राजनीति


कोशीको सहमति कायम राख्नुस्, एमालेलाई सत्ताको हतारो छैन : महासचिव पोखरेल

‘गठबन्धनले दाउपेचको राजनीति गर्‍यो, इमानदार भएसम्म कार्कीलाई समर्थन गर्छौं’
कोशीको सहमति कायम राख्नुस्, एमालेलाई सत्ताको हतारो छैन : महासचिव पोखरेल

नेपालखबर
असोज २७, २०८० शनिबार १५:२०, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की इमानदार भएसम्म एमालेको समर्थन रहिरहने बताएका छन्। शनिबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव पोखरेलले एमाले सत्ताको हतारोमा नरहेको पनि बताए। 

‘हाम्रो चाहीँ उहाँ(केदार कार्की) इमानदारीतापूर्वक अगाडि बढेसम्म एमालेको साथ रहन्छ। भोलि एमाले मन्त्रिपरिषद्मा सहभागी हुने वा नहुने कुरा मुख्यमन्त्रीको भूमिकामा भर पर्छ,’ महासचिव पोखरेलले भने, ‘हामीले स्वभाविक रुपमा वैकल्पिक सरकारका लागि साथ दिएका छौं। यदी उहाँ गठबन्धनतिर नफर्किए नेकपा एमालेले साथ दिन्छ।’

दललाई स्वतन्त्र बन्न सक्ने ब्याख्यासहित शनिबार कोशीमा सरकार बनेको उल्लेख गर्दै उनले भने, ‘आजको संवैधानिक व्याख्याको परिस्थितिको रुपमा यसलाई लिएका छौं। संविधान असफल भइरहेको बेलामा कोशीले उदाहरण प्रस्तुत गरेको छ।’

तर, सत्ता गठबन्धनका नेताहरू पुनः दाउपेचको राजनीतिमा लागेको उनको जिकिर छ। 

‘यद्यपि सत्ता गठबन्धन फेरि दाउपेचको राजनीतिमा जान खोजिरहेको छ। जसको जगमा सरकार निर्माण भएको छ त्यसलाई भत्काउने प्रयास सुरु भइसकेको छ,’ महासचिव पोखरेलले भने। 

कोशीमा भएको कुरालाई गठबन्धनले अवैधानिक मानेको खण्डमा अहिलेको सरकार पनि अवैधानिक हुने उनको जिकिर छ। 

‘उनीहरू अवैधानिक मान्छन् भने उनीहरूको सरकार नै अवैधानिक बाटोबाट बनेको हो। किनकी परमादेशबाट बनेको सरकार र त्यसको ब्याख्याको जग भनेको उपधारा ५ नै हो,’ महासचिव पोखरेलले भने।

महासचिव पोखरेलले केन्द्रको राजनीतिमा कसरी अघि बढ्छ भन्ने कुरा कांग्रेसको हातमा रहेको पनि उल्लेख गरे। 

‘नेपाली कांग्रेस कसरी अघि बढ्न चाहन्छ भन्ने कुरामा भर पर्छ। आज तीन जना (प्रचण्ड, देउवा र कोइराला) को वक्तव्य आएको छ। उहाँहरूले कोशीका कारण केन्द्रमा केही हुँदैन भन्नुभएको छ। त्यो घोषणामा उहाँहरू कायम रहनुस्,’ महासचिव पोखरेलले भने, ‘अहिले हामीलाई सत्ताको कुनै हतारो छैन। हामी मिसन ८४ मा छौं। मात्रै चिन्ता जनताको समस्यालाई गठबन्धनले सम्बोधन गर्न सकेन भन्ने मात्रै हो।’ 

सम्बन्धित खबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad