नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा एकल रुपमा गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन्।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले महामन्त्री शर्माको नाम एकल रुपमा सर्वसम्मत जिल्ला कार्यसमितिलाई सिफारिस गरेको हो।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बिहीबार बसेको बैठकले नाम सर्वसम्मत सिफारिस गरेको शर्माको सचिवालयले जनाएको छ।
कांग्रेसको विधानबमोजिम उम्मेदवारका लागि एक महिलासहित तीन जनासम्मको नाम सिफारिस गर्न सक्ने भए पनि प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले शर्माको नाममात्रै सिफारिस गरेको सचिवालयले बताएको छ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि महामन्त्री शर्मा झापा–१ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रकुमार कार्कीसँग झण्डै तीन हजार मतले पराजित भएका थिए।
श्र्माले ३३ हजार ३१० मत ल्याउँदा प्रतिनिधिसभा सदस्यमा विजयी भएका कार्कीले ३६ हजार १३७ मत प्राप्त गरेका थिए। तर, भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम हेर्दा माओवादी झापा–१ मा कमजोर देखिएको छ।
आयोगको वेबसाइटमा राखिएको अन्तिम मत परिणामको तथ्यांकअनुसार झापा–१ मा पर्ने वडामा माओवादीका तर्फबाट उठेका अध्यक्षका उम्मेदवारले झण्डै ४ हजार मतमात्र पाएका छन्। जुन झापा–१ मा दलगत रुपमा हेर्दा चौथो मत हो।
झापा–१ मा ३१ हजार २३२ मतसहित एमाले पहिलो र २४ हजार ५९ मतसहित कांग्रेस दोस्रो स्थानमा देखिएका छन्।
तेस्रो स्थानमा रहेको राप्रपाले ५ हजार ९२२ र चौथो स्थानमा रहेको माओवादीले ३ हजार ९०५ मत पाएको छ। १ हजार २५२ मतसहित एकीकृत समाजवादी पाँचौँ दल बनेको छ।
तर, यसपटकको चुनावमा कांग्रेस महामन्त्री शर्माले झापा–१ बाटै टिकट लिनका लागि माओवादी नेता कार्कीले दाबी छाड्नुपर्ने हुन्छ।
२०७४ मा जितेको ठाउँ आफूले पाउनुपर्ने माओवादीले माग गर्दै आएको अवस्था छ। तर, गठबन्धन दलहरुबीच पार्टी पदाधिकारीले उठ्न चाहेको स्थानबारे सहमतिमा निर्णय गरिने सहमति बनेको छ।
Shares

प्रतिक्रिया