारलाई दिएको समर्थन यही फागुन २२ मा फिर्ता लिएको थियो। कुनै दलले समर्थन फिर्ता लिएमा वा सरकारमा सहभागी दल विभाजन भएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। 

गत वर्ष पुस ११ मा प्रधानमन्त्री नियुक्त प्रचण्डले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले गत वर्ष पुस २६ मा पहिलोपटक र चैत ६ मा दोस्रोपटक विश्वासको मत लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .