ad ad

राजनीति


नेपालले माग्यो चीनसँग त्यहाँको मौसम पूर्वानुमानको सूचना

नेपालले माग्यो चीनसँग त्यहाँको मौसम पूर्वानुमानको सूचना

नेपालखबर
पुस २३, २०७६ बुधबार १२:५४,

नेपालले चीनमा मौसम परिवर्तनका कारण आउने बाढी, पहिरोजस्ता विपत्तीबारे पूर्वसूचना दिन आग्रह गरेको छ।

नेपालको १५ सय किलोमिटर उत्तरी सीमाना चीनसँग जोडिएकाले चीनमा विपत्ती आउँदा त्यसको असर नेपालमा समेत पर्ने भन्दै त्यसबारेको पूर्वसूचना माग गरिएको हो। चीनको मौसम विभागका उपमहानिर्देशक चेन युङफेङ नेतृत्वको टोलीसँग बुधबार सिंहदरबारमा भएको भेटमा उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले मौसमबारे पूर्वसूचना दिन आग्रह गरेका हुन्।

नेपालका अधिकांश नदीको मुहान चीन रहेको र ती नदीमा ठूला लगानीमा जलविद्युत आयोजना र नदी किनारमा महत्वपूर्ण संरचना निर्माण भइरहेकाले चीनको मौसममा हुने परिवर्तनले आउने बाढी पहिरोको जोखिमबाट ती संचरनाको सुरक्षा गर्न सूचना जरुरी भएको औंल्याए। पूर्वसूचनाको अभावमा दुई वर्षअघि सुनकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकको बाह्रबीसे र आसपास क्षेत्र डुबानमा पर्दा ठूलो धनजनको क्षति भएको स्मरण पनि मन्त्री पुनले टोलीलाई गराए।

‘हाम्रा धेरै नदीहरु चीन मुहान भएर आउँछन्, त्यसमा हामीले ठूलो लगानीमा जलविद्युत आयोजना र अरु महत्वपूर्ण संरचना बनाएका छौं’, मन्त्री पुनले भने, ‘बाह्रबिसेमा जस्तै धनजनको क्षति अब नहोस् भन्नका लागि हामीलाई पूर्वसूचना जरुरी भएको छ।’ प्राकृतिक विपत्तीबारे पूर्वसूचना भए सम्भावित जोखिमबाट बच्न बेलैमा सचेतता अपनाउन सकिने उनको भनाइ थियो। सीमापारिको मौसमबारे नेपाललाई केही थाहा नहुने गरेको भन्दै उनले त्यसमा सहकार्य जरुरी रहेको विचार व्यक्त गरे।

‘हाम्रो विकासका पूर्वाधारको सुरक्षाका लागि चिनियाँ मौसमबारे पूर्वजानकारी नभइभएको छैन’, मन्त्री पुनले भने। नेपालमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको र भैरहवा र पोखरामा अन्तर्राष्टिन्य विमानस्थल निर्माणको काम भइहरेको भन्दै उनले पर्यटकीय दृष्टिले पनि मौसम पूर्वानुमानको महत्व बढी रहेको चर्चा गरे।

जवाफमा चिनियाँ टोलीको नेतृत्व गरेका त्यहाँको मौसम विभागका उपमहानिर्देशक युङफेङले नेपालको मौसम पूर्वानुमान विभागलाई भौतिक र प्राविधिक सहयोग गर्न र सूचना आदानप्रदान गर्न तयार रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .