कारोबार


प्रभु पेबाट घरमै बसेर गंगालाल अस्पतालको टिकट पाइने

प्रभु पेबाट घरमै बसेर गंगालाल अस्पतालको टिकट पाइने

नेपालखबर
माघ १६, २०७६ बिहिबार ६:३०,

सरकारी अस्पतालमा बिरामी जाँच गर्ने भन्नेबित्तिकै धेरैले लामो लाइन बसेर टिकट काट्न गर्नुपर्ने दुःख सम्झन्छन्। तर, अब अस्पतालको ओपीडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घण्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने सुविधा भएको छ।

अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपीडी टिकट काट्न सक्नेछन्। प्रभु पे मोबाइल वालेटमार्फत अस्पतालको ओपीडी टिकट काट्ने व्यवस्थाको सुरुवात सहिद गंगालाल अस्पतालबाट भएको छ। यो सुरुवात अस्पतालको २४औं वार्षिकोत्सवको अवसरदेखि भएको छ।

मेडिफ्लो सोलुसनले प्रभु पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्नसक्ने प्रविधिको विकास गरेको हो। उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था अब शहिद गंगालाल अस्पताल बाट पनि सुरु भएको छ। मेडीफ्लोका सीओओ सुरेन्द्र न्यौपानेका अनुसार मेडीफ्लोले अहिले यो सेवा प्रभु पे मोबाइल बालेटसँगको सहकार्यमा सुरु गरेको छ।

अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोवाइल वालेट मार्फत अनलाइन टिकट काट्ने व्यवस्था सुरु गरेको अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारी ले अस्पतालको २४ औं बार्षिकोत्सवको अवसरमा जानकारी दिए । ‘अस्पतालमा ओपिडीको टिकट लिनका लागि लामो लाइन बस्नुपर्ने बाध्यता बिस्तारै कम हुदै जाने तथा मोबाइल एप मार्फत घरमा नै बसेर टिकट काट्न सक्ने भएपछि बिरामीलाई सुबिधा हुने पनि जानकारी दिएका छन,’ उनले भने ।

अहिले यो सेवा मार्फत टिकट काट्नका लागि मोबाइल प्रयोगकर्ताले प्रभु पे मोबाइल बालेट नामक एपलाई डाउनलोड गर्नुपर्छ ।

प्रभु पे वालेटमा रजिष्टर भएपछि आफ्नो विभिन्न बैंकबाट रकम जम्मा गर्न सकिनेछ। त्यसपछि उक्त एपमा रहेको हस्पिटल भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ। हस्पिटल बटन भित्र प्रवेश गरेपछि सहिद गंगालाल अस्पतालमा क्लिक गर्नुपर्ने हुन्छ। शहिद गंगालाल अस्पताल क्लिक गरेपछि त्यहाँ नयाँ वा पुरानो ओपिडी भन्ने विकल्प आउने छ। त्यसमा पुरानो हो भने पुरानो र नयाँ हो भने नयाँ ओपिडी छान्ने।

त्यसपछि आफूले जाँच गर्न चाहेको विभाग र डाक्टर तथा मिति छान्नुपर्ने हुन्छ। उक्त प्रक्रिया पछि बिरामीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ। सबै विवरण भरिसकेपछि टिकटको मुल्य आफ्नो प्रभु पे मोवाइल वालेटमा रहेको ब्यालेन्सबाट काटिनेछ। अस्पतालले हाललाई जनरल ओपिडी तथा पेइङ क्लिनिक दुबै टिकट काट्नका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ ।

यसका साथै अस्पतालले अस्पताल हातामा एटिम मेसिन जस्तै ‘किओस्क मेसिन’बाट पनि टिकट लिन सक्ने व्यवस्था समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad