कारोबार


आफूलाई चाहिने सफ्टवेयर आफैँ बनाएर चलाउँदै नेपाल टेलिकम

अतिरिक्त वित्तीय भार घट्ने, योग्य जनशक्तिको उपयोग
आफूलाई चाहिने सफ्टवेयर आफैँ बनाएर चलाउँदै नेपाल टेलिकम

उन्नत सापकोटा
असार ११, २०८३ बिहिबार १२:४०, काठमाडौँ

भ्वाइस र डेटा सेवामा सीमित रहनुपर्ने बाध्यतालाई तोड्दै सरकारी स्वामित्वको नेपाल टेलिकमले आफूलाई चाहिने सफ्टवेयर आफैँ बनाउँदै चलाउन थालेको छ। 

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को बढ्दो माग र त्यसलाई आत्मसात् नगरे पछि पर्ने भयकै कारण टेलिकम आफ्नै जनशक्ति प्रयोग गरेर प्रडक्ट उत्पादनमा लागेको हो। 

यसले एकातर्फ निरन्तर सञ्चालन घाटा व्यहोरिरहेको टेलिकमलाई अतिरिक्त वित्तीय भार घटाइरहेको छ भने अर्कोतर्फ आफैँसँग रहेको योग्य जनशक्तिको उपयोग गर्न थप विकल्प मिलेको छ। 

अचेल ठूला तथा मझौला व्यावसायिक संस्थाहरु 'भाइब कोडिङ'को प्रचलन बढ्दै गइरहेको छ। एआईका विभिन्न प्लेटफर्महरूको तीव्र विकाससँगै भाइब कोडिङ अझ बढी भाइब्रेन्ट बन्दै गइरहेको छ। भाइब कोडिङको अर्थ आफैँले कोड नलेख्ने तर त्यससम्बन्धी सबै आइडिया एआई प्लेटफर्मलाई स्पष्ट जानकारी गराएर उसैलाई कोड लेखाउन लगाउने नयाँ शैलीको सफ्टवेयर विकास प्रक्रिया हो।

यही शैलीलाई पछ्याउँदै टेलिकमले पनि आफूलाई चाहिने सफ्टवेयर आन्तरिकरूपमा नै तयार गरिरहेको छ। विश्वका टेक जायन्ट कम्पनीहरू माइक्रोसफ्ट, गुगललगायतले पनि कोडिङको ६० प्रतिशत हिस्सा एआईले बनाउने गरेको सार्वजनिक प्रतिक्रिया दिँदै आएका छन्। नेपालमा पनि यस किसिमको ट्रेन्ड सुरु भइसकेको छ। जसलाई नेपाल टेलिकमले पनि उपयोग गर्न थालेको हो। 

टेलिकमलाई चाहिने सानाभन्दा साना सफ्टवेयर आफैँले निर्माण थालिसकेको टेलिकमका उपप्रबन्धक इन्जिनियर राजेन्द्र दुलालले जानकारी दिए। टेलिकमले इनहाउस सफ्टवेयर विङ नै खडा गरेको छ। यही विङमार्फत टेलिकमले ससाना पोर्टल निर्माण गर्दै सेवा प्रवाह सुधार गरिरहेको दुलालले बताए। 

‘आफूलाई चाहिने सफ्टवेयर प्रडक्टको स्कोप सबैभन्दा बढी आफैँलाई थाहा हुन्छ। तर, इन्टरप्राइज लेभलका सफ्टवेयर जसमा कुनै पनि बहानामा गुणस्तर वा उपभोक्ताको अनुभवमा कम्प्रमाइज गर्न मिल्दैन, त्यस्तो अवस्थामा प्याकेजिङ गर्दा पनि ठीक हुन्छ भन्ने अवधारणा छ’, दुलालले नेपालखबरसँग भने।

उनका अनुसार टेलिकमले ‘डिमान्ड पोर्टल’ तयार गरेर सञ्चालन गरिरहेको छ। टेलिकमको सेवाका लागि विभिन्न मन्त्रालयदेखि वडा कार्यालयबाट आउने डिमान्डलाई यही पोर्टलमा इन्ट्री गरेर काम गराउने गरिएको छ। 

त्यसैगरी, टेलिकम धेरै कर्मचारी र सांगठनिक उपस्थिति भएको संस्था हो। २०८१/८२ को तथ्यांकअनुसार टेलिकममा ३ हजार ६३२ कर्मचारी छन्। यत्रो ठूलो संस्थामा बैठक संख्या एकैदिन सयौं पनि पुग्छन्। जसका कारण बैठक समय जुध्नेदेखि बैठकस्थल जुटाउन कर्मचारीहरुलाई महाभारत हुन्थ्यो। यही समस्या समाधान गर्न टेलिकमले इनहाउस सफ्टवेयर विङ मिटिङ म्यानेजमेन्ट पोर्टल नामक सफ्टवेयर बनाएर सञ्चालनमा ल्याइसकेको छ। 

‘मिटिङ यति धेरै हुन्छन् कि जसका कारण बैठक समय जुध्ने, ठाउँ नपाउने समस्या धेरै भोग्नुपर्‍यो। यस्ता अनेक समस्या समाधान गर्न मिटिङ म्यानेजमेन्ट पोर्टल भन्ने सफ्टवेयर बनाएका छौँ’, दुलालले भने।

यस्तै, टेलिकमले दिने सबै दूरसञ्चार सेवाको टिकेटिङ प्रणाली आआफ्नै कि-सिमको छ। जीएसएम, भ्यालु एडेड सर्भिस, फाइबरलगायत अरुको आ-आफ्नै टिकेटिङ प्रणाली छ। यसलाई व्यवस्थित बनाउन टेलिकमले एकीकृत टिकेटिङ सिस्टम आफ्नै सफ्टवेयर विङबाट निर्माण गरिरहेको उपप्रबन्धक दुलालले जानकारी दिए। 

‘यो डेभलपरिङ फेजमा छ’, उनले भने। 

यसका साथै टेलिकमको सबैभन्दा महत्त्वपूर्ण पक्ष ट्रान्समिसन (आइपी) प्लानिङ लामो समयदेखि म्यानुअल्ली गर्दै आएको थियो। यसलाई पनि टेलिकमले आफ्नो इनहाउस सफ्टवेयर विङमार्फत् अनुरोध (रिक्‍वेस्ट) आउनेबित्तिकै स्वचालितरूपमा ट्रान्समिसन (आइपी) तोकिदिने प्रणाली विकास गरेको छ।

टेलिकमको सेवालाई लिएर गुनासो (कम्प्लेन)सँग जोडिएको इन्टिग्रेटेड 'कस्टमर केयर पोर्टल' विकास गरेर सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेको छ। फाइबर, वायरलेस, भ्यालु एडेड सर्भिसलगायत सबै सेवाको सम्बन्धमा एकै ठाउँबाट गुनासो दर्ता गर्न सक्ने सफ्टवेयर प्रणाली टेलिकमका सूचना प्रविधि सम्बद्ध प्राविधिकहरूले तयार गरिरहेका छन्। यसलाई छिट्टै लन्च गर्ने तयारी भइरहेको उपप्रबन्धक दुलालले जानकारी दिए। 

‘अहिलेलाई यी मुख्य सफ्टवेयर डेभलप भएर सञ्चालनमा आइसकेको छ। केही बनिरहेका छन्। त्यो पनि तयार भएपछि सञ्चालनमा ल्याउँछौँ’, दुलालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad