राजनीति


प्रदेशको ‘डेडलक’ फुकाउनलाई दुई दल मिल्यौँ: वर्षमान पुन

प्रदेशको ‘डेडलक’ फुकाउनलाई दुई दल मिल्यौँ: वर्षमान पुन

नेपालखबर
साउन ९, २०८३ शनिबार १८:२५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रदेश सरकारमा देखिएको ‘डेडलक’ फुकाउनका लागि दुई दलले सहमति गरेको बताएका छन्। 

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच  प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। यो सहमतिका लागि सक्रिय रहेका नेकपा नेता पुनले यो सहमति तत्कालको समस्या समाधानका लागि भएको बताए। 

सहमतिपछि नेपालखबरसँग संक्षिप्त कुराकानी गर्दै नेता पुनले नेपाली कांग्रेस तयार नभएपछि दुई दल मिलेको बताए। ‘प्रदेशमा सरकार बनाउँदा तीन दलकै बनाउने भन्ने थियो। कांग्रेस तयार नभएपछि हामी दुई दल मिल्यौँ,’ पुनले भने। 

यो सहमति तत्कालको समस्या समाधान केन्द्रित भएको उनको भनाइ छ। ‘अहिले प्रदेश सरकारका लागि मात्रै सहमति हो। प्रदेशमा डेडलक छ, त्यसलाई फुकाउनका लागि सहमति भएको हो,’ उनले भने। 

प्रदेश सरकारमा देखिएको समस्या समाधानका लागि कांग्रेससहित तीनै दल सहमतिको प्रयास गरिएको उनको भनाइ छ। तर, कांग्रेसले सहमति गर्न नमानेको उनले बताए। 

‘सुदूरपश्चिममा बजेटै छैन, कर्णालीमा समस्या भयो, बागमतीमा समस्या छ। तीन ठाउँमा सरकारमै अस्थिरता भयो,’ पुनले भने, ‘त्यसलाई हल गर्नका लागि तीन दलको कोसिस गर्‍यौं, सफल नभएपछि हामी दुई दल अगाडि बढ्यौँ।’

प्रदेशमा नभए पनि केन्द्रमा कांग्रेससँगको सहकार्य जारी रहने उनले बताए। ‘कांग्रेससँगको अरु सहकार्य, संविधान, लोकतन्त्रका लागि सहकार्य हुन्छ नै। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हुने सहकार्य हुन्छन् नै,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad