ग्लोबल


सम्बन्ध-विच्छेद मुद्दामा ६४ करोड ४० लाख डलर तिर्न आदेश

सम्बन्ध-विच्छेद मुद्दामा ६४ करोड ४० लाख डलर तिर्न आदेश

एसके समूहका अध्यक्ष चे ताए–विन


नेपालखबर
साउन ९, २०८३ शनिबार ७:२८, सियोल

दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका प्रभावशाली व्यवसायी तथा एसके समूहका अध्यक्ष चे ताए–विनलाई सम्बन्धविच्छेद मुद्दामा आफ्नी पूर्वपत्नी रोह सोह–योङलाई नौ खर्ब ४४ अर्ब वोन (करिब ६४ करोड ४० लाख अमेरिकी डलर) भुक्तानी गर्न आदेश दिएको छ।

यद्यपि दुवै पक्षलाई सर्वोच्च अदालतमा पुनः अपिल गर्ने अधिकार रहेकाले फैसला अझै अन्तिम भएको छैन।

६५ वर्षीय चे दक्षिण कोरियाको प्रमुख औद्योगिक समूह एसके समूहका अध्यक्ष हुन्।

उक्त समूहअन्तर्गत रहेको एसके हाइनिक्स विश्वकै अग्रणी मेमोरी चिप उत्पादकमध्ये एक हो र एआई प्रविधिको तीव्र विस्तारसँगै यसको बजार मूल्य उल्लेखनीय रूपमा बढेको छ।

यसअघि सन् २०२४ मा सोल उच्च अदालतले चेले रोहलाई १३ खर्ब ८० अर्ब वोन (करिब ९४ करोड अमेरिकी डलर) तिर्नुपर्ने फैसला गरेको थियो।

त्यतिबेला उक्त रकम एक अर्ब अमेरिकी डलरभन्दा बढी बराबर भएकाले दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले यसलाई ‘शताब्दीको सम्बन्धविच्छेद’ नाम दिएका थिए।

त्यसपछि चेले सर्वोच्च अदालतमा अपिल गरेका थिए। सर्वोच्च अदालतले अघिल्लो फैसला पुनरवलोकन गर्न आदेश दिएपछि उच्च अदालतले भुक्तानी रकम घटाएर नौ खर्ब ४४ अर्ब वोन कायम गरेको हो।

अदालतमा विवादको मुख्य विषय एसके समूहमा रहेको चेको सेयरसहित दम्पतीको साझा सम्पत्तिको मूल्याङ्कन र त्यसको बाँडफाँट थियो।

शुक्रबारको फैसलामा अदालतले रोह वैवाहिक जीवनमा आर्जित सम्पत्तिको करिब एकतिहाइ बराबर नगद रकम पाउने हकदार रहेको उल्लेख गरेको छ।

अदालतका अनुसार विवाह अवधिमा चेको व्यवस्थापकीय भूमिकाका कारण कम्पनीमा रहेको उनको सेयरको मूल्य उल्लेखनीय रूपमा बढेको थियो।

त्यस वृद्धिमा रोहले घरपरिवारको जिम्मेवारी, सन्तानको हेरचाह तथा एसके समूहसँग सम्बन्धित सार्वजनिक गतिविधिमार्फत योगदान पुर्‍याएकाले उनको हिस्सेदारी स्वीकार गर्नुपर्ने निष्कर्ष निकालिएको हो।

चे र रोहले सन् १९८८ मा विवाह गरेका थिए।

दुवै जना १५ वर्षभन्दा बढी समयदेखि अलग बसेको विश्वास गरिन्छ।

चेले सन् २०१५ मा विवाहबाहिरको सम्बन्धबाट सन्तान जन्मिएको सार्वजनिक रूपमा स्वीकार गरेका थिए।

त्यसपछि सन् २०१७ मा सम्बन्धविच्छेदको निवेदन दायर गरेका थिए।

मध्यस्थता असफल भएपछि सन् २०२२ देखि मुद्दा अदालतमा विचाराधीन छ।

रोह दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह ताए–वुकी छोरी हुन्। उनी हाल डिजिटल कला सङ्ग्रहालय सञ्चालन गर्दै सांस्कृतिक क्षेत्रमा सक्रिय छिन्।दम्पतीका तीन सन्तान छन्।

यसअघि अदालतले रोहका बुबासँग सम्बन्धित ३० अर्ब वोनको गोप्य कोषलाई एसके समूहको विकाससँग जोड्दै सम्पत्ति बाँडफाँटको आधार मानेको थियो।

तर सर्वोच्च अदालतले उक्त रकम अवैध घुसबाट आएको हुन सक्ने ठहर गर्दै त्यसलाई गणनामा समावेश गर्न नहुने निर्णय दिएको थियो।

अदालतले पछिल्लो पुनरावलोकनमा भने दम्पती अलग भएपछि एआई उद्योगको तीव्र विस्तारसँगै एसके समूहको सेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिलाई पनि सम्पत्ति विभाजनको आधारमा समावेश गरेको जनाएको छ।

सार्वजनिक विवरणअनुसार सन् २०१५ यता एसके समूहको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ भने एसके हाइनिक्सले एआई चिप निर्माणका लागि आवश्यक मेमोरी चिप अमेरिकी कम्पनी एनभिडियालाई आपूर्ति गर्दै आएको छ।

चेको कम्पनीमा रहेको सेयरको मूल्य हाल करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको बताइएको छ।

यसअघि सर्वोच्च अदालतले चेलाई रोहलाई दुई अर्ब वोन गुजारा भत्ता उपलब्ध गराउन छुट्टै आदेश पनि दिइसकेको छ। (रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad