यसपटक अमेरिका एक्लो देखिएको छ।
राष्ट्रपतिको पदभार सम्हाल्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रवादी भाषण दिएका थिए। उनले अमेरिकाको विदेश नीति आत्मनिर्भर हुनुपर्नेमा जोड दिएका थिए। अहिले कम्तीमा एक शताब्दीयता अमेरिका एक्लै युद्धमा गइरहेको छ।
आफ्ना मित्रशक्तिको समर्थन नलिई ट्रम्पले इरानी कुद्स सेनाका कमान्डर कासिम सुलेमानीमाथि आक्रमणको निर्णय गरे। बीबीसीका अनुसार ट्रम्पले बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई समेत यो जानकारी दिएका थिएनन्। संयुक्त राष्ट्रसंघका एक अधिकारीले यो गैरन्यायिक हत्याले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको बताएका छन्।
ट्रम्पले अमेरिकालाई उसका परम्परागत मित्रशक्तिबाट एक्ल्याउँदै लगेका छन्। उत्तर एटलान्टिक सन्धि संगठन नाटो र यसका सदस्यहरुलाई उनले रुष्ट बनाउँदै आएका छन्। सबैको विरोधका बाबजूद उनी इरान आणविक सम्झौताबाट बाहिरिए।
सुलेमानीको हत्या गरेर ट्रम्पले इरानका शक्तिशाली मित्रहरुलाई उत्तेजित तुल्याएका छन्। गत महिना मात्र इरान ओमनको खाडीमा भएको सैन्य अभ्यासमा रुस र चीनसँगै सहभागी भएको थियो। इरानको अर्थतन्त्र ध्वस्त पार्ने प्रयास चीनसहितका मुलुकले उसको तेल किनिदिएपछि असफल बनेको थियो। सिरियामा बसर अल असदको सत्ता टिकाउन इरानले रुसलाई पनि साथ दिएको थियो।
तर, यहाँनेर सबैभन्दा ठूलो चासोको विषय के हो भने आफ्ना कोही मित्र नभएकोमा ट्रम्पलाई कुनै चिन्ता छैन। ट्विटरबाट इरानलाई धम्क्याउनुबाहेक यो विषयमा अब के गर्ने भन्ने योजना पनि उनीसँग छैन। इरानसँगको तनावबाट कसरी निकास पाउने भन्ने योजना पनि उनीसँग छैन।
चीनलाई मौका
यतिखेर सहयोगी खोजीरहेको इरानका लागि चीन आकर्षक मित्र बन्न सक्छ। पश्चिम एसियामा जारी तनावलाई युद्धमा रुपान्तरण हुन नदिन चीनले भूमिका खेल्न सक्छ। चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी आक्रमणको भर्त्सना गर्दै क्षेत्रीय तनाव बढ्न नदिने चीनले भूमिका खेलने पनि बताए।
सुलेमानीको हत्या बेइजिङका लागि युद्ध टार्ने मात्रै होइन, सो क्षेत्रमै प्रभाव विस्तार गर्ने मौका पनि बन्न सक्छ।
दशकौँसम्म चीनको विदेश नीति नरम थियो। चीनले ‘जीत–जीत’ अवधारणालाई अगाडि बढाउँदै आएको थियो। पछिल्लो समय उसको विदेशनीतमा परिवर्तन आएको छ। उसले अमेरिकाकै जस्तो हस्तक्षेपकारी तरिका अपनाउन थालेको छ। अफ्रिका, एसियासहितका क्षेत्रमा उसले सैन्य शिविर राख्न थालेको छ।
यससँगै विकासशील मुलुकको मुख्य दाताको रुपमा पनि चीनले अमेरिकालाई विस्थापित गर्दै गएको छ।
चीन विश्वको महाशक्ति बन्ने बाटोमा छ। यसबेलासम्म पश्चिम एसियामा ऊ तटस्थ र व्यापारिक उद्देश्यले मात्रै काम गर्दै आएको बताउँछ। तर, स्थानीय र अन्तर्राष्ट्रिय शक्तिबीचको प्रतिद्वन्द्विताले राजनीति निर्धारण गर्ने यो क्षेत्रमा तटस्थ रहन सम्भव छैन।
खासगरी यो क्षेत्रका एकअर्काका कट्टर दुश्मन रहेका मुलुकसँग चीनले उत्तिकै निकट सम्बन्ध कायम राखिरहेको छ। अमेरिकाको दबाबका बाबजूद इरान र सिरियासँग पनि उसको निकट सम्बन्ध छ। तर, कस्मिरको विषयमा लामो समयदेखिको साझेदार पाकिस्तानलाई रोज्न बाध्य भएजस्तै चीनले पश्चिम एसियामा पनि आफ्नो मित्रशक्ति रोज्नुपर्ने हुनसक्छ।
दोस्रो विश्वयुद्धको अन्त्यदेखि नै अमेरिका पश्चिम एसियामा मात्र होइन, विश्वकै महाशक्ति कायम थियो। चीनले अमेरिकाको यो प्रभुत्वलाई चुनौती दिँदै जाँदा पश्चिम एसिया प्रतिद्वन्द्विताको मुख्य क्षेत्र बन्न सक्छ।
सुलेमानीको हत्या गरेर यहाँ ट्रम्पले बेइजिङका लागि अमेरिकाको विकल्प बन्ने सुनौलो अवसर उपलब्ध गराएका छन्। सीएनएन

प्रतिक्रिया