तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ। नेपाली कांग्रेसले बिहीबारमात्रै गोविन्द भट्टराईलाई त्यस क्षेत्रमा उम्मेदवार बनाउने निर्णय लिएको छ।
यस्तोमा राष्ट्रिय स्वतन्त्र पार्टीले नाम चलेका व्यक्तिहरूलाई उठाउने योजना बनाइरहेको छ। त्यहीक्रममा रास्वपा राम्रो प्रोफाइल भएका व्यक्तिलाई मैदानमा उतार्ने तयारीमा लागेको हो।
रास्वपाका पदाधिकारीहरूले नेपालखबरलाई दिएको जानकारी अनुसार नेपाली कांग्रेसका नेतासमेत रहेका अर्थविद् डा. स्वर्णिम वाग्ले उम्मेदवार बन्नसक्ने सूचीको पहिलो नम्बरमा छन्।
यस्तै, महानायक राजेश हमालसँग पनि रास्वपाका केही नेताहरूले छलफल गरिरहेका छन्। तर, यो समाचार तयार पार्दासम्म रास्वपाले उम्मेदवारबारे निर्णय गरिसकेको छैन। स्वर्णिम तनहुँ १ का मतदाताको मनस्थिति बुझ्न व्यस्त रहेकाले निर्णयमा केही समय लाग्ने भएको छ।
रास्वपाले यसअघि नै तनुहँ १, चितवन २ र बारा २ मा एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय लिइसकेको छ। उसले तीनै क्षेत्रमा चुनावी कमान्डर तोके पनि चितवन २ बाहेक अरुमा उम्मेदवार तय गरिसकेको छैन। चितवन २ मा सभापति रवि लामिछाने आफैं उठ्दैछन्।
‘राजेश हमालजीसँग हाम्रा केही साथीले कुराकानी गरिरहनुभएको छ। इन्डियामा पनि हिरोहरू राजनीतिमा आएका छन्। नेपालमा पनि त्यो लहर सुरु भएको छ,’ अर्का पदाधिकारीले भने, ‘नयाँ पार्टी भएकाले धेरै मान्छेको आकर्षण छ, रुचि देखाउनुभएको छ। तर तनहुँ १ को उम्मेदवारबारे औपचारिक निर्णयमा पुगिसकेका छैनौँ।’
ती नेताले सभापति रवि लामिछानेसँग पनि हमालको केही चरणमा कुराकानी भएको सूचना आफूले पाएको नेपालखबरलाई बताए।
रास्वपाका ती पदाधिकारीका अनुसार वाग्लेसँग निरन्तर संवाद भइरहेको छ। त्यही भएर उनी उक्त क्षेत्रको वस्तुस्थिति बुझ्न पुगेका छन्।
‘स्वर्णिमजीले बुधबार रास्वपाका जिल्ला तहका नेताहरूसँग छलफल गर्नुभएको थियो। अहिले पनि उहाँ यही क्षेत्रको वस्तुस्थिति बुझ्दै हुुनुहन्छ,’ रास्वपाका अर्का एक नेताले नेपालखबरसँग भने।
तनहुँ–१ को उपनिर्वाचनका लागि रास्वपाका आधा दर्जन बढी सांसदहरू यसअघि नै त्यहाँ पुगिसकेका छन्। वाग्ले रास्वपा सांसद डा. शिशिर खनालसँगै त्यहाँका मतदातासँग संवादमा जुटिरहेको स्रोतले जनाएको छ।
‘स्वर्णिमजी अहिले फिल्ड भिजिटमै हुनुुहन्छ। उहाँले रास्वपाबाट उम्मेदवारी दिने तयारी गर्नुभएको छ। यसबारे निर्णय भएको छैन। उहाँले आजै (बिहीबार) ४/५ बजेसम्म केही घोषणा गर्ने भन्नुभएको छ,’ पदाधिकारीसमेत रहेका ती नेताले नेपालखबरसँग भने।
गत मंसिरको चुनावमा पनि कांग्रेसले टिकट नदिएपछि रास्वपाले स्वर्णिमलाई उठाउन खोजेको थियो। तर त्यसबेला उनले रास्वपाको प्रस्तावलाई अस्वीकार गरेका थिए।
तर रास्वपाका सह-महामन्त्री कविन्द्र बुर्लाकोटीले भने पार्टीले औपचारिक रुपमा उम्मेदवारबारे छलफल सुरु नगरेको बताए।
मंसिर ४ मा भएको निर्वाचनमा तनहुँ १ बाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका थिए। उनीसँग प्रतिस्पर्धा गरेका नेकपा एमालेका एकबहादुर राना दोस्रो भएका थिए।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले तनहुँ १ मा ६ हजार ४४ मत ल्याएका थिए। सिग्देल त्यहाँ स्वतन्त्र सांसद गोविन्दराज जोशीभन्दा पछाडि रहँदै चौथो भएका थिए। जोशीको मत ६ हजार ८८६ थियो।
प्रतिक्रिया