राजनीति


मोदीलाई छाडेर केजरीवाललाई किन रोज्यो दिल्लीले?

मोदीलाई छाडेर केजरीवाललाई किन रोज्यो दिल्लीले?

नेपालखबर
माघ २६, २०७६ आइतबार ९:३७,

गत वर्ष भएको आम चुनावमा दिल्लीको सात वटै लोकसभा सिट जितेको सत्तारुढ भारतीय जनता पार्टीले विधानसभा चुनावमा भने पराजय बेहोर्ने देखिएको छ।

शनिबार भएको विधानसभा निर्वाचनको एक्जिट पोलअनुसार दिल्लीमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) पुनः सत्तामा आउने छ।

आपले ७० मध्ये ५२ सिट जित्ने नौ वटा एक्जिट पोलको औसतले देखाउँछ। सन् २०१५ मा सो पार्टीले ६७ सिट जितेको थियो।

भाजपाले दिल्लीमा २२ वर्षदेखि शासन गर्न पाएको छैन। उसले यस पटक १५ सिट मात्र जित्ने देखिएको छ।

मुख्य प्रतिपक्षी कंग्रेस पार्टीले एकाध सिट मात्र हात पार्ने अनुमान गरिएको छ।

सन् २०१२ मा भ्रष्टाचार विरोधी अभियानबाट उदाएको आपले २०१३ मा सरकार बनाएर विश्वलाई चकित तुल्याएको थियो। तर, आफूले लगेको विधेयक पारित नहुने देखेपछि सत्ता सम्हालेको ४९ औँ दिनमा केजरीवालले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।

यो चुनावलाई नागरिकता संशोधन कानुनपछि मोदीको लोकप्रियता मापन गर्ने निर्वाचन मानिएको थियो। दिल्लीमा अहिले पनि यो कानुनको विरुद्ध दैनिक हजारौँले प्रदर्शन गरिरहेका छन्।

हिन्दु–राष्ट्रवादी नारालाई उचालेर देशैभर विजयको झण्डा फहराएको भाजपा र प्रधानमन्त्री नरेन्द्र मोदीको जादु दिल्लीमा किन फिका भयो त?

विश्लेषकहरुले भाजपा र आपको दुई फरक चुनावी मुद्दाका कारण यो निर्वाचनमा मोदीले पराजय बेहोरेको बताएका छन्।

भाजपाले हिन्दु–मुस्लिम विभाजन र राष्ट्रवादको मुद्दालाई केन्द्रमा राखेको थियो। तर, आपले स्कुल, सार्वजनिक यातायातमा सुधार, बिजुली, पानीजस्ता आम मानिसको दैनिकीसँग जोडिएको विषयलाई प्रमुखता दिएको थियो।

उसो त गत दुई वर्षमा भएका विधानसभा चुनाव भाजपाले हार्दै आएको छ। महाराष्ट्र, झारखण्ड र मध्यप्रदेशमा पनि उसले हार बेहोर्नुपरेको थियो। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad