राजनीति


रास्वपाले बालबालिकालाई सदस्य बनाएकोमा संसद्‌मा विरोध

रास्वपाले बालबालिकालाई सदस्य बनाएकोमा संसद्‌मा विरोध

नेपालखबर
असार १५, २०८३ सोमबार १३:१४, काठमाडौँ

राष्ट्रिय सभाका सांसदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकालाई पार्टी सदस्यता दिएर संविधान, कानुनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन्। 

सोमवार राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले संविधान, कानुन र अन्तर्राष्ट्रिय कानुनको समेत उलंघन गर्दै रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाए। सांसद केसीले विद्यार्थी युनियनहरू खारेज गर्ने सत्तारुढ रास्वपाले आफनो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरे। 

‘एकातिर विद्यार्थी युनियनहरू खारेज गर्ने अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टीले १८ वर्षभन्दा मुनिका ३५ हजारभन्दा बढी युवालाई आफनो पार्टीको सदस्य बनाएर हिँडाउने,’ उनले भने, ‘के यो विरोधाभाष भएन र? त्यसैले यसमा पनि ध्यानाकर्षण होस् भनेर भन्न चाहन्छु।’

उनले सुकुम्वासीको विषयमा पनि सरकारको ध्यानाकर्षण गराएका छन्। ‘सुकुम्वासीलाई लखेटियो, धपाइयो। सुख दिन्छु भनियो तर अहिले सेल्टरमा बसेको सुकुम्वासीको बिचल्ली देख्दा हृदयविदारक हुन्छ। त्यतातिर सम्माननीय अध्यक्षज्यूमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद केसीले भने।

त्यस्तै, सांसद तिमिल्सिना संविधान र कानुन विपरित बालबालिकाको मानव अधिकार समेत हनन हुनेगरी सत्तारुढ रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै आपत्ति जनाए। उनले नेपालको संविधान, कानुनले समेत निषेध गरेको विषयमा रास्वपालाई छूट हुन नहुने उनको भनाइ थियो। 

‘नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन र स्वमं बालबालिका सम्बन्धी कानुनको अन्तर्राष्ट्रिय पक्षधर राष्ट्रले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिन निषेध गरेको छ,’ उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको संविधान, कानुन एवं अन्तर्राष्ट्रिय कानुन समेत उल्लंघन गरेको विषयमा राष्ट्रिय मानव अधिकार आयोगलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु।’

सांसद तिमिल्सिनाले सत्तारुढ रास्वपालाई संविधान विपरितका गतिविधि गर्दा पनि सरकारले खासै चासो नदिएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad