नेविसंघको विधान कार्यान्वयन गर्न माग गर्दै नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी चार दिनदेखि आमरण अनशस बसिरहेका छन्।
अनशनको चौथो दिन त्रिपाठीको स्वास्थ्यमा समस्या देखिएको छ। बुधबार डाक्टरहरुले औषधि खान आग्रह गरे पनि त्रिपाठीले अस्वीकार गरेका छन्। उनमा रक्तचापको समस्या देखिएको डाक्टरहरुले बताएका छन्।
३२ वर्ष उमेर हदको विधान कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन थालेका हुन्।
नेविसंघले त्रिपाठीको जीवन रक्षाका आग्रह गर्दै शीर्ष नेतालाई एसएमएस पठाउने अभियान पनि थालेको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाको मोबाइलमा सभ्य र मर्यादित भाषामा सन्देश पठाएर त्रिपाठीको जीवन रक्षा गर्न नेविसंघले माग गरेको हो।
विधान कार्यान्वयनको माग गर्दै ४१ दिनसम्म रिले अनशन बस्दा पनि पार्टी नेतृत्वले मागप्रति कुनै सुनुवाई नगरेकाले बाध्य भएर आमशरण अनशन बस्नु परेको त्रिपाठीले बताएका छन्।
त्रिपाठीले आफ्ना माग सम्बोधन नगरे पार्टीको झण्डा ओढाउन आउनुपर्ने चेतावनी नेतृत्वलाई दिएका छन्। त्रिपाठीले भने, ‘रिले अनशनमा बसे पनि पार्टीका शीर्ष नेताहरु भागबण्डामा मात्रै केन्द्रित हुनुभयो, त्यसैले आमरण अनशनमा बसेको हुँ। कि त माग पूरा गर्नुहोस्। किन पार्टीको झण्डा ओढाउन आउनुहोस्।’
पार्टीले यसअघि नै नेविसंघको विधान संशोधन गरी ३२ वर्षमुनिका मात्र नेतृत्वमा आउन पाउने व्यवस्था गरिए पनि अहिले भागबण्डाका लागि सभापति शेरबहादुर देउवा र अरु शीर्ष नेताले नै विधान मिच्न थालेपछि आमरण अनशन बस्नु परेको त्रिपाठीको भनाइ छ।
६ महिनाभित्र महाधिवेशन गर्ने गरी गठन हुने तदर्थ समितिमा ९ जना महामन्त्री राख्ने नेताहरुबीचको सहमतिले पनि विधान मिचेको छ। विधानमा एक जना निर्वाचित र एक जना मनोनित गरी २ महामन्त्री मात्र हुने व्यवस्था भएकामा भागबण्डा कै लागि ९ जना महामन्त्री राख्ने सहमति गरेर संस्थाकै खिल्ली उडाएको उनको भनाइ छ ।
Shares

प्रतिक्रिया