कारोबार


बन्दीपुर केबलकार कम्पनी लिमिटेडमा रुपान्तरण

बन्दीपुर केबलकार कम्पनी लिमिटेडमा रुपान्तरण

कृष्ण न्यौपाने
माघ २६, २०७६ आइतबार ९:३८,

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पूर्वाधारयुक्त केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार प्रालीलाई लिमिटेडमा रुपान्तरण गरिएको छ। प्रालीको साधारणसभाले कम्पनीलाई लिमिटेडमा रुपान्तरण गर्ने निर्णय गरेको हो।

लिमिटेडमा रुपान्तरण भएसँगै कम्पनीको नाम बन्दीपुर केबलकार एन्ड टुरिज्म लिमिटेड राखिएको छ। कम्पनीलाई उद्यमशील साझेदारीको उपयुक्त गन्तव्य बनाउने उद्देश्यसहित लिमिटेडमा रुपान्तरण गरिएको अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। परियोजनामा रणनीति योजनाअनुरुप सेयरधनीको सहभागिता सुनिश्चित गर्ने कम्पनीको दीर्घकालीन रणनीतिलाई सार्थक बनाउने अभिप्रायका साथ कम्पनीको प्राइभेट लिमिटेडको स्वरुपलाई बदलेर पब्लिक कम्पनीको स्वरुपमा लैजाने निर्णय भएको उनले जानकारी दिए।

लिमिटेडले पन्ध्र वर्षीय रणनीति योजना समेत बनाइएको छ। पहिलो पाँच वर्षलाई अल्पकालिन लक्ष्य, दोस्रो पाँच वर्षलाई मध्यकालिन लक्ष्य र तेस्रो पाँच वर्षलाई दीर्घकालिन लक्ष्यका रुपमा वर्गीकरण गरिएको छ।

खड्गदेवीलाई पन्ध्र लाखको सेयर
लिमिटेडले बन्दीपुर गाउँपालिका–४ मा रहेको खड्गदेवी मन्दिरलाई जगेडा सेयरमध्येबाट रु १५ लाखको सेयर प्रदान गरेको छ। खड्गदेवी मन्दिरको अंग केबलकार र केबलकारको अंग मन्दिरलाई बनाएर लैजान मन्दिर समितिलाई उक्त सेयर प्रदान गरिएको शर्माले जानकारी दिए। मन्दिरको दीर्घकालीन एवं दैनिक सञ्चालनको ग्यारेन्टी गर्ने गरी सेयर हस्तान्तरण गरिएको छ।

वडा नं ४ ठूल्ढुंगामा निर्माण भइरहेको बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ। एक वर्षभित्र केबलकार सञ्चालनमा ल्याउने गरी कामलाई तीव्रता दिइएको छ। कम्पनीले माथिल्लो स्टेसनमा रु ८० करोडको लागतमा चारतारे होटलसमेत निर्माण गर्ने भएको छ। त्यसका लागि काठमाडौँस्थित चन्द्र निर्माण सेवासँग सम्झौता भइसकेको लिमिटेडका सञ्चालक तारानाथ उपाध्यायले जानकारी दिए।

उनका अनुसार २५ महीनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ। कलात्मक शैलीमा निर्माण गरिने होटलका लागि नेपाल एसबीआई बैंकसँग ऋण सम्झौता भइसकेको छ। केबुलकार परियोजनाका लागि बैंकले रु ९७ करोड ऋण दिने सहमति भएको छ।

केबलकार परियोजनाको परामर्शदाताका रुपमा काठमाडौँस्थित केज कन्सलट्यान्ट प्राली, मेकानिकल परामर्शदाताका रुपमा भारतस्थित सीआरएस र ब्रिको इंग्ल्यान्ड रहेको छ। आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्राली, पञ्चासे केबुलकार एण्ड टुर्स प्राली, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको छ। लगानी दाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार १०० भन्दाबढी लगानीकर्ता छन्।

केबलकारको माथिल्लो स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ। उक्त भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, समारोह हल र ८० कोठा निर्माण हुने अध्यक्ष शर्माले जानकारी दिए। केबलकार भने एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। परियोजनाअन्तर्गत अहिले केबलकारका लागि आवश्यक मुख्य स्टेसन निर्माणको काम धमाधम भइरहेको छ।

प्रारम्भमा रु ५६ करोडको लागतमा केबलकार सम्पन्न गर्ने योजना रहेकामा कम्पनीले केबलकार प्रविधिलाई आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेञ्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थप गरेको थियो। साहसिक पर्यटनको मज्जा दिन बन्दीपुरदेखि छिम्केश्वरी फेदीसम्म माउन्टेन जंगल सफारीको सेवा शुरु गर्ने गरी कम्पनीले लगानी गर्ने जनाएको छ।

कम्पनीले केबलकारको पूर्वाधार निर्माणका लागि आवश्यकपर्ने जग्गा प्रयोग गरेबापत जग्गाधनीलाई रु ४५ लाख बराबरको सेयर प्रदान गरिसकेको छ। ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट घण्टामा २०० जना वारपार गर्न सक्नेछन्। एशियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने विश्वास लिइएको छ।

ठूल्ढुंगास्वाँराबाट शुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ। केबलकारले एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ। तनहुँको डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो दूरी बसमा करिब २० मिनेट लाग्छ। केबलकार निर्माण भएपछि केबुलकारमा नौ मिनेटमा बन्दीपुर पुग्न सकिन्छ। केबलकारमा दुई सामान बोक्नेसहित १७ बाक्सा रहनेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad