सत्ता गठबन्धनका तर्फाबाट मोरङमा निर्वाचन परिचालनको जिम्मेवारी विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पाएका छन्। उनको नेतृत्वमा सत्ता गठबन्धनले मोरङमा निर्वाचन लड्नेछ।
सत्ता गठबन्धनको बैठकले मोरङ कांग्रेसका कार्यवाहक सभापति कोइरालालाई निर्वाचन परिचालन सचिवालयको संयोजकको जिम्मेवारी दिएको हो। निर्वाचन परिचालन समितिमा १७ सदस्य रहनेछन्। बैठकले गठबन्धनको आधिकारिक उम्मेदवारलाई विजय गराउन सबै दलले संयुक्त पहल गर्ने निर्णय गरेको छ।
बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीको निर्णय र गठबन्धनको भावना विपरीत उम्मेदवारी दर्ता गराएका पार्टीका कार्यकर्तालाई उम्मेदवारी फिर्ता गराउन हदैसम्मको पहल गर्ने र निर्वाचन आयोगको कार्यतालिकाको समयावधिभित्रै नाम फिर्ता लिन लगाउने निर्णय गरेको छ।
स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता गर्न नमानेमा पार्टीको साधारण सदस्यबाट निलम्बन गरी सम्बन्धित पार्टीको केन्द्रीय समितिमा सिफारिस गर्ने तथा संचार माध्यमबाट सार्वजनिक गर्ने निर्णय गठबन्धनको बैठकले गरेको छ।
बैठकले निर्वाचन परिचालन सचिवालयको कार्यालय नेपाली कांग्रेस मोरङको कार्यालयलाई बनाउने निर्णय पनि गरेको छ।
Shares

प्रतिक्रिया